बाँके–२ मा कमरुद्दिन राईप्रति बढ्दो जनलहर, फागुन २१ नजिकिँदै चुनावी तापक्रम उच्च

बाँके ,५ फाल्गुन।
फागुन २१ गते नजिकिँदै जाँदा बाँके क्षेत्र नं. २ को चुनावी माहोल झन् तातिएको छ। प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारमध्ये कमरुद्दिन राई प्रति मतदाताको आकर्षण दिनदिनै बढ्दै गएको देखिन्छ। जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार राई गाउँ–टोल, चोक–गल्ली र बजारका चिया पसलदेखि किसानका बारीसम्म चर्चाको केन्द्रमा छन्।नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुख पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका कारण पनि उनको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ का स्थानीय अगुवा तथा समाजसेवीहरूका अनुसार यसपटकको निर्वाचनमा कमरुद्दिनप्रति उत्साह उल्लेख्य रूपमा बढेको छ।
“हामीले वर्षौंदेखि परिवर्तनको कुरा सुन्दै आएका छौं, तर अब त्यो व्यवहारमै देख्न चाहन्छौं,” एक स्थानीय अगुवाले बताए। उनका अनुसार कमरुद्दिन राई इमान्दार, जनतासँग नजिक रहने र आफ्ना प्रतिबद्धता पूरा गर्ने अठोट बोकेको नेतृत्वका रूपमा स्थापित हुँदै गएका छन्। यही कारणले स्थानीय स्तरमा उनलाई जिताउन सकारात्मक लहर देखिएको उनीहरूको भनाइ छ।
बाँके क्षेत्र नं. २ मा विशेषगरी मधेशी तथा मुस्लिम समुदायको उल्लेख्य उपस्थिति छ। ती समुदायका मुद्दा, अधिकार र पहिचानलाई राज्यको मूलधारमा स्थापित गर्न सक्षम नेतृत्व आवश्यक रहेको स्थानीय बासिन्दा बताउँछन्। कमरुद्दिन राईले विगतदेखि नै सामाजिक सद्भाव, समावेशिता र समान अधिकारको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै एक युवा मतदाताले भने, “हाम्रो पहिचान र अधिकारको सवालमा अब सम्झौता होइन, सशक्त प्रतिनिधित्व चाहिन्छ।”
घरदैलो अभियानलाई तीव्र बनाएका राईले मतदाताका गुनासा सुन्ने, उनीहरूको दैनिकी बुझ्ने र आफ्ना योजनाबारे जानकारी दिने कार्यलाई प्राथमिकतामा राखेका छन्। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आधुनिकीकरण, सिँचाइ सुविधा विस्तार, सडक पूर्वाधार विकास तथा सामाजिक न्यायलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक बाँके–२ को प्रतिस्पर्धा रोचक बन्ने संकेत देखिएको छ। तर चुनावी माहोलमा देखिएको जनसक्रियता र घरदैलोमा प्राप्त प्रतिक्रियाले कमरुद्दिन राईलाई बलियो दाबेदारका रूपमा उभ्याएको आकलन गरिएको छ।
फागुन २१ को मतदान मिति नजिकिँदै जाँदा मतदाताको अन्तिम निर्णय कता झुक्छ भन्ने चासो बढ्दो छ। तर अहिलेको अवस्था हेर्दा बाँके–२ मा कमरुद्दिन राईप्रति जनसमर्थनको लहर क्रमशः मजबुत बन्दै गएको स्पष्ट देखिन्छ।





