जुम्लामा निर्वाचन प्रहरी बढी, ४ सय ५३ रिजर्भमा

गाेल्डेन बुढा
जुम्ला,१२ मााघ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि जुम्लामा मागभन्दा धेरै निर्वाचन प्रहरी उत्तीर्ण भएका छन् । ९ सय ७४ जनाको कोटा रहेको जुम्लामा १ हजार ४ सय २७ जना निर्वाचन प्रहरी उत्तीर्ण भएपछि ४ सय ५३ जनालाई वैकल्पिक (रिजर्भ) जनशक्तिका रूपमा राखिएको छ ।जिल्ला प्रहरी प्रमुख डिएसपी रबिनबाबु रेग्मीका अनुसार न्यूनतम पास अंक ल्याएका सबै उम्मेदवारलाई केन्द्रको निर्देशनअनुसार वैकल्पिक सूचीमा समावेश गरिएको हो ।
‘जुम्लाका लागि आवश्यक जनशक्ति त पूरा भइसकेको छ,’ उनले भने, ‘अब देशका अन्य जिल्लामा माग आएमा पठाउन सकिने गरी तयारी अवस्थामा राखिएको हो ।’कर्णालीका सबै १० जिल्लामा कोटाभन्दा बढी आवेदन परेकाले यस प्रदेशभित्र खासै जनशक्ति अभाव देखिएको छैन । तर गण्डकी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कोटा अनुसार निर्वाचन प्रहरी नपुगेको जानकारी आएसँगै जुम्लाबाट पनि जनशक्ति पठाउने सम्भावना रहेको डिएसपी रेग्मी बताउँछन् ।‘अहिले ४ सय ५३ जना वैकल्पिक जनशक्तिका रूपमा राखिएका छन्,’ उनले भने, ‘केन्द्रबाट माग आउने वित्तिकै रोलक्रमका आधारमा फोन गरेर छनोट गरी पठाइनेछ । त्यससम्बन्धी परिपत्रसमेत गरिसकिएको छ ।’जुम्लाका लागि ३ सय ८६ महिला र ६ सय ६ जना पुरुष निर्वाचन प्रहरी छनोट भइसकेका छन् । यसैगरी ९६ जना सशस्त्र प्रहरी पनि निर्वाचन सुरक्षामा खटिने गरी छनोट भएका छन् । कुल १ हजार ८ सय ९४ जनाले निर्वाचन प्रहरीका लागि दरखास्त दिएका थिए ।
जिल्लाका लागि आवश्यक जनशक्तिलाई माघ १५ गते नियुक्ति प्रदान गरी तालिममा परिचालन गर्ने तयारी छ । माघ २५ गतेसम्म तालिम सम्पन्न गरेर उनीहरूलाई निर्वाचन सुरक्षामा खटाइने डिएसपी रेग्मीले जानकारी दिए ।भौगोलिक रूपमा विकट मानिने जुम्लामा यसपटक निर्वाचन सुरक्षाका लागि पर्याप्तभन्दा बढी जनशक्ति तयारी अवस्थामा रहनुले निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सहज हुने अपेक्षा गरिएको छ ।






