जुम्ला काङ्ग्रेस : शालिकअगाडि आँशु, मतपेटिकामा सौदा

गाेल्डेन बुढा
जुम्ला ,१२ माघ।
नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार एवं पूर्व जिल्ला सभापति दीपबहादुर शाहीले मनोनयन दर्ताको सुरुवात तत्कालीन जिल्ला सभापति स्वर्गीय मानव सेजुवालको शालिकमा अबिर र खादा अर्पण गर्दै गरे । राजनीतिमा स्मृति, संवेदना र सन्देश एकसाथ प्रयोग हुने दृश्य जुम्लामा फेरि दोहोरियो ।२०७० फागुन ४ गते काठमाडौंदेखि जुम्ला आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज अर्घाखाँचीको मसिने लेकमा दुर्घटना हुँदा तत्कालीन सभापति सेजुवालको निधन भएको थियो । त्यतिबेला कांग्रेसको जिल्ला नेतृत्वमा उपसभापतिको भूमिकामा रहेका शाही अहिले प्रतिनिधिसभा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।शालिकमा अंकमाल, म्वाई खाने, खुट्टा समात्ने र आँशु झार्ने शाहीको दृश्यलाई लिएर कांग्रेसभित्रै फरक-फरक व्याख्या सुरु भएको छ । कतिपयले यसलाई विभाजनको संघारमा पुगेको कांग्रेसभित्र भावनात्मक एकता जुटाउने प्रयासका रूपमा हेरेका छन्। कतिपयले भने स्वर्गीय सेजुवालको योगदानको सम्मान र उनले देखाएको राजनीतिक बाटो पछ्याउने प्रतिबद्धताको संकेत मानेका छन्।शाही स्वयं भने सेजुवालले कांग्रेसलाई यहाँसम्म पुर्याउन खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै यसले नेता–कार्यकर्तामा हौसला र प्रेरणा दिने दाबी गर्छन्।चुनावी मौसममा भावनाले काम गर्छ, भन्ने राजनीतिक यथार्थसँग उनको यो दाबी मेल खान्छ।मनोनयन दर्तापछि शाहीले आफूलाई ‘भुइँमान्छेको उम्मेदवार’को रूपमा प्रस्तुत गरे । नेपाली राजनीतिमा सबैभन्दा धेरै दोहोरिने तर व्यवहारमा सबैभन्दा कम भेटिने परिचय यही हो। ‘म गलत प्रचार गरेर जनतालाई धोका दिने छैन,’ उनले भने, ‘म भुइँमान्छे हुँ। भुइँमान्छेको छोरा हुँ।’जितेपछि सबै बस्तीमा पुगेर समस्या संकलन गर्दै पैदलै संसद् भवन छिर्ने प्रतिबद्धता उनको भाषणको मुख्य आकर्षण बन्यो। संसद् पुग्ने बाटो पैदल भए पनि त्यहाँको राजनीति भने सधैं उचाइमै रहने यथार्थबारे उनले केही भनेनन् ।
२४ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय शाही सार्वजनिक पदका लागि कहिल्यै मरिहत्ते नगरेको दाबी गर्छन्। बरु आफूलाई आएका अवसर मातहतका कार्यकर्तालाई सुम्पिएको उनको भनाइ छ। २०७४ सालमा प्रतिनिधिसभा उम्मेदवार बन्ने अवसर पाउँदा उनले देवेन्द्रबहादुर शाहीलाई सहजै अघि सारे। त्यतिबेला आफू सभापति भएकाले अवसर लिए पार्टी संगठनमा नकारात्मक असर पर्ने उनको तर्क थियो।शाहीको राजनीतिक यात्रा भने निर्वाचित पदबाटै सुरु भएको हो। २०४९ सालमा तत्कालीन कालिकाखेतु गाविसको अध्यक्ष बनेका उनी २०५४ सालमा चार गुणा बढी मतसहित पुनः निर्वाचित भए । जनमुखी कामकै कारण जनताले दोहोर्याएको उनको दाबी छ।