शुक्लाफाँटाको एकै वडामा ६७ करोड ९७ लाखका विकास योजना कार्यान्वयनमा

कञ्चनपुर, २५ माघ ।
शुक्लाफाँटा नगरपालिका–९ मा चालु आर्थिक वर्षमा रु ६७ करोड ९७ लाखका योजना निर्माणको कार्य अगाडि बढाइएको छ । वडामा सडक, पुल, कल्भर्ट, तटबन्ध, खानेपानी, विद्युत् विस्तार र शैक्षिक पूर्वाधारसम्बन्धी ठूला तथा साना गरी १९ वटा योजना निर्माणको कार्य अगाडि बढाइएको हो । केही योजना सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा रहेका छन् ।
वडाध्यक्ष रमेशबहादुर ऐरका अनुसार नगरपालिकासँगै प्रदेश र सङ्घ सरकारको बजेटमार्फत वडामा बहुआयामिक विकासका योजना कार्यान्वयनमा ल्याइएको छ । “निरन्तर समन्वय र पहलका कारण वडामा करोडौँ रकमका योजना ल्याउन सफल भएका छौँ”, अध्यक्ष ऐरले बताए ।
ऐरका अनुसार निर्माणाधीन योजनामध्ये वडा नं ९ र १० का दलित बस्ती जोड्ने रु तीन करोड ५० लाखको लागतमा कल्भर्ट निर्माण भइरहेको छ । त्यसैगरी लालपनिया खोलामा रु तीन करोड ५० लाख लागतमा अर्को कल्भर्ट निर्माण कार्य जारी रहेको छ ।
वडा नं ९ को नौखरी सिविर क्षेत्रमा रु ८५ लाखको लागतमा तीन किलोमिटर आरसीआई जाली निर्माण भइरहेको छ । छाडा गाईगोरु व्यवस्थापन केन्द्र नजिकै सुनबरा नदीमा रु १० लाखको तटबन्ध निर्माण कार्य अघि बढेको छ ।
वडाभित्रकै अशिग्राम माध्यमिक विद्यालयमा रु ७० लाखको लागतमा चार कोठे विद्यालय भवन निर्माण भइरहेको वडाध्यक्ष ऐरले बताए । सुनबरा र घरकटुवा नदीमा रु ९५ लाखको लागतमा तटबन्ध निर्माण कार्य सञ्चालनमा रहेको छ । वडा विकास कार्यक्रमअन्तर्गत नगरपालिकाबाट रु ४५ लाख बजेट विनियोजन गरिएको छ ।
एसियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा झलारी–सिसैया–फुलेली सडकखण्डमा ढल निकाससहित ३ दशमलव एक किलोमिटर कालोपत्रे सडक निर्माणका लागि रु २५ करोड बजेट विनियोज नै कार्य अगाडि बढ्ने चरणमा रहेको छ । सुनबरा र घरकटुवा खोलामा थप रु एक करोड बराबरको तटबन्ध निर्माण कार्यअघि बढाइएको छ ।
“घरकटुवा खोलामा रु एक करोड ४० लाखको लागतको कल्भर्ट निर्माणको ठेक्का भइसकेको छ,” अध्यक्ष ऐरले भने, “पूर्व रिङरोडसम्म रु ३० लाखको लागतमा कालोपत्रे सडक निर्माण कार्य ठेक्का प्रक्रियामार्फत अघि बढेको छ ।” पञ्चदेवल जेष्ठ नागरिक मिलन केन्द्र निर्माणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको भए पनि ठेक्का प्रक्रिया बाँकी रहेको उनले उल्लेख गरे । पुरानो राजमार्ग कालोपत्रे सडक निर्माणका लागि रु ३० लाखको लागतमा योजना ठेक्का प्रक्रियामा रहेको छ ।
त्रिवेणी टोलमा रु एक करोडको लागतमा डिप बोरिङ निर्माणको ठेक्का भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा नौखरीमा रु एक करोड बराबरको विद्युत् विस्तार कार्य सम्पन्न भइसकेको छ । सामुदायिक गाईगोरु व्यवस्थापनका लागि शुक्लाफाँटा नगरपालिकाबाट रु ३२ लाख बजेट विनियोजन गरिएको छ । लालपनिया टोलमा महाकाली सिँचाइ आयोजनाअन्तर्गत रु एक करोड बजेटमा डिप बोरिङ निर्माणको ठेक्का भइसकेको छ ।
त्यसैगरी शुक्लाफाँटा नगरपालिका वडा नं ९ र ११ जोड्ने सनबोरा नदीमा रु १३ करोडको लागतको पक्की पुल निर्माण कार्य स्थानीय पूर्वाधार विकास कार्यालय कैलालीमार्फत ठेक्का प्रक्रियामा रहेको छ । खानेपानी डिभिजन कार्यालय कैलालीको रु २० लाख बजेटमा शुक्लाफाँटा खानेपानी उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको खानेपानी योजना सम्पन्न भइसकेको वडाध्यक्ष ऐरको भनाइ रहेको छ । वडा कार्यालयका अनुसार चालु आर्थिक वर्षभित्र अधिकांश योजनाको निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कार्यअघि बढाइएको उनको भनाइ छ ।






