नेपालगन्जको जमुनाहमा प्रतिबन्धित भारतीय अण्डा बरामद, १५ क्यारेट नष्ट

बाँके,७ फाल्गुन ।
बाँकेका सीमावर्ती क्षेत्रमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय कुखुराको अण्डा फेला परेको छ। नेपालगन्ज उपमहानगरपालिका–स्थित जमुनाह क्षेत्रमा संयुक्त बजार अनुगमन टोलीले विभिन्न पसलबाट अवैध रूपमा भित्र्याइएको सेतो कुखुराको अण्डा बरामद गरेको हो।
नेपाल सरकारले विगत करिब एक दशकदेखि भारतबाट पन्छी तथा पन्छीजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाउँदै आएको छ। सोही प्रतिबन्धको अवज्ञा गर्दै सीमावर्ती नाकाबाट लुकिछिपी भित्र्याइएको अण्डा स्थानीय बजारमा बिक्री भइरहेको सूचनाका आधारमा अनुगमन गरिएको पशु क्वारेन्टाइन कार्यालय बाँकेले जनाएको छ।
पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. हरेराम यादवका अनुसार जनचेतना अभिवृद्धि र अवैध आयात नियन्त्रण गर्ने उद्देश्यले नियमित बजार अनुगमनलाई तीव्र बनाइएको हो। “हामीले जनचेतना फैलाउने र अवैध कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले बजार अनुगमन गरिरहेका छौँ,” उहाँले भन्नुभयो। उहाँका अनुसार भारतबाट कुखुरा वा कुखुराजन्य पदार्थ अवैध रूपमा भित्र्याउनु कानुनविपरीत हो।
संयुक्त अनुगमन टोलीले १७ भन्दा बढी मासु पसल, होटल तथा खुद्रा पसलमा निरीक्षण गरेको थियो। अनुगमनका क्रममा करिब १५ क्यारेटभन्दा बढी भारतीय अण्डा बरामद गरी जफत तथा नष्ट गरिएको जनाइएको छ। केही व्यवसायीलाई सचेत गराउँदै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
अनुगमन टोली एक्कासि बजारमा पुगेपछि केही पसल सञ्चालकले पूर्वसूचना दिनुपर्ने माग गर्दै असन्तुष्टि जनाएका थिए। यस विषयमा पशु सेवा विज्ञ केन्द्र बाँकेका वरिष्ठ पशु चिकित्सक डा. गणेश पुनले अनुगमनको पूर्वजानकारी दिँदा कमजोरी लुकाउने सम्भावना रहने बताउनुभयो। “अनुगमन प्रभावकारी बनाउन आकस्मिक निरीक्षण आवश्यक हुन्छ,” उहाँले स्पष्ट पार्नुभयो।
अनुगमनका क्रममा केही मासु पसल दर्ताबिनै सञ्चालन भइरहेको, व्यवसाय नवीकरण नगरेको, सरसफाइमा ध्यान नदिएको तथा बिलबिजक व्यवस्थित नराखेको पाइएको छ। यस्ता व्यवसायलाई सुधारका लागि निर्देशन दिइएको र अटेर गरे कडा कारबाही गरिने चेतावनी दिइएको छ।
अनुगमन टोलीले व्यावसायिक कुखुरा फार्महरूको समेत निरीक्षण गरेको जनाएको छ। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख डा. यादवको नेतृत्वमा भएको उक्त अनुगमनमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका पशु सेवा शाखा, घरेलु तथा साना उद्योग महासङ्घ, सीमा सुरक्षा गुल्म जमुनाह, बोर्डर आउट पोस्ट जयसपुर, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा इलाका प्रहरी कार्यालय जमुनाहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पन्छीजन्य पदार्थले जनस्वास्थ्य र स्थानीय कुखुरा व्यवसायमा नकारात्मक असर पार्ने भन्दै सरोकारवाला निकायले अनुगमनलाई निरन्तरता दिने बताएका छन्।






