गाउँ फर्किएको मतले सोध्दैछ,हाम्रो भविष्य कहाँ छ?

गाेल्डेन बुढा

 जुम्ला ,१२ फाल्गुन ।

दसैं–तिहारपछि पेट पाल्न गाउँ छाडेका हातहरू यतिबेला फेरि फर्किँदै छन्। फर्किँदै छन् ।केवल मत हाल्न होइन, पाँच वर्षअघिका वाचा र आजको यथार्थको हिसाब गर्न। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन १ गतेदेखि नै जुम्लाका गाउँतर्फ मतदाताको लर्को लागेको छ।जुम्लाको सिंजाका हरिबहादुर बुढाले देखेको दृश्य फरक छैन, तर मनस्थिति बदलिएको छ। “पहिले चुनाव आउँदा उत्साह हुन्थ्यो,” उनी भन्छन्, “अहिले भने प्रश्न धेरै छन्। कामको सिलसिलामा बाहिर गएकाहरू मतदान गर्न फर्किँदा गाउँ त चलायमान भएको छ, तर भरोसा अझै मौन छ।”मतदाता फर्किएसँगै चुनावी चहलपहल बढेको छ।

उम्मेदवारहरू घरदैलोमा छन्। दलहरूले प्रचार अभियान तीव्र पारेका छन्। तर गाउँका आँगनमा यसपटक नाराभन्दा बढी असन्तोषका स्वर सुनिन्छन्। “पहिले महिला, बालबालिका र जेष्ठ नागरिक मात्रै थिए,” बुढा भन्छन्, “अहिले मजदुरी गरेर फर्किएका युवाले सोधिरहेका छन्।हाम्रो पाँच वर्ष कहाँ गयो?”सिंजा, हिमा र कनकासुन्दरी यी तीन गाउँपालिका कालापहाडको छायाँमा बाँचेका भूगोल हुन्। यहाँका अधिकांश घरधुरीको जीवन भारतमा बेचिएको पसिनामा टिकेको छ। हिङ, सिलाजित, माला र गलैंचा बोकेर सीमापारि जानु यहाँ बाध्यता हो, रोजाइ होइन।यही बाध्यताको अन्त्य गर्ने आश्वासन दिएर २०७९ को संघीय निर्वाचनमा राप्रपाका ज्ञानेन्द्र शाही विजयी भएका थिए। “अब सिंजाका मतदाताले भारत जानुपर्दैन,” भन्दै उनले दलभन्दा माथि उठेर मत मागेका थिए। त्यो वाक्य अझै पनि गाउँलेको स्मृतिमा ताजा छ। तर त्यसपछि के भयो भन्ने प्रश्न अझै उत्तरविहीन छ।स्थानीयका अनुसार शाहीले चुनाव जितेपछि विकास, रोजगारी, सडक, शिक्षा वा स्वास्थ्यजस्ता मुद्दामा कुनै ठोस पहल गरेनन्। बरु उनी राजतन्त्रको वकालतमा केन्द्रित भए। जनताको गुनासो अझ चर्को छ।चुनाव जितेको छ महिनामै जुम्लामा राजा ल्याउने कार्यक्रममा व्यस्त भए, तर मतदाताको जीवन उस्तै रह्यो।“हामीले सांसद छानेका थियौं, नारा लगाउने कार्यकर्ता होइन,” एक स्थानीय भन्छन्, “हामीलाई भारत नजानु पर्ने बनाउने नेता चाहिएको थियो, भाषण सुन्ने होइन।” यही अनुभूति अहिले सिंजा क्षेत्रमा साझा असन्तोष बनेको छ।यही असन्तोषका बीच शाही फेरि प्रतिनिधिसभा उम्मेदवार बनेका छन्। फेरि पनि सिंजा क्षेत्रकै मतको आशा गरेका छन्। तर यसपटक चुनावी गणित कडा मात्र होइन, जनमत कठोर देखिन्छ। सिंजा क्षेत्रमा पाँच जना उम्मेदवार मैदानमा छन्।नेपाली कांग्रेसका दिपबहादुर शाही, प्रगतिशील लोकतान्त्रिकका मनऋषी धिताल, नेमकिपाका बिर्खबहादुर रावत, विपन्न नेतृत्वको नेकपा माओवादी केन्द्रका बिर्खबहादुर शाही र राप्रपाका ज्ञानेन्द्र शाही।उम्मेदवारहरू एउटै भूगोलका छन्, तर मतदाताको मन एउटै छैन। कांग्रेसका शाही, नेमकिपाका रावत र माओवादी केन्द्रका उम्मेदवार शाही हिमा गाउँपालिकाका हुन् ।भने मनऋषी धिताल र ज्ञानेन्द्र शाही सिंजा गाउँपालिकाकै एउटै वडाका हुन्।

सिंजा, हिमा र कनकासुन्दरी समेटिएको यो क्षेत्रमा मत विभाजन निश्चित देखिन्छ,र त्यो विभाजनको केन्द्रमा शाहीको विगत छ।आँकडाले यो असन्तोषलाई बल दिन्छ। हिमा गाउँपालिकामा ६ हजार ६ सय ९५ मतदाता छन्। सिंजामा ८ हजार ४ सय ७७ र कनकासुन्दरीमा ९ हजार ४ सय ४१ यी मतदाताको साझा अपेक्षा एउटै छ।अब भाषण होइन, परिणाम।स्थानीय शेरबहादुर बुढा स्पष्ट भन्छन्, “हामी मजदुरी गरेर बाँचिरहेका छौं। तर छोरानातिको भविष्य यहीँ बनोस् भन्ने चाहना छ। विकास गर्ने, सबैलाई मिलाएर लैजाने नेता चाहिएको छ। यसपटक काम गर्न नसक्नेले मत पाउँदैन।”मतदाताहरू गाउँ फर्किएका छन्।आस्थाका लागि होइन, हिसाबका लागि, आफ्नो मताधिकार प्रयोग गर्न, विगतका वाचा सम्झाउन र भविष्यका लागि कडा निर्णय गर्न।यता जिल्ला निर्वाचन कार्यालय जुम्लाले निर्वाचन शिक्षा कार्यक्रम तीव्र पारेको छ। दैनिक पाँचदेखि १० वटा बस मतदाता बोकेर जिल्लामा भित्रिरहेका छन्।

जुम्लामा ७१ हजार ७ सय ३९ मतदाता छन्। १ सय १० मतदान केन्द्र र ८५ मतदानस्थल छन्। सुरक्षा संयन्त्र सक्रिय छ।तर सिंजाको चुनाव केवल सुरक्षा र व्यवस्थापनको विषय होइन। यो भरोसाको पुनः परीक्षा हो। विशेषगरी विगतमा ठूलो सपना देखाएर सानो काम पनि नगरेको आरोप खेपिरहेका उम्मेदवारका लागि।यसपटक सिंजाबाट फर्किँदै गरेको मत मौन छैन। त्यो मत प्रश्न सोध्दै छ,पाँच वर्षमा के गर्यौ?र त्यसको जवाफ नदिनेहरूका लागि यो चुनाव सजिलो हुने छैन।

गाउँ फर्किएको मतले सोध्दैछ,हाम्रो भविष्य कहाँ छ?

भोट माग्न व्यस्त शंकर पोखरेल : विकासको

गाउँ फर्किएको मतले सोध्दैछ,हाम्रो भविष्य कहाँ छ?

विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds