धाँधलीको सहारामा चुनाव

उमालाल आचार्य
संविधान जारी भएपछि देश स्थानीय निर्वाचनको तयारीमा थियो । प्रधानमन्त्री थिए माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । सेना कब्जा गर्न खोज्दा उत्तानो पछारिएको क्यान्टोनमेन्टमा रकम हिनामिना गरेको तथा थोरै लडाकुलाई चौबर संख्यामा देखाई सरकारलाई ठग्न सफल भएको भन्ने आसयको भूमिगत कालको गोप्य भिडियो सार्वजनिक हुँदा राजनीतिमा प्रचण्डको लोकप्रियता दिनानुदिन ओरालो झर्दै गइरहेको थियो । जनादेशले रोकिदिए पनि तिगडमले काँग्रेस सभापति शेरबहादुर देउवाको हात समाएर सत्तामा उक्लेका थिए ।
आलोपालो गर्न प्रधानमन्त्री पदको ललिपप देखाएर प्रचण्डले देउवालाई उठ् भने उठ्न र बस् भन्दा बस्न विवश पारिरहेका थिए । आफ्नी छोरी रेणु दाहालको प्रचारप्रसार गर्न र भोट माग्न देउवालाई नत्थी लगाएर प्रचण्डले चितवन पुर्याए । पदका लागि कतिसम्म गिर्न सक्छ भन्ने सवालमा देउवा पहिलो नमूना भए । होइन भने पार्टीको तर्फबाट कोही कसैलाई उम्मेद्बारी नै दिन बन्देज गरेर अर्को फरक पार्टीको उमेदवारलाई एउटा जिम्मेवार पार्टी सभापतिले कसरी भोट माग्न सक्छ ? त्यो कुकर्मले काँग्रेस पार्टीको प्रतिष्ठामा आँच मात्रै पुगेन देउवाको नैतिकतामा पनि कालोदाग लागिसकेको थियो ।
विभिन्न मत सर्वेक्षणले भरतपुर नगरपालिकाको मेयरमा माओवादी उमेदवार रेणु दाहाल भन्दा एमाले उमेदवार देवी ज्ञवाली अगाडि भएको संकेतहरु देखाइ रहेका थिए । मत दान सम्पन्न भएर मतगणना शुरु भइरहेको थियो । मतगन्ती का क्रममा सूर्य सूर्य र फेरि सूर्य गर्दै निरन्तर सूर्य चिन्ह मात्रै आउन थालेपछि माओवादीका दुई जना प्रतिनिधिले २ थान मतपत्र झम्टेर अकारण च्याते । च्यातेर चपाए कि फाले तिनै जानुन् तर तिनलाई निर्देशन दिएर तयार पारिएको थियो । त्यसो गरे बापत जुनि सुधारिदिने आश्वासन पनि हुँदो हो तब त आफ्ना बाबु–आमाको इज्जतको ख्याल नराखेर प्रचण्डको आदेश शिरोधार्य गरे ।
कानुनी प्रक्रिया पुर्याएर अदालतले सायद सुनपानी छर्किदिइ सकेको छ । मतपत्र च्याते बापत पाएको पारितोषिकले जीवन गुजारा चलाइरहेका होलान् । च्यात्तिएको २ थान मतपत्रको हिसाब अलग राखेर गणना निरन्तर सञ्चालन गर्न एमाले प्रतिनिधिले सुझाउँदा तिनै च्यात्नेहरुले मानेनन् किनकि उनीहरूले जसरी पनि स्थगित गराउनु नै थियो ।
मतपत्र लुटिंदा फोडिंदा मतपत्र च्यातिदा नास गरिंदा सुरक्षा का लागि सुरक्षाकर्मीले गोली ताक्न हान्न सक्ने भन्ने सायद कानुनमा व्यवस्था छ । तर सुरक्षाकर्मी मुकदर्शक मात्र भयो किनकि बेथितिमा मुकदर्शक हुनु भन्ने माथिकै आदेश थियो । मतगणनामा खटिएका कर्मचारी प्रमुखको प्रतिक्रिया थियो “पिसाब फेर्न गएको थिएँ कसले च्यात्यो भन्ने थाहा छैन तर मतगणना स्थल पूरै रणमैदान भएको थियो ।’’ रणमैदान ? पक्ष विपक्ष हात हालाहाल लडेर, मतपत्र सबै भूइँमा फालेर छरेर च्यातेर नास पारेर गन्न नसक्ने अवस्था थियो भन्ने पो जनाउँछ । त्यो परिस्थितिमा कर्मचारीको रणमैदान भन्ने त्यो शब्दावलीले, तर त्यस्तो बिल्कुल थिएन ।
झूटो कुरालाई फुलबुट्टा भरेर प्रस्तुत गरेबाट नै प्रष्ट हुन्छकी कर्मचारीको नैतिकता पनि लिलाम भैसकेको थियो । “हामीले मतपत्र च्यातेका होइनौं च्यात्नेभए पहिल्यै च्यात्ने थियौं ।’’ यस्तो आसयको पुष्ट्याइँ थियो प्रचण्डका भाइ नाता लाग्ने चितवन माओवादीका नेता नारायण दाहालको । पछि राष्ट्रपतिको कान फुकेर प्रचण्डले नारायणलाई राष्ट्रियसभामा पुर्याएका थिए ।
राष्ट्रिय सभा अध्यक्ष रिक्त हुन आउँदा राष्ट्रियसभाको उपाध्यक्ष रहेकी माओवादी नेत्री उर्मिला अर्याललाई लैजानु पर्नेमा प्रचण्डले अर्याललाई उपध्यक्ष पदबाट राजीनामा गर्न दबाब दिई नारायणलाई अध्यक्ष पदमा पुर्याइदिए । एउटै पार्टीबाट राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्ष बन्न नपाइने भन्ने संवैधानिक व्यवस्था भएको हुँदा परिवारवादका हिमायती प्रचण्डले अर्याललाई राजनीतिक बली चढाएर भाइलाई शिखरमा पुर्याए ।
त्यस्तो ज्यादती र धाँधलीका विरुद्ध देवी ज्ञवालीले निर्वाचन आयोगमा उजुरी दर्ता गराए । प्रष्ट उल्लेख भएको नियम र कानुनलाई धोती लगाएर रेणुलाई नै पायक पार्दै आयोगले सम्बन्धित वडामा फेरि मतदान हुनुपर्ने निर्णय गर्यो । मर्का परेको भनी निर्वाचनका विरुद्ध फेरि ज्ञवाली अदालत पुगे ।
अदालतले पनि गणतन्त्रको रक्षा गर्दै निर्वाचनको निर्णयलाई सदर गरेर दुनियाँलाई चकित पार्यो । संवैधानिक निकायले नाङ्गो रूपमा कसैको पक्षधरता लिएपछि संस्थाको प्रतिष्ठामा धब्बा लाग्ने मात्रै होइन विश्वासमा पनि संधै प्रश्न खडा हुन्छ ।
त्यसकारण त्यो धाँधलीकाण्डमा तत्कालीन निर्वाचन आयुक्त लाई पनि पटक्कै भुल्न मिल्दैन । यदि सरकार आफ्नो भयो र निर्वाचन आयोग पनि दाहिना पर्यो भने धाँधलीबाट जित निकाल्न सकिन्छ भन्ने एक उदाहरण बन्न गएको छ गणतन्त्र प्राप्तिपछि भरतपुरको पहिलो स्थानीय निर्वाचन ।
चितवनको चुनावी सभामा ज्ञवालीलाई उर्जा भरेका एमाले अध्यक्ष खड्ग प्रसाद ओली यस मामिलामा बिल्कुल मौन रहेका थिए । राजधानीतिर ओली र प्रचण्डले गोप्य रूपमा पार्टी एकीकरण गरेर संसदीय चुनावमा जाने भनी खिचडी पकाइ रहेका थिए । सायद ज्ञवालीको मनग्ये चित्त बुझाएर रेणुको जित निकाल्नका लागि फेरि मतदान भयो । रेणुले देशभरका माओवादीलाई लाजले नतमस्तक पारेर मेयरमा विजय प्राप्त गरिन् । एमाले र माओवादी दुई पार्टी मिसाएर नेपाल कम्युनिस्ट पार्टी निर्माण भयो । एउटा पार्टीमा सँगसँगै दुईजना अध्यक्ष बन्ने तमासा भएपछि ज्ञवालीले सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष हुने सौभाग्य पाए ।
पहिलो कार्य अवधि सकिएपछि दोस्रो स्थानीय निर्वाचन समय आयो । एमालेसँग स्वार्थ बाझिएपछि प्रचण्ड फेरि काँग्रेससँग बेरिन आइपुगेका थिए । मेयर पदमा रेणुलाई पायक पार्न काँग्रेसले पहिला जस्तै फेरि पनि उम्मेद्बारी दिएको थिएन । देउवाको हप्काइदप्काइमा चितव काँग्रेस कार्यकर्ताको बिद्रोहको जोड चलेन । अनेकन ललाइफकाई र कारबाहीका बाबजुद पनि काँग्रेसका पुराना कार्यकर्ता जगन्नाथ पौडेलले बागी उम्मेद्बारी दिने निश्चय गरे । पौडेललाई फकाउन स्वास्थमन्त्री र गृहमन्त्रीले मात्रै चितवनमा डेरा जमाएनन्, पूर्वप्रधान न्यायाधीश गोपाल पराजुली पनि चितवन झरेका थिए ।