२०७० सालमा सेजुवालको निधनपछि शाहीले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाले। तीन वर्ष कार्यवाहक रहेपछि उनी पुनः पाँच वर्षका लागि सभापति निर्वाचित भए। अहिले उनी जिल्लाको वरिष्ठ नेताको हैसियतमा छन्।काङ्ग्रेसभित्र त्यागी, इमान्दार र सादगी नेताको छवि बनाएका शाहीका लागि यो चुनाव छवि परीक्षणको अवसर पनि हो। २०७९ को निर्वाचनमा प्रतिनिधिसभा टिकट नपाएपछि उनले प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर केन्द्रीय सभापति शेरबहादुर देउवाको आग्रहपछि उनले उम्मेदवारी फिर्ता लिए।तर,कांग्रेसभित्रको आन्तरिक गुटबन्दी शाहीका लागि चुनौतीका रूपमा देखिएको छ। उनी गगन थापानिकट प्यानलबाट टिकट पाएका हुन्। यसअघि जिल्ला समितिले सभापति कर्णबहादुर शाही र कान्तिका सेजुवालसहित दर्जनौँ नेताको नाम सिफारिस गरेको थियो।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा देउवानिकट ललितजंग शाही पराजित भएका थिए भने कांग्रेसका बागी उम्मेदवार देवेन्द्र शाही विजयी भएका थिए। देवेन्द्र शाही हाल गगन थापाको पक्षमा खुलेका छन्।पार्टी निर्णय व्यक्तिगत चाहनाभन्दा माथि हुने पुरानै अभ्यास यसपटक पनि दोहोरियो।आर्थिक रूपमा सामान्य परिवारमा हुर्किएका शाही जनतासँगै खाने–बस्ने भएकाले सहजै जित्ने अनुमान गर्छन्। तर उनीसँगै राजनीतिमा आएका धेरै नेताहरू सांसद, मन्त्री भइसकेका छन् । एमालेबाट बलबहादुर महत पर्यटन राज्यमन्त्री भए । पदमबहादुर रोकाया कर्णाली प्रदेशका मन्त्री बने । शाही भने अझै ‘अवसरको प्रतीक्षा’मै छन् ।द्वन्द्वकालमा २०५४ सालमा तत्कालीन माओवादीबाट भौतिक कारबाही खेपेका शाही लामो समय विस्थापित जीवन बिताए । अहिले पनि द्वन्द्वकालीन घाउ बोकेर घरदैलोमा हिँडिरहेको बताउँदै उनले जनताकै मायाले मल्हम लगाइदिने विश्वास व्यक्त गर्छन् ।कांग्रेसका लागि जुम्ला सजिलो भूगोल कहिल्यै रहे। २०६४ मा माओवादीसँग पराजित कांग्रेसले २०७० मा ललितजंग शाहीलाई जितायो ।
२०७४ मा एमाले-माओवादी गठबन्धनका कारण देवेन्द्रबहादुर शाही पराजित भए । २०७९ मा गठबन्धनकै कारण कांग्रेसले प्रतिनिधिसभा टिकट पाएन । गठबन्धनकी उम्मेदवार गोमा गौतम पराजित भइन् ।अब, कांग्रेसले आफ्नै उम्मेदवारका रूपमा दीपबहादुर शाहीलाई अघि सारेको छ । उनका लागि चुनौती दुई तहको छ। विभाजनको डिलमा पुगेको पार्टीभित्र नेता,कार्यकर्तालाई सन्तुष्ट राख्नु र आम मतदाताबाट विश्वास जित्नु।श्रद्धा, त्याग र अवसरको कथा बोकेका शाहीले यसपटक जनताको मत जित्न सक्छन्। कि सक्दैनन्, त्यो भने चुनावी नतिजाले नै तय गर्नेछ।





