बर्दिया–२ निर्वाचन: बाघको त्रास र भोटको आशा

बर्दिया, २७ माघ ।
बर्दिया क्षेत्र नम्बर २ का बासिन्दाका लागि साँझ परेपछि घरभित्रै कैद हुनुपर्ने बाध्यता नयाँ कुरा होइन। खेतबारीमा काम गर्दा ज्यानकै जोखिम मोल्नुपर्ने अवस्था र वन्यजन्तुको निरन्तर त्रास यहाँका स्थानीयको वर्षौंदेखिको नियति बनेको छ। यही समस्याले यसपटकको प्रतिनिधिसभा निर्वाचनलाई विकासका नाराभन्दा पनि जीवन सुरक्षाको मुद्दातर्फ केन्द्रित बनाएको छ। आसन्न निर्वाचनमा यस क्षेत्रका १ लाख ५५ हजारभन्दा बढी मतदाता उम्मेदवारको अनुहारभन्दा पनि वन्यजन्तु समस्याको ठोस समाधान खोजिरहेका छन्।
बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका गेरुवा, ठाकुरबाबा र बारबर्दिया नगरपालिका अन्तर्गतका बस्तीहरूमा बाघ, हात्ती र चितुवाको आक्रमण पछिल्लो समय सामान्य जस्तै बनेको छ। खेतबारीमा काम गर्न जाँदा होस् वा घरआँगनमै बस्दा पनि ज्यान जोखिममा पर्ने अवस्था रहेको स्थानीयले गुनासो गर्दै आएका छन्। वन्यजन्तु आक्रमणका घटनाले धेरै परिवार विस्थापित हुने अवस्था समेत सिर्जना भएको छ भने खेतीपातीमा समेत ठूलो क्षति हुँदै आएको छ।
यसै स्थायी त्रासले यसपटकको निर्वाचनमा मुख्य राजनीतिक मुद्दाको रूप लिएको छ। मतदाताहरू अब चुनावी नारा र आश्वासनभन्दा आफ्नो जीवन रक्षाको सुनिश्चितता खोजिरहेका छन्। स्थानीयहरूको भनाइमा विगतमा धेरै पटक समस्या समाधान गर्ने प्रतिबद्धता आए पनि व्यवहारिक रूपमा समाधान नदेखिएकोले यसपटक उनीहरू ठोस योजना र कार्यान्वयनको ग्यारेन्टी चाहिरहेका छन्।
यस निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार किशोर सिंह राठौर आफ्नो दुई दशक लामो विकास अनुभवलाई आधार बनाउँदै वन्यजन्तु नियन्त्रण तथा प्रभावित क्षेत्रको व्यवस्थापन गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिनुभएको छ। उहाँले बस्ती सुरक्षाका लागि तटबन्ध, सुरक्षित घेराबार तथा पीडितलाई तत्काल राहत र दीर्घकालीन पुनर्वास कार्यक्रम सञ्चालन गर्ने योजना अघि सार्नुभएको छ।
त्यस्तै नेकपा एमालेकी उम्मेदवार बिमला बिकले निकुञ्जलाई समस्या होइन अवसरका रूपमा बदल्ने अवधारणा अघि सार्नुभएको छ। उहाँका अनुसार स्थानीय समुदायलाई पर्यटन, रोजगारी र संरक्षणसँग जोडेर वन्यजन्तु व्यवस्थापन गर्न सकिने बताउँदै संरक्षण र विकासलाई सँगसँगै लैजानुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
नेकपाका उम्मेदवार सुरेश पन्तले भने निकुञ्जभित्र ‘ओपन जू’ अवधारणा ल्याएर वन्यजन्तुलाई व्यवस्थित व्यवस्थापन गर्ने प्रस्ताव अघि सार्नुभएको छ। उहाँले वैज्ञानिक अध्ययनका आधारमा वन्यजन्तु नियन्त्रण, सुरक्षित बस्ती विकास तथा मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभएको छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पौडेलले नीतिगत सुशासन र पर्यापर्यटनको विकासमार्फत समस्या समाधान गर्न सकिने धारणा राख्नुभएको छ। उहाँले वन्यजन्तु संरक्षण र स्थानीयको जीविकोपार्जनलाई सन्तुलनमा राख्ने नीतिगत सुधार आवश्यक रहेको बताउँदै पारदर्शी व्यवस्थापनमार्फत दीर्घकालीन समाधान सम्भव हुने बताउनुभएको छ।
२०७९ सालको निर्वाचन परिणामले पनि बर्दिया–२ मा कडा प्रतिस्पर्धा हुने संकेत दिएको थियो। उक्त निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको समर्थनमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी २६ हजार ५२० मत प्राप्त गरी विजयी हुनुभएको थियो भने गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सुरेश पन्त २६ हजार ३८४ मतसहित झिनो अन्तरले पराजित हुनुभएको थियो। मात्र १३६ मतको अन्तरले हार–जित भएको उक्त क्षेत्रमा एमालेका पंकज सिंह राठौर १६ हजार ९० मतसहित तेस्रो स्थानमा रहनुभएको थियो।
समानुपातिक तर्फको मत परिणाम हेर्दा पनि नागरिक उन्मुक्ति पार्टी २८ हजार ८१३ मतसहित पहिलो शक्ति बनेको थियो। नेपाली कांग्रेस १६ हजार ५०५ मतसहित दोस्रो स्थानमा रहँदा माओवादी केन्द्र १४ हजार ७१४ मतसहित तेस्रो र नेकपा एमाले १३ हजार ८७९ मतसहित चौथो स्थानमा रहेको थियो।
यस क्षेत्रमा कुल १ लाख ५५ हजार २३२ मतदाता रहेका छन्। मतदाताको मनोविज्ञान बुझ्दा यसपटक पार्टीको झण्डा र राजनीतिक प्रभावभन्दा पनि वन्यजन्तु द्वन्दको पीडा ठूलो मुद्दा बनेको देखिन्छ। स्थानीयहरू सुरक्षित बस्ती, भरपर्दो क्षतिपूर्ति, वैज्ञानिक वन्यजन्तु व्यवस्थापन र दीर्घकालीन समाधान चाहिरहेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक बर्दिया–२ मा जसले वन्यजन्तु समस्याको स्पष्ट र व्यवहारिक समाधानको खाका प्रस्तुत गर्न सक्छ, उसैले मतदाताको विश्वास जित्ने सम्भावना बलियो देखिएको छ। त्यसैले यहाँको चुनावी प्रतिस्पर्धा केवल राजनीतिक शक्ति प्रदर्शन नभई स्थानीयको जीवन सुरक्षासँग जोडिएको महत्वपूर्ण मोडमा पुगेको छ।






