जुम्लाका जनताले विवेक प्रयोग गर्छन्:नरेश भण्डारी

गाेल्डेन बुढा
जुम्ला ,६ माघ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। जिल्ला अदालत जुम्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार दिनभरि शान्तिपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको हो।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार नरेश भण्डारीले दिउँसो साढे १ बजे आफ्नो उम्मेदवारी दर्ता गराए। मनोनयनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भण्डारीले यसपटक जनताले विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे। ‘यो चुनावमा हामी अत्यधिक बहुमतका साथ विजयी हुन्छौं,’ उनले भने, ‘जित पक्का छ, फरक कति मतले हुन्छ भन्ने मात्रै प्रश्न हो।’जुम्लालाई क्रान्तिकारी जिल्ला उल्लेख गर्दै भण्डारीले आफू र आफ्नो पार्टीको भूमिका यहाँका नागरिकलाई स्पष्ट रूपमा थाहा रहेको दाबी गरे। ‘जुम्लाका जनता गफ होइन, काम गर्ने उम्मेदवार खोजिरहेका छन्,’ उनले थपे।यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार मनऋषि धितालले पनि जुम्लाबाट उम्मेदवारी दर्ता गराएका छन्।

तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका धितालले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।धितालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छोड्दै नेता जनार्दन शर्माको धार रोजेका थिए। युद्धकालदेखि पत्रकारितामा संलग्न रहँदै आएका धिताल जुम्लाका लागि भने नयाँ अनुहारका रूपमा हेरिएका छन्। स्थानीय स्तरमा उनको चिनजान र राजनीतिक उपस्थिति कमजोर रहेको टिप्पणी हुँदै आएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार विनिता कठायतले पनि जुम्लाबाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेकी छन्। मनोनयनपछि उनले कर्णालीको भूगोल, समस्या र नागरिकको पीडा बुझेको व्यक्ति संसदमा पुग्नुपर्ने बताइन्। ‘मैले जुम्लाका नागरिकको व्यथा र आवाज प्रतिनिधित्व गर्दै आएको छु,’ कठायतले भनिन्।कठायत जुम्लाबाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने एकमात्र महिला हुन्। उनी यसअघि रास्वपाबाट प्रतिनिधिसभाकी समानुपातिक सांसदसमेत भइसकेकी छन्।नेपाली कांग्रेसबाट दीपबहादुर शाहीले साँझ करिब साढे ४ बजे उम्मेदवारी दर्ता गराए। कुनै तामझाम नगरी मनोनयन दर्ता गरेका शाहीले आफू आम भुइँमान्छेको आवाज बन्न चुनावी मैदानमा उत्रिएको बताए। ‘जिल्लाका दीर्घकालीन समस्या मैले बाल्यकालदेखि नजिकबाट देखेको छु,’ उनले भने, ‘जितेपछि ती समस्या समाधानमा केन्द्रित हुन्छु।’तर कांग्रेसभित्रको आन्तरिक गुटबन्दी शाहीका लागि चुनौतीका रूपमा देखिएको छ। उनी गगन थापानिकट प्यानलबाट टिकट पाएका हुन्। यसअघि जिल्ला समितिले सभापति कर्णबहादुर शाही र कान्तिका सेजुवालसहित दर्जनौं नेताको नाम सिफारिस गरेको थियो।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा देउवानिकट ललितजंग शाही पराजित भएका थिए। भने कांग्रेसका बागी उम्मेदवार देवेन्द्र शाही विजयी भएका थिए। देवेन्द्र शाही हाल गगन थापाको पक्षमा खुलेका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेबाट जिल्ला अध्यक्ष शान्तिलाल महत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ज्ञानबहादुर शाहीले पनि मनोनयन दर्ता गराएका छन्।ज्ञानबहादुर शाही २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन हुँदा पनि विजयी भएका थिए। तर यसपटक उनीमाथि पार्टी परिवर्तनको चर्चा, सुर्खेतबाट उम्मेदवारी दिने रणनीतिजस्ता हल्लाले स्वार्थकेन्द्रित राजनीति गरेको आरोप लागिरहेको छ। राप्रपाभित्र आन्तरिक द्वन्द्व चुलिएको र जिल्लाका केही पुराना नेताहरू कारबाहीको सूचीमा परेको अवस्थाले पार्टी संगठन कमजोर देखिएको छ।यस्तै, नेमकिपाबाट बिर्खबहादुर रावत, नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही र नेपाल कम्युनिस्ट पार्टीबाट बिर्खबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा भक्तबहादुर रावलले पनि मनोनयन दर्ता गराएका छन्।मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार जुम्लामा एक स्वतन्त्रसहित कुल १० जनाको मनोनयन दर्ता भएको छ। ‘मनोनयन प्रक्रिया पूर्ण रूपमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ,’ उनले जानकारी दिए।






