फेरि सत्ताकै खोजी 

उमालाल आचार्य

राजा वीरेन्द्रसँगको सम्झौतामा पञ्चायती शासन व्यवस्थाको सट्टा बहुदलीय प्रजातन्त्र स्थापित भए पनि स्वर्गीय गिरिजा प्रसाद कोइराला, शेरबहादुर देउवा, माधव नेपाल लगायतका खुंखार पात्रका कारण देशमा कुशासनको धूवाँ मडारिरहेको थियो । त्यसकारण भूमिगत जनयुद्ध गरिरहेको माओवादी को वास्तविकता बोध नभए पनि जनताको ध्यान आकर्षित भैरहेको थियो । दरबार हत्या काण्डबाट अपुतालीमा गद्दी पाएका नयाँ राजाले शासन व्यवस्था कु गरे, तर धमिजा काण्ड, लाउडा काण्ड मच्चाउने, कानुनी झमेलाबाट बच्नका लागि नीतिगत निर्णयका नाममा भ्रष्टाचार संस्थागत गर्ने ती खुंखार पात्रलाई कारबाही गर्न सकेनन् । बरु आफ्नो सुविधा बढाउने, देश मण्डल मार्ने, शासक बन्नका लागि राजा भएर पनि प्रधानमन्त्रीको तहमा ओर्लने र आफ्नो स्तुति गानका लागि राज्यकोषबाट खर्च गर्ने जस्ता निकृष्ट कुकर्मले राजाको आलोचनाको ग्राफ यसरी उठ्यो कि पार्टीका त्यस्ता खुंखार पात्र सबैलाई उछिन्यो ।

राजाको निरंकुशता भन्दा पनि उन्मादले प्रजातन्त्रको नाममा देश लुट्ने बेइमान र माओवादीलाई एक ठाउँमा पुर्‍याइदियो । दिल्लीमा भएको १२ बुँदे निर्देशक सिद्धान्तबाट आन्दोलन उठेको कुरा जनतालाई तत्काल थाहा हुन सकेन र जनताकै बलमा राजाका विरुद्ध देश आन्दोलित भयो । देशमा नयाँ  व्यवस्था आएपछि माओवादीका अलौकिक पात्र प्रचण्ड प्रकट भए । व्यवस्था र शासनबाट जनताले हैरानी व्यहोर्नु परिरहेको अवस्थामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो देशलाई १० वर्षमा हामी सिंगापुरको दाँजोमा  पुर्‍याउँछौ भन्ने ढंगको अभिव्यक्ति दिएपछि उनलाई सबैले राजनेताका रूपमा हेर्न खोजिरहेका थिए । त्यसकारणले माओवादी सबैभन्दा ठूलो पार्टी भएको थियो । ठूलो पार्टी हुनुको अहंकारबाट प्रचण्डले आफ्नो रङ्ग देखाउन सुरु गरे ।

घाइते तथा बेपत्ता परिवारजनको उचित सम्बोधन, लडाकु समायोजन, भ्रष्टाचार तथा बेइमानी उपर कारबाही  र देश विकासमा गति लिनुपर्ने अहम दाइत्त्व पन्छाएर गणतन्त्रको बादसाह हुने मनोकांक्षा बोकी प्रधानमन्त्रीको पदमा बसेका प्रचण्डले सेनामा हात हाल्न खोजे तर नराम्रो पराजय भोगे ।

उनको षड्यन्त्रबाट बौद्धिक र सचेत नागरिक झस्कन थाले । छँदाछँदै प्रधानमन्त्री पद गुमाएर प्रचण्ड अधोगतिको पहिलो खुड्किला झरे । दोस्रो संविधानसभाको चुनावमा माओवादी को हैसियत तेस्रो पार्टी बन्न पुगेबाट अधोगती यात्रा पुष्टि हुँदै गयो । चितवनमा आफ्नी छोरी रेणु दाहाललाई मेयर पदमा जिताउनका लागि मतपत्र च्यातेर धाँधली गर्न प्रचण्डले भित्री निर्देशन दिएपछि सर्वसाधारण समेत यसलाई धिक्कार्न पुगे । रेणुलाई त्यसरी मेयर बनाएपछि  देशभरका माओवादी लज्जित हुन पुगे ।

