न्यायविहीन लोकतन्त्र र सहिद ऋषि प्रसाद शर्माको रगतले सोधेको प्रश्न ?

✍️अर्जुन प्रसाद शर्मा
बिरेन्द्रनगर ,सुर्खेत

लोकतन्त्र केवल निर्वाचनको मिति होइन। लोकतन्त्र केवल मतपेटिकामा खसालिने चिठी पनि होइन। लोकतन्त्र भनेको राज्यले नागरिकप्रति देखाउने संवेदनशीलता हो, पीडितप्रति प्रकट हुने उत्तरदायित्व हो र न्यायप्रति गरिने अटुट प्रतिबद्धता हो। जहाँ न्याय हुँदैन, त्यहाँ लोकतन्त्र केवल औपचारिकता बन्छ। आज नेपालको लोकतन्त्र त्यही कठघरामा उभिएको छ, जहाँ सहिद ऋषिप्रसाद शर्माको रगतले निरन्तर प्रश्न गरिरहेको छ। मेरो हत्या कसले गर्‍यो?
प्रतिनिधिसभा निर्वाचन २०८२ फाल्गुन २१ गते सम्पन्न हुँदैछ। देशभर राजनीतिक दलहरू आ–आफ्ना एजेन्डा बोकेर जनताको घरदैलोमा पुगेका छन्। कसैले समृद्धिको सपना देखाइरहेका छन्, कसैले स्थायित्वको नारा दिएका छन्, कसैले परिवर्तनको गीत गाइरहेका छन्। तर यी सबै नारामाथि एउटा गम्भीर प्रश्न उठ्न जरुरी छ— के यी दलहरू न्याय दिन सक्षम छन्?


