नरभक्षी बाघको आतंकः बर्दिया राष्ट्रिय निकुञ्ज र नागरिकबीच बढ्दो दुरी

ओम शाही
सुर्खेत, १२ माघ ।
गएको २३ पुसमा सुर्खेतको भेरीगंगा नगरपालिका–५, गेरुवानीका ५७ वर्षीय गंगा सारु बाघको आक्रमणमा परिन । घाँस काट्न नजिकैको जंगलमा गएकी सारु घर फर्कन पाइनन् । उनका नातिनीहरुले घर नजिकैको जंगलमा रगतको टाटो फेलापारेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाको जानकारी पाउनासाथ  खटिएको नेपाल प्रहरी, नेपाली सेना, वनका कर्मचारी र स्थानीय जनप्रतिनिधिसमेतको टोलीले सारुको शव छत्‌विक्षत अवस्थामा फेला पारेको थियो ।
स्थानीयका अनुसार आक्रमण गर्ने बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हो । गेरुवानी गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको शक्ति सामुदायिक वन क्षेत्रमा पर्छ । यही भूगोलले यहाँको जीवनलाई सधैँ जोखिमसँग गाँसेको छ ।
जङ्गल र बस्तीबीच कुनै स्पष्ट सिमाना छैन—कहिले जङ्गल बस्तीभित्र पस्छ, कहिले बस्ती जङ्गलभित्र । यो घटना पहिलो पटक घटेको भने होइन । त्यसको दुई दिनपछि २६ पुसमा सल्यानको कालिमाटी गाउँपालिका–७, का ४२ वर्षीय धनसरी रावत पनि बाघको आक्रमण परिन ।
उनले पनि घटनास्थलमै ज्यान गुमाइन । त्यसको तीन दिनपछि २९ पुसमा सल्यानको कालिमाटी–८, मा घट्टमा पिठो पिस्न गएका ६५ वर्षीय चन्द्रबहादुर खप्तडी बाघको आक्रमणमा परे । उनको पनि मृत्यु भएको छ । बस्तीमै पुगेर मान्छेमाथि आक्रमण गर्ने उक्त नरभंक्षी बाघ अझै नियन्त्रणमा अएको छैन ।
लगातार घटेका यी घटनाले बाघको आक्रमण संयोग होइन, गम्भीर समस्या बनिसकेको संकेत गर्छ । जसले संरक्षणका नाममा बाघको संख्या बढ्दै जाने तर व्यवस्थापनमा राज्यले ध्यान नपुर्‍याउने हो भने निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव अस्तित्व संकटमा पर्ने खतरा बढाएको छ । घटनामा संलग्न हिंसक बाघ अझै नियन्त्रणमा नआएकाले स्थानीय नागरिकले विद्यालय जाने बालबालिका, घाँस–दाउरा संकलन, मेलापात तथा दैनिक आवतजावतमा समेत असहज अवस्था सिर्जना भएको गुनासो गर्दै आएका छन् ।
मान्छेमाथि जाइलाग्ने नरभक्षी बाघलाई नियन्त्रण्मा लिन निकुञ्जको टोली घटनास्थलमा परिचालन भएपनि हालसम्म नियन्त्रणमा लिन नसकिएको बताउँछन् बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेल । बाघलाई डार्ट गरेर नियन्त्रणमा लिन घटनास्थल आसपास ड्रोन प्रविधिबाटसमेत निगरानी गरिएको भएपनि सफलता हात पर्न नसकेको उनले बताए । बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा अवस्थित सुर्खेतका दुई पालिकाका भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका सात वडा मध्यवर्ती क्षेत्रमा पर्दछन् । यस क्षेत्रमा यसअघि बाघले तीन जनाको ज्यान लगिसकेको छ ।
भेरीगंगा नगरपालिका–५ का स्थानीय गंगबहादुर घर्ती भन्छन्, ‘अहिले बाँके राष्ट्रिय निकुञ्ज नजिकका जङ्गलमा दिनहुँजसो बाघ देखिन्छ । पहिले राति मात्रै देखिन्थ्यो, अहिले त दिउँसै पनि देखिन्छ ।’ उनका अनुसार बाघको त्रासले स्थानीयको दैनिकी नै बदलिएको छ । ‘एक्लै घरबाट निस्कन डर लाग्छ, बालबालिकालाई विद्यालय पठाउन पनि चिन्ता हुन्छ,’ उनी भन्छन् ।