प्रचण्डको ज्यादती बेइमानी र अवसरवादले मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रबहादुर चन्द, रामबहादुर थापा लगायत का माओवादी महारथीहरु लाखापाखा भए । सत्ता स्वार्थले गर्दा उनले कसैको केही प्रवाह राखेनन्  काँग्रेस र एमाले पार्टीको प्रचण्डले पालैपालो खोइरो काढे पनि राजनीतिमा उभिनका लागि उनीहरुकै बैसाखी चाहिने अवस्था आयो ।

प्रधानमन्त्री पदको नसाले उनलाई यसरी अत्याउन थाल्यो कि पार्टी भाँडमा गए जाओस् भद्र सहमतिको रटान लगाउँदा लगाउँदै कसैलाई सुइँको सम्म नदिएर पार्टी एमालेमा मिसाइ दिए ।  एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई  फुर्क्याए, दोस्रो अध्यक्ष बनाए तर खास कुरा दिएनन् । तब पो भयो  पर्दाफास, पार्टी नै एमालेमा मिसाइदिनुको षड्यन्त्र उजागर । आधा कार्यकाल समयका लागि प्रधानमन्त्री पद ओलीले प्रचण्डलाई दिनुपर्ने सहमति गरेर आपसमा लुकाइ राखिएको रहेछ लिखित कागज । त्यसले पुष्टि गरिदिन्छ कि प्रधानमन्त्री पद भन्दा प्रचण्डका लागि पार्टी केही होइन रहेछ ।

पद नपाएपछि  गाली गलौजको पराकाष्ठा नाघेर ओलीसँग प्रचण्डले झगडा गरेका मात्रै थिएनन् पानी बाराबार सम्मको अवस्था पनि  थियो । काँग्रेस सभापति शेरबहादुर देउवालाई झुक्याउँदै ओलीले हरियो घाँस देखाएपछि एकाएक छोरी बोकेर प्रचण्ड प्रधानमन्त्री पदका लागि बालकोटमा ओली सँगै हात हल्लाउन पुगे । कुनै शक्तिले दबाब दिए पनि अब ओलीसँग प्रधानमन्त्रीका लागि मिल्न सकिंदैन भन्ने ढंगको भिडियो र बालकोटमा हात हल्लाएको भिडियो सामाजिक सञ्जालमा सँगसँगै भाइरल भैरहेको थियो । उनको आदर्श नैतिकता इमानदारी मान प्रतिष्ठा सबै प्रधानमन्त्री पदमा नै पोलिएर खरानी भएको दुनियाँले प्रत्येक्ष देखे । पदका लागि जेसुकै हर्कत गर्न पछि नपर्ने प्रचण्डले लाज सरम पचाएर प्रधानमन्त्री भए । छोरी लिएर विदेश भ्रमण गरे, सम्धी भेटमा सेनाको हेलिकप्टर गरेर बारीको पाटामा बसालेर पदको चरम दुरुपयोग  गरे ।

षड्यन्त्र जालझेल र कपटबाट प्रधानमन्त्री बनेका प्रचण्डले पटकपटक एमाले र काँग्रेसको कित्तामा फंगाल्दै तमासा देखाइरहेका थिए । माओवादीको विकल्पमा काँग्रेस एमाले ले सरकार निर्माण गर्न नसकुन भन्ने दुषित मनसायले आफू सरकार प्रमुख हुँदाहुँदै समाजवादी मोर्चा गठन गरेका थिए ।संसदको गणितीय खेलमा आफ्नो हात माथि पार्न मोर्चाको प्रमुख पनि प्रचण्ड नै थिए । प्रचण्डको कपटबाट आजित भएर काँग्रेसका नेता रमेश लेखकले प्रश्न गरेका थिए तपाईं बाट धोका पाउनेहरु एक भए के गर्नुहुन्छ ? फरक सिद्धान्त लिएका विपरीत धारका कांग्रेस र एमाले मिल्नसक्ने कुनै सम्भावनानै देखेका थिएनन् प्रचण्डले त्यसकारण गम्भीर प्रश्नको सस्तो जवाफ दिए उनले । मिले मिल्नुस न हामी त खुसी नै हुन्छौं । तपाईंले हामीलाई टाउकाको मोल तोक्नु भएकै हो डराएनौं अहिले तपाईं मिल्दा किन डराउँछौ भन्ने ढंगको जवाफ थियो ।