सन्दर्भ २०६४ सालको संविधानसभा निर्वाचन सुर्खेत क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार सहिद ऋषिप्रसाद शर्मा—एक कर्मठ राजनीतिक कार्यकर्ता, एक जुझारु प्रतिनिधि र लोकतान्त्रिक मूल्यका पक्षधर जसलाई चैत २६ गते राति ८:१५ बजे षड्यन्त्रपूर्वक हत्या गरियो । त्यो हत्या केवल एउटा व्यक्तिको मृत्यु थिएन। त्यो हत्या थियो लोकतन्त्रको आत्मामाथिको प्रहार थियोे ।
त्यतिबेला नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले यामलाल कडेल को नेतृत्व मा सार्वजनिक रूपमै नेपाली कांग्रेसका नेता पुर्ण बहादुर खड्का लाई हत्याको दोषी ठहर गरि माईनुट गर्यो । छानबिन आयोग गठन भयो। जाहेरी दर्ता भयो। पीडित परिवार र आम नागरिकमा आशाको एक झिल्को पलायो। तर त्यो झिल्को धेरै चाँडै निभाइयो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्ले मुद्दा नै फिर्ता लिएर न्यायको ढोका बन्द गरिदियो।यो निर्णय बिरुद्ध मन्त्री गिरिराजमणि पोख्रेल ले note of dissent लेख्ने काम बाहेक अरु हुन सकेन।
संविधानको आत्मामाथि प्रहार गरियो।
र सहिदको आत्मालाई राज्यले नै अपमान गर्‍यो।
मुद्दा फिर्ता भएपछि पनि संसद खुल्यो। देशका प्रतिनिधिहरू भेला भए। लोकतन्त्रका मञ्चहरू सजिए। तर ऋषिको न्यायका निम्ति कोही उभिएन,कोहि बोल्न चाहेनन।
जो उभिन खोजे, दैलेखका संसद अमर बहादुर थापा उनलाई बोल्न दिइएन।जो समय लिएर बोल्ने अनुमति पाए, उनीहरू योजनाबद्ध ढङ्गले नै ससद मा सोही दिन अनुपस्थित रहे।यो मौनता केवल चुप्पी होइन।यो मौनता हो—सहमतिको मौनता।
यो मौनता हो—अपराधलाई ढाकछोप गर्ने राजनीतिक षड्यन्त्र।
धेरै पटक कम्युनिष्ट सरकारहरू आए।केपी ओली पटक पटक गरेर ५ बर्ष ४ महिना, माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई।सबै आए, सबै गए।तर ऋषिको फाइल कहिल्यै खुलेन ,कसले खोलेनन।यसले एउटा गम्भीर प्रश्न जन्माउँछ ।के सत्ता परिवर्तनले न्याय परिवर्तन गर्दैन?यदि गर्दैन भने परिवर्तनको अर्थ के?
सहिद ऋषिप्रसाद शर्मा सूर्यचिन्हका समर्पित कार्यकर्ता थिए।
उनको परिवार, उनका आफन्तहरु ,तथा सुर्खेती मतदाता सबै सधैँ सूर्यचिन्हमै मतदान गर्दै आए।तर त्यो पार्टीले, जसले सहिदको रगतबाट राजनीतिक ऊर्जा लियो।त्यही पार्टीले सहिद परिवारलाई संरक्षण होइन, उपेक्षा गरिरयो।जसलाई हत्याको आरोप लगाइएको थियो,समय बित्दै जाँदा तिनैसँग उनिहरु उठबस, शिष्टाचार भेट, राजनीतिक लेनदेन खुल्लमखुल्ला हुन थाल्यो। उनीहरू एउटै मञ्चमा हाँसीखुसी राजनीतिक सहमतिहरू गरिरहे।
यो व्यवहारले एउटा गम्भीर शंका जन्मायो—
के यो सबै षड्यन्त्रको जालो त थियन?
के सहिद लाई केवल राजनीतिक सौदाबाजीको मोहरा त बनाईयन?
यदि यस्तै हो भने, यो केवल सहिद परिवारमाथिको होइन, सम्पूर्ण लोकतन्त्रप्रेमी नागरिकमाथिको धोका हो।
न्याय माग्नु अपराध होइन।आज सहिद परिवार भन्दै छौ हामीलाई पद चाहिएको छैन।हामीलाई कुनै मान–प्रतिष्ठा चाहिएको छैन।हामीलाई सत्ता पनि चाहिएको छैन।
हामीलाई चाहिएको छ त सिर्फ न्याय।हामीले ज्यानको बदला ज्यान मागेका छैनौं।हामीले रगतको बदला रगत मागेका छैनौं।हामीले मागेका छौं केबल संविधान बमोजिमको कारबाही,हत्याराको पहिचान र थोरै भए पनि न्यायको अनुभूति।यो माग कुनै पार्टीविरोधी होइन।
यो माग लोकतन्त्रको पक्षमा हो।
अब हामी आइपुग्छौं वर्तमान निर्वाचनको सन्दर्भमा।
२०८२ फागुन २१ गते मतदान हुँदै संकेत गरिएको अवस्थामा, सहिद परिवारसहित सुर्खेती लाखै न्याय प्रेमि नागरिकको मनमा एउटा प्रश्न छ।अब भोट कसलाई दिने?
सूर्य चिन्हमा?
जहाँ पटकपटक सरकार बने, तर न्यायका लागि फाइल खोल्न इच्छासमेत देखिएन।
रुखमा?
जहाँ हत्याको जाहेरी किटन नेता भएको पार्टीका प्रधानमन्त्रीले मुद्दा नै फिर्ता लिए।
कि फेरि नयाँ भनियका बैकल्पिक शक्तिमा?
जसले अहिलेसम्म केवल आशाका कुरा त गरेका छन्, तर न्यायलाई एजेन्डा बनाएका छैनन्।आज सहिद परिवारको प्रश्न स्पष्ट छ।कुन पार्टीले सहिद ऋषिप्रसाद शर्माको फाइल खोल्ने प्रतिबद्धता गर्न सक्छ?”
“जुन नेतृत्वले ‘आश्वासन’ होइन, ‘कार्ययोजना’ दिन सक्छ?”
न्यायलाई एजेन्डा बनाउने राजनीतिको खाँचो
आज नेपालमा राजनीतिमा सत्ता प्राप्तिको खेलमा सीमित छ।
तर राजनीति न्यायको साधन हुनुपर्छ।
जुन पार्टीले सहिद ऋषि शर्माको फाइल पुनः खोल्ने, निष्पक्ष छानबिन आयोगलाई सक्रिय बनाउने,राजनीतिक हस्तक्षेपविना निष्पक्ष अनुसन्धान गर्ने,दोषी जो भए पनि कानुनको कठघरामा उभ्याउने , र सहिदको रगतलाई न्याय दिने स्पष्ट एजेन्डा बनाउँछ,
त्यही पार्टीले मात्र आज सहिद परिवारको मात्रै होइन,
सम्पूर्ण न्यायप्रेमी सुर्खेती सचेत नागरिकको समर्थन पाउने योग्य हुन्छ।
राजनीतिक दलहरूलाई खुला चुनौती दिन चाहन्छु
आज म सम्पुर्ण सुर्खेत न्यायप्रेमि मतदाता हरुको तर्फबाट देशका सम्पूर्ण राजनीतिक दलहरूसामु प्रश्न राख्छु।
तपाईंहरूको घोषणापत्रमा
“न्याय” भन्ने शब्द छ।
तर सहिद ऋषि शर्माको नाम किन छैन?
तपाईंहरू समृद्धिको सपना देखाउनुहुन्छ,
तर न्यायविहीन समृद्धि केवल भ्रष्टहरूको स्वर्ग हो भन्ने बुझ्नुहुन्न?यदि तपाईंहरू साँच्चै लोकतन्त्रवादी हुनुहुन्छ भने,हामीसँग आएर भन्नुहोस्—
“हामी सहिद ऋषिको फाइल खोल्छौं।”
त्यसपछि मात्र हामि न्याय प्रेमी सुर्खेती मतदाता मतपेटिकासामु नतमस्तक हुनेछौं।
अन्तिम अपिल : भिख होइन, न्याय माग्दै
यो लेख भिख माग्ने लेख होइन।
यो लेख न्याय माग्ने आवाज हो।
यो लेख सहिदको रगतले लेखिएको प्रश्न हो।
हामी भन्छौं।न्याय दिन सक्ने पार्टीलाई
हामी सुर्खेती मतदाता मतदान गर्न तयार छौं।तर न्याय नदिने कसैलाई
हामी केवल मत होइन, इतिहासको कठघरामा उभ्याउनेछौं।किनकि
सहिद ऋषि शर्मा केवल एउटा नाम होइन,
उहाँ न्यायको प्रतीक हुनुहुन्छ र न्यायको पक्षमा उभिनु नै
साँचो राष्ट्रवाद हो।

लेखक =सामाजिक अभियानता र सहिद ऋषि प्रसाद शर्मा का भाइ ( काका का छोरा) हुन।

न्यायविहीन लोकतन्त्र र सहिद ऋषि प्रसाद शर्माको रगतले सोधेको प्रश्न ?

सम्पादकीय : भ्रामक र द्वैषपूर्ण सामग्रीमा प्रतिवन्ध

न्यायविहीन लोकतन्त्र र सहिद ऋषि प्रसाद शर्माको रगतले सोधेको प्रश्न ?

एक निर्वाचनमै ३० अर्बभन्दा बढी खर्च अनुमान

Leave a comment

Your email address will not be published. Required fields are marked *