वडा अध्यक्ष प्रेमबहादुर सारुमगरका अनुसार बाघले मानिस मात्र होइन, घरपालुवा जनावरलाई पनि आक्रमण गरिरहेको छ । उनका अनुसार हरेक वर्षजस्तो निकुञ्ज आसपासका बस्तीमा बाघको आक्रमण हुने गरेको छ । संरक्षणमा स्थानीय बाधक नभएपनि यसै गरी आतंक बढ्ने हो भने निकुञ्ज र मध्यवर्ती क्षेत्रका नागरिकबीको दुरी बढ्दै जाने चिन्ता वडाध्यक्ष सारुमगरले गरे । कहिले गाईवस्तु, कहिले मानिस—यहाँ बाघको आक्रमण अनौठो घटना होइन, दोहोरिरहने पीडा हो । गेरुवानीका बासिन्दाका लागि यो पीडा नयाँ पनि होइन ।
२०७९ सालमा यहीँ भेरीगंगा नगरपालिका–५ गेरुवानीमा शक्ति सामुदायिक वनमा घाँस काट्न गएका दुई जनाको बाघको आक्रमणबाट ज्यान गएको थियो । यी घटनापछि गेरुवानी, छिञ्चु, लेकपराजुल र चेपाङ क्षेत्रका बासिन्दा निरन्तर त्रासमा बाँचिरहेका छन् । खेतबारीमा काम गर्न, दाउरा–घाँस गर्न, घट्ट जान—सबै काम जोखिमपूर्ण बनेका छन् । जङ्गलबाट आउने सानो आवाजले पनि आफूहरुले तर्सिने गरेको स्थानीयको भोगाई छ ।
बर्दिया राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्यांकलाई केलाउने हो भने विगत ३० वर्षको अवधिमा बाघको आक्रमणबाट ३३ जनाले ज्यान गुमाएका छन् । बाघको आक्रमणबाट घाइते हुनेको कुनै लेखाजोखा छैन । सन् २०२२ को तथ्यांक अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ वटा बाघ छन् । बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गतको सुर्खेत मध्यवर्ती क्षेत्रको आर्थिक वर्ष २०७५–७६ को घरधुरी र जनसंख्या विवरण अनुसार भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाको दक्षिण क्षेत्रमा एक हजार आठ सय ३३ घर धुरीमा नौ हजार नौ सय २५ जनसंख्या छ ।
यो जनसंख्या कुनै न कुनै कारणबाट जंगली जनावरको आतंक व्यहोर्न बाध्य रहेको वडाध्यक्ष सारुमगर बताउँछन् । यी पालिकाका सात वडामा चारवटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएका छन् । जसमा बराहतालका १ र ३ तथा भेरीगंगाका १, २, ३, ४ र ५ नम्बर वडा मध्यवर्ती क्षेत्रभित्र पर्दछन् । यी क्षेत्रमा २०२३–२०२४ सालतिरबाट बस्ती थालिएको थियो । यो क्षेत्रमा अधिकांश वन पैदावारमा आश्रित सिमान्तकृत गरिब समुदायको बसोबास छ ।
विस्थापनको संघारमा प्रमुख खाद्यवाली र पशुपालन
बाघले मान्छे मार्ने मात्र होइन यी क्षेत्रमा पछिल्लो समय जंगली जनावरकै कारण प्रमुख खाद्यबालीहरु गहँु, मकै, धान, आलु, पिडालु, अदुवा खेती र पशुपालन झण्डै विस्थापनको संघारमा पुगेका छन् । भेरीगंगा नगरपालिका–५, लेखहात्तिखालका मिलन वलीले निकुञ्जका वन्यजन्तुका कारण परम्परागत स्थानीय खाद्यबालीसँगै पशुपालन व्यवसाय विस्थापित हुने चरणमा पुगेका बताउँछन् ।
‘वर्षेनी २५/३० बढी पशुचौपाय बाघले मार्छ, लगाएको अन्नबाली भित्र्याउन पाइदैन,’ उनी भन्छन्, ‘निकुञ्जले पशुचौपाय र खेतीमा वन्यजन्तुले क्षती पुर्‍याए राहत दिन्छ भन्ने सुनेको छु ।  तर, अहिलेसम्म केही पाइएको छैन ।’ निकुञ्जले बेलैमा विकल्पसहितको संरक्षण नीति लिन नसके ठुलो जनसंख्य मध्यवर्ती क्षेत्रबाट विस्थापित हुने उनले बताए ।
