वीरेन्द्रनगरमा श्रीकृष्ण लाखे तथा रथ यात्रा प्रतियोगिता भव्य रूपमा सम्पन्न

सुर्खेत ,२० भदौ ।
धार्मिक, सांस्कृतिक तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वीरेन्द्रनगर, सुर्खेतमा आयोजित ‘श्रीकृष्ण लाखे तथा रथ यात्रा प्रतियोगिता–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा विभिन्न समूहले लाखे नाच, रथ यात्रा, तरबार नाचलगायतका सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूह तथा व्यक्तिहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
प्रतियोगितामा शिव विहार पुस्तकालय, लाटीकोइली प्रथम हुँदै रु. १ लाख १ हजार पुरस्कार प्राप्त गर्न सफल भयो। त्यस्तै वैदिक सनातन गणेश चोक द्वितीय हुँदै रु. ५० हजार ५ सय तथा शिवालय युवा क्लब, गुप्तिपुर तृतीय हुँदै रु. २५ हजार २५ पुरस्कार प्राप्त गरे।
त्यसैगरी विभिन्न विधातर्फ उत्कृष्ट तरबार नाचको पुरस्कार रोयल भैरवस्थान, उत्कृष्ट भक्कु कालिका मन्दिर चिसापानी, उत्कृष्ट लाखे नाच शिव विहार पुस्तकालय, उत्कृष्ट रथ शिवालय युवा क्लब गुप्तिपुर र उत्कृष्ट लाखेको पुरस्कार सिर्जनशील युवा क्लब चिसापानीले प्राप्त गरेका छन्। यी प्रत्येक विधाका विजेतालाई रु. ११ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।
यस्तै ‘उत्कृष्ट आध्यात्मिक युवा–२०८३’ को सम्मान नितेश बिष्टले प्राप्त गरेका छन्। उनलाई रु. १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा, वैदिक सनातन धर्म समाजको सह–आयोजना तथा भैरव बेरोजगार युवा क्लबको व्यवस्थापनमा सम्पन्न भएको हो।
आयोजकले यस्ता सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र मौलिक परम्परासँग जोड्नुका साथै स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने जनाएको छ।
धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षण सबैको साझा जिम्मेवारी भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।