काँग्रेस र एमाले मिलेर प्रधानमन्त्री पद उत्तानो पारिदिएपछि पानी पाखा छट्पटाएको माछा भएका थिए प्रचण्ड । मनको छट्पटी मेट्न  जनतासँग जोडिने अभियानमा तराई झरेर कतै पातमा भात खाँदै, कतै पान चपाएर सेतो धोतीपाटामा नाच्दै रमिता देखाए । रमिते प्रचण्डलाई क्यान्टोनमेन्टको हिसाब देखाउन, उनी र उनकी छोरीको विलासी जीवनको स्रोत बुझाउन र अब अनिवार्य नेतृत्व हस्तान्तरण गर्न पार्टी भित्र चर्को दबाब पर्दै गयो । नक्कली जेनजीको प्रारुप खडा गरेर उनले नेतृत्व तन्काउन भरमग्दुर कोशिश नगरेका होइन तर काम लाग्न सकेन । अन्तमा न रहे बाँस न बजे बाँसुरी भने झैं पार्टीको नेतृत्व गुमाउनु नै पर्ने बाध्यकारी अवस्था देखिएपछि दायाँबायाँ कतै नहेरेर आँफुले निर्देशक सिद्धान्त मानी आएको माओवादी पार्टीलाई उनले फेरि  रछ्यानमा मिल्काइदिए । प्रचण्डले आधारभूमि र सहयोद्धाहरु भुल्न नसकेर रुकुमपूर्व आएँ भनिदिए पनि कुनाकानीतिर ओडार खोज्दै उनी किन गएका हुन भन्ने कुरा दुनियाँलाई थाहा छ ।

पार्टी प्रमुख बन्न पाइने लालसाले माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टी भत्काएर नेपाली कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको छ । ओलीले कटाक्ष गरेर यसलाई वृद्धाश्रमको संज्ञा दिए । हाम्रो पार्टी अब एक नम्बर बन्नबाट कसैले रोक्न सक्दैन भन्ने आसयबाट जनभेलाहरु मा प्रचण्डको रित्तो गर्जन आउन थाल्यो । वृद्ध आश्रम पार्टी ले ठाउँ ठाउँमा जनसभा गर्दै जनतालाई भ्रममा पार्न अनेकौं दाउपेच गर्दै छ । आफू सत्ताको भागबन्डामा नरहेको र पुराना सबै एउटै हुन भन्ने भाष्य नबनाउन खोजिए पनि त्यो सत्य नरहेको भनी जनताको नाममा भिडियो सन्देश जारी गरेका छन । उनका अनुसार हलिउडको एउटा चर्चित सम्वादलाई दोहोर्‍याउँदै उनले नै भने या तिमी नायकका रूपमा मर या खलनायक बनेको हेर्न जिवित रहु ।

यसको तात्पर्य प्रचण्डले नायक हुनका लागि फेरि सत्ता नै खोजिरहेका छन । रास्वपा को कारण  छोरी र बुहारीले जीत निकाल्न सक्दैनन् कि भन्ने पीरले उनको निन्द्रा खोसेको छ । तब आक्रोश पोख्छन कुनै  विचार  सिद्धान्त  त्याग बलिदान नभएपछि घण्टी बजाएर मात्र केही हुनेवाला छैन । उनको यस्तो अभिव्यक्तिको सार खोज्न धेरै टाढा जानु पर्दैन, २०७९ सालको निर्वाचन अघि र पछिका घटनाक्रम मात्रै हेर्दा विचार सिद्धान्त त्याग बलिदान सबै सत्ता स्वार्थमा डढेर अङ्गार भैसकेको छ ।  २०६४ साल देखि प्रत्येक्ष र परोक्ष रूपमा सत्ता वरिपरि रहेका सातिर प्रचण्डको चरीत्र नैतिकता नियत नापीरहेका जनतालाई आफ्नो कृतम लोकप्रियता देखाई ठगेर सत्ता फुत्काइहाल्न अब त्यति सजिलो छैन । (लेखक : वीरेन्द्रनगर–१२, नेवारे निवासी हुन)

फेरि सत्ताकै खोजी 

सम्पादकीय : मानव–वन्यजन्तुमैत्री संरक्षणको नीति आवश्यक !

फेरि सत्ताकै खोजी 

निर्वाचन : ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका

Leave a comment

Your email address will not be published. Required fields are marked *