कारबाहीसँग नगलेका पौडेललाई रातो र गुलियोले फकाउन र लोभ्याउन सकेन । छोरीको प्रचारका लागि प्रचण्डले बहालवाला प्रधानमन्त्री मात्र होइन काँग्रेसका उपल्ला नेता र पूर्वप्रधानमन्त्रीलाई पनि चितवन ओराले । आफ्नो निष्ठा र मर्यादा भुलेर रेणुको प्रचारप्रसारमा भाग लिन पुगेका एउटा प्रचारक हाल राष्ट्रपतिको कुर्सीमा बसेर खोक्दै उपचारका लागि राष्ट्रको ढुकुटीमा आँखा गाढिरहेका छन । सत्तामा जाने योजना बुनिरहेका अर्का प्रचारकलाई काँग्रेसका नेता गगन थापाले थला पारेपछि बोल्न र बतुराउन सकिरहेका छैनन् । अख्तियारले डामेका अर्का एक प्रचारक आफ्नै अस्तित्वका लागि छट्पटाइरहेका छन ।
जेनजी फेनजी चिन्दैनौं पूर्वप्रधानमन्त्री र तिनका परिवारको उपचार खर्च राज्यबाट भरिनुपर्छ भन्दै जेनजी आन्दोलनलाई धारेहात लगाइरहेका छन अर्का प्रचारकले । यदि मेरी छोरीले चुनाव जितिन भने देश फेरि द्वन्द्वमा जान्छ भनि चितवनवासीलाई औंला ठड्याएर धम्काएका थिए स्वयं प्रचण्डले ।
मौन अवधिमा केही मन्त्री लिएर आधा रातमा प्रचण्ड स्थल मार्ग हुँदै चितवन पुगेको मात्र होइन एउटा होटलमा बैठक पनि सम्पन्न गरेको भनी मिडियामा खबर आयो । एमाले कार्यकर्ताले उजुरी गरेपछि निर्वाचन आयोगले प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्वयं प्रचण्डलाई तत्काल आठ घण्टे स्पष्टीकरण सोधेको कुरा पनि सतहमा आयो । मेयरको रूपमा रेणु ।
दाहालले गरेको कामकाजलाई त्यती नकारात्मक टिप्पणी नगरौं किनकि अवश्य विकास भएको छ । तर त्यहाँ विकास गर्नका लागि राज्यकोषबाट ठुलो रकम कसले पठाएको थियो ? कोही मेयरका पिता प्रधानमन्त्री भएपछि राज्यकोष बाट बजेट प्राप्त हुने अन्यथा नहुने परिपाटीले देशको समग्र विकास हुन्छ त ? यसरी पनि सोच्न र प्रश्न गर्न सकिन्छ ।
यस पटकको मत गणनामा रेणु दाहालले पराजय भोग्नु पर्ने अवस्था आएपछि नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिले धाँधली गर्न खोजिएको भन्ने किसिमको बेबुनियाद आरोप लगाउँदै खिचोला गर्न खोजीरहेका थिए । मनग्ये विकास गरेको जनताको मन जितेको कोही व्यक्तिले जालझेल नगरी स्वस्थ प्रतिस्पर्धाबाट जित हाँसिल गर्नुपर्ने होइन ?
छोरी रेणुलाई केन्द्रीय राजनीतिमा स्थापित गर्न प्रचण्डले सुरु देखि नै मेलोमेसो मिलाइ रहेका थिए । संविधानसभाका लागि काठमाडौंबाट उम्मेद्वारी दिनु, पहिलो स्थानीय निर्वाचनमा मेयर जित्नका लागि मतपत्र च्यात्नु र दोस्रो निर्वाचनमा उनको प्रचारका लागि भरतपुरमा केन्द्रीय नेताहरुको जात्रा लाग्नु नै त्यसको पुष्टि थियो । यतिखेर मतपत्र च्यात्न सक्ने तागत छैन र केन्द्रीय नेता भनिएका सबै जना आफै थला परिरहेको अवस्था छ । पछिल्लो पटक पनि बेतुकका अनेकन अफवाह नफैलाइएको होइन । मेयर पदको बाँकी अवधि छँदाछँदै ठूलो भाग खान हौसिएकी दाहाल सोभिता गौतमबाट पराजित भएपछि भने उनको राजनीतिमा भविष्यमा तगारो लाग्ने देखिन्छ । आफ्नो बुतामा चुनाव लड्न कति कठिन रहेछ भन्ने अनुभूत भएपनि नभए पनि धाँधलीको सहारामा घरीघरी चुनाव जित्न सकिन्न किनकि समय संधै एकैनास रहन्न । (लेखक : वीरेन्द्रनगर–१२ निवासी हुनुहुन्छ)






