चीनमा मर्ज : सन्तुलित व्यापार र युक्रेन शान्तिको एजेन्डा

बेइजिङ, १३ फागुन (रासस/एपी) ।
युक्रेन युद्ध अन्त्यका लागि चीनको प्रभाव प्रयोग गर्न आग्रह गर्दै र जर्मन कम्पनीहरूका लागि निष्पक्ष व्यापार वातावरणको मागसहित जर्मनीका चान्सलर फ्रेडरिक मर्ज बुधबार दुई दिने भ्रमणका लागि बेइजिङ आइपुग्नुभएको छ । युरोपेली एकतामार्फत सन्तुलित र भरपर्दो साझेदारी निर्माण गर्ने सन्देशसहित उहाँले चिनियाँ शीर्ष नेतृत्वसँग भेटवार्ता गर्न लाग्नुभएको हो ।
बेइजिङ अवतरणअघि उहाँले जर्मनीको चीन नीतिलाई युरोपेली सन्दर्भमा राख्नुपर्नेमा जोड दिनुभयो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किर स्टार्मरको भ्रमणपछि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावित यात्राअघि आफू चीन आएको उल्लेख गर्दै मर्जले युरोपको साझा दृष्टिकोण स्पष्ट पार्नुभयो । “हामी चीनसँगको साझेदारी सन्तुलित, भरपर्दो, विनियमित र निष्पक्ष चाहन्छौँ”, उहाँले भन्नुभयो, “र यही अपेक्षा चिनियाँ पक्षबाट पनि गर्छौं ।”
गत मे महिनामा पदभार सम्हालेपछि पहिलो पटक चीन भ्रमण गर्नुभएका मर्जले उदीयमान विश्व व्यवस्थामा आर्थिक र सैन्य रूपमा सबल युरोप आवश्यक रहेको धारणा दोहोर्याउनुभएको छ । ट्रम्प प्रशासनको कर नीतिले प्रभावित युरोपले सुरक्षा र रणनीतिक जिम्मेवारी आफैँ वहन गर्नुपर्ने अवस्था आएको उहाँको बुझाइ छ ।
युक्रेन युद्धको सन्दर्भमा उहाँले बेइजिङको भूमिकालाई निर्णायक ठान्नुभएको छ । “चीनलाई संलग्न नगरी आजका ठूला विश्व राजनीतिक समस्या समाधान गर्न सकिँदैन”, उहाँले प्रस्थानअघि भन्नुभयो, “मस्कोमा समेत बेइजिङको आवाज सुनिन्छ ।” यद्यपि, रुससँग व्यापारिक र कूटनीतिक सम्बन्ध कायम राख्दै आएको चीनले युद्धप्रति निष्पक्ष अडान लिएको दाबी गर्दै आएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सबै पक्षलाई ‘स्थायी र बाध्यकारी शान्ति सम्झौताका लागि अवसर उपयोग गर्न’ आह्वान गर्नुभएको छ ।
चीनले अमेरिकी कर नीतिविरुद्ध समर्थन खोजिरहेका बेला मर्जको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सिन्ह्वा समाचार एजेन्सीले चीन र जर्मनीलाई बहुपक्षवादका समर्थक प्रमुख अर्थतन्त्रका रूपमा चित्रित गर्दै आपूर्ति शृङ्खला स्थिर राख्ने साझा जिम्मेवारी रहेको उल्लेख गरेको छ ।
आर्थिक असन्तुलन जर्मनीका लागि मुख्य चासो बनेको छ । गत वर्ष चीनबाट जर्मनीको आयात ८.८ प्रतिशतले बढेर एक खर्ब ७० अर्ब ६० करोड युरो पुगेको छ भने चीनतर्फ निर्यात ९.७ प्रतिशतले घटेर ८१ अर्ब ३० करोड युरोमा सीमित भएको छ । चिनियाँ निर्यातको बाढीले युरोपेली उद्योग र रोजगारीमा दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ ।
युरोपेली नेताहरू चिनियाँ कम्पनीहरूले युरोपमै उत्पादन आधार विस्तार गरून् भन्ने चाहना राख्दै आएका छन् । साथै विद्युतीय सवारीसाधन र सौर्य प्यानल क्षेत्रमा देखिएको अतिक्षमता घटाउन, निर्यात तथा पहुँच प्रतिबन्ध हटाउन र प्रतिस्पर्धा विकृत गर्ने अभ्यास रोक्न आग्रह गरिएको छ । “जहाँ प्रणालीगत अतिक्षमता र पहुँच अवरोध छन्, त्यहाँ समाधान खोज्न हामी छलफल गर्न चाहन्छौँ”, मर्जले स्पष्ट पार्नुभयो ।
मर्जको यो भ्रमणले युरोप–चीन सम्बन्धलाई नयाँ सन्तुलनमा लैजाने प्रयाससँगै युक्रेन युद्ध समाधानका लागि बेइजिङमाथि कूटनीतिक दबाब बढाउने सङ्केत दिएको छ ।






