सम्पादकीय : मतदाताको सन्देश !

२३–२४ भदौको जेन–जी विद्रोहपछि अनिश्चिततातर्फ धकेलिएको देशले एक तहमा निकास पाएको छ । आन्दोलनपछि रिक्त जनताको आवाज मुखरित हुने थलो संसदले पूर्णता पाउने दिशामा प्रवेश गरेको छ । पुराना दलहरुले जनताका अपेक्षा पुरा नगरेको, देशमा सर्वत्र भ्रष्टाचार बढेको, सुशासन कायम हुन नसकेको लगायतका आवाजहरुको विद्रोहले ल्याएको परिवर्तनले भावि दिनमा कसरी काम गर्छ, त्यो हेर्न धेरै टाढा जानुपर्ने छैन । पुरान दलहरुप्रति फ्रस्टेट भएका मतदाले नयाँ शक्तिहरुलाई झण्डै बहुमतको नजिक पुर्याएका छन् ।
यस पटकको मतदाताको रोजाईमा उत्साहसँगै उत्सुकता पनि लुकेको छ । पुरानाले केही गरेनन् भनेर उदाएकाहरुले कसरी काम गर्छन भन्ने विषयमा सर्वत्र चासो छ । यी विषय भोलिका दिनमा चर्चा गर्दै जाउला । यस पटकको निर्वाचनले कर्णालीमा भिन्न सन्देश दिएर गएको छ । गएको २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजाले कर्णाली प्रदेशको राजनीतिक परिदृश्यमा परम्परागत विरासत र नयाँ लहरबीचको रोचक प्रतिस्पर्धा सतहमा ल्याएको छ ।
गठबन्धन बिना नै चुनावी मैदानमा होमिएका दलहरूको यो भिडन्तले एकातिर स्थापित भनिएका प्रभावशाली नेताहरूको राजनीतिक भविष्यमा प्रश्नचिन्ह खडा गरिदिएको छ भने अर्कोतिर मतदाताको परिवर्तनकारी चाहनालाई पनि संकेत गरेको छ । कर्णालीको यस चुनावी परिणामले दिएको सबैभन्दा ठूलो सन्देश भनेको शक्तिशाली र अविजित भनिएका अनुहारहरूको बहिर्गमन हो । २०६४ देखि लगातार अपराजित रहँदै आएका माओवादी पृष्ठभूमिका प्रभावशाली नेता जनार्दन शर्माको हार र उनकै पूर्वस्वकीय सचिव गोपाल शर्माको विजयले राजनीतिमा उत्तराधिकारीको चुनौती कति निर्मम हुन्छ भन्ने पुष्टि गरेको छ । शर्मा मात्र होइन, जाजरकोटबाट लगातार जित्दै आएका शक्तिबहादुर बस्नेतको हारले पनि जनताले अब केवल पहुँच र शक्ति का आधारमा मात्रै अनुमोदन गर्ने छैनन् भन्ने तथ्य प्रमाणि गरेको छ । यस पटकको निर्वाचनमा नेपाली कांग्रेस पाँच सिटसहित पहिलो दल बन्नु र नेकपा एमाले एक सिटमा खुम्चनुले २०७९ को चुनावी समीकरण र हालको दलीय हैसियतमा आएको फेरबदललाई देखाउँछ । एमालेका लागि कर्णालीको यो नतिजा गम्भीर आत्मसमीक्षाको विषय बन्नुपर्छ । यद्यपि, दलीय विभाजन र नयाँ समीकरणका बीच नेकपाले चार सिट हात पार्नुले कर्णालीमा अझै पनि वामपन्थी मतको बलियो उपस्थिति रहेको पुष्टि गर्छ ।
निर्वाचनको अर्को पाटो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उदय हो । रास्वपाले सुर्खेत–२ मा ऐतिहासिक जित निकाल्नुले कर्णालीमा पनि वैकल्पिक राजनीतिको बीउ रोपिएको संकेत गर्छ । तर रास्वपाका लागि यो जित जति उत्साहजनक छ, सातवटा निर्वाचन क्षेत्रमा जमानत जफत हुनु त्यति नै चुनौतीपूर्ण पनि छ । यसले के देखाउँछ भने रास्वपाको लहर कर्णालीका दुर्गम बस्तीसम्म अझै पुग्न सकेको छैन वा त्यहाँका मतदाताले नयाँ दललाई पत्याउन अझै समय लिनेछन् ।
राप्रपाका ज्ञानबहादुर शाहीको लगातार दोस्रो जितले कर्णालीमा व्यक्तित्व र राष्ट्रियताको नाराले काम गरिरहेको देखिन्छ । समग्रमा, कर्णालीको यो नतिजाले टेस्टेड नेताहरूलाई विस्थापित गर्दै नयाँ अनुहारलाई अवसर दिएको छ । मतदाताले दलीय ह्वीप र पुराना आश्वासनभन्दा पनि नयाँ विकल्प र कार्यक्षमतालाई प्राथमिकता दिन थालेका छन् । अब निर्वाचित हुने जनप्रतिनिधिहरूका लागि कर्णालीको गरिबी, पूर्वाधार विकास र भूगोलको चुनौती चिर्नु नै मुख्य अग्निपरीक्षा हुनेछ ।