पछिल्लो समय बाघको आतंक बढेपछि स्थानीयहरु निकुञ्जकाविरुद्ध उत्रिन थालेका छन् । एक साता अवधिमा तीन जनामाथि बाघले आक्रमण गरेपछि स्थानीयले उचित विकल्प नदिए निकुञ्ज नै खारेज गर्नुपर्ने मागलाई बलियो बनाउँदै लगेका छन् । निकुञ्जले बाघ र अन्य वन्यजन्तुले मानव, पशुचौपाय र बालीनालीमा क्षति पुगे राहत दिनु बाहेक मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरणमा ठोस कदम चाल्न सकेको छैन । वन्यजन्तुले क्षति पुर्‍याए पश्चात राहत लिन पुरा गर्नुपर्ने कागजी प्रक्रिया निकै झन्झिटिलो छ । जसका कारण पहुँच नभएकाहरु निकुञ्जको राहत प्रक्रियामा समेटिनै सकेका छैनन् ।
भेरीगंगाले गरायो निकुञ्जको ध्यानाकर्षण
पछिल्लो समय बाघको आतंक बढ्न थालेपछि भेरीगंगा नगरपालिकाले बर्दिया राष्ट्रिय निकुञ्जसँग विकल्प दिन माग गरिरहेको छ । मध्यवर्ती क्षेत्रमा जनावरले स्थानीयलाई आतंकित पार्न थालेपछि नगरपालिकाले निकुञ्जलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।
नगर प्रमुख यज्ञप्रसाद ढकाल र नगर उपप्रमुख धनसरा बोहोराले निकुञ्जको कार्यालयमा पुगेर निकुञ्ज आसपासका बस्तीमा बाघ लगायतका जंगली जनावरबाट हुँदै आएको क्षतिका बारेमा ध्यानाकर्षण गराएका हुन् । उनीहरुले मानव–वन्यजन्तु द्वन्द्व रोक्न तत्काल दीर्घकालीन कदम चाल्न आग्रह गरेका छन् । ‘भेरीगंगा नगरपालिका वडा नं. १ देखि ५ सम्म मध्यवर्ती क्षेत्रभित्र पर्छन्,’ नगर प्रमुख ढकाल भन्छन्, ‘यहाँका बासिन्दाको सुरक्षा पहिलो प्राथमिकता हो ।’
अतिजोखिमयुक्त क्षेत्रका बस्तीलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नेदेखि मध्यवर्ती क्षेत्र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने माग नगरपालिकाको छ । जंगली जनावरको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति तथा पीडित परिवारका एक सदस्यलाई अनिवार्य रोजगारीको व्यवस्था हुनुपर्ने नगरपालिकाको माग छ । ‘बाघ लगायत हिंस्रक जनावरको संख्या व्यवस्थापन वनको क्षमता अनुसार क्षेत्रफल, आहार र बस्तीको दूरीका आधारमा गुर्नपर्छ भन्ने माग हाम्रो हो,’ ढकाल भन्छन्, ‘निकुञ्ज सीमामा सुरक्षित तारवार, बलियो पूर्वाधारसहित नियमित गस्ती तथा चेतावनी प्रणाली (साइरन सूचना) तत्काल लागू गर्नुपर्छ ।
बालीनाली तथा अन्य क्षतिको हकमा पनि क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने विषयमा निकुञ्जको ध्यानाकर्षण गराएका छौं ।’ उनले नेपालका निकुञ्ज तथा वनसम्बन्धी कानुनहरू वातावरणमैत्रीका साथै मानवमैत्री हुने गरी संशोधन गर्नुपर्ने मागसमेत गरे । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि राज्यका सम्बन्धित निकाय गम्भीर नबने नागरिकहरु संरक्षण विरोधी गतिविधिमा संलग्न हुने खतरा बढ्दै गएको उनले औल्याए ।
नरभक्षी बाघको आतंकः बर्दिया राष्ट्रिय निकुञ्ज र नागरिकबीच बढ्दो दुरी

आलेखः ओझेलमा परेको ऐतिहासिक रिसेडीकोट

नरभक्षी बाघको आतंकः बर्दिया राष्ट्रिय निकुञ्ज र नागरिकबीच बढ्दो दुरी

सम्पादकीय : भ्रामक र द्वैषपूर्ण सामग्रीमा प्रतिवन्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *