हिउँ हराउँदा बदलिँदो जुम्ला

गाेल्डेन बुढा

जुम्ला,४ पुस।

हिउँदको चिसो जुम्लाका लागि नयाँ होइन। तर चिसो मात्रै भएर हिउँ नपर्नु भने यहाँको जीवनचक्रका लागि अस्वाभाविक हुँदै गएको छ ।जुम्लाको सिंजा गाउँपालिका–६ का ६९ वर्षीय दलविर बुढा बिहान खेततिर जानु अघि आकाश हेर्छन् । बादल देखिए राहत मिल्छ, खुला आकाश देखिँदा मन भारी हुन्छ । ‘हिउँदमा चिसो बढ्नु त सामान्य हो,’ उनी भन्छन्, ‘तर हिउँ नपर्नु भने असामान्य हो ।’माघको पहिलो सातासम्म पनि हिमपात नहुँदा उनका खेतका माटो सुक्खा छन् । जमिनमा चिरा परेका छन् । ‘ढिलोमा पुस १५ सम्म हिउँ परिसक्थ्यो,’ उनी सम्झन्छन्, ‘यसपालि पुस सकिँदा पनि हिउँ पर्ने कुनै सुरसार छैन ।’ दलविरका लागि हिउँ केवल मौसम होइन, खेतीको आधार, पानीको स्रोत र भविष्यको भरोसा हो ।स्थानीय किसान कालाे बुढाले पनि यही परिवर्तन देखिरहेका छन् । ‘पहिले पुसको तेस्रो सातासम्म दुई पटक हिउँ पर्थ्यो,’ उनी भन्छन् । यस वर्ष भने चिसो र तुसारो त बढेको छ, तर हिउँदे झरी नपर्दा जमिनले सास फेर्न पाएको छैन । ‘गहुँ, जौजस्ता हिउँदे बाली हुर्किन सकेका छैनन्,’ उनी भन्छन् । भर्खर उम्रिएका बोटबिरुवालाई हिउँले छपक्क छोपेपछि सिँचाइ हुने, बाली सप्रिने र माटो बलियो हुने पुराना अनुभव अहिले कथाजस्तै लाग्न थालेका छन् ।हिउँ नपर्दा किसानको चिन्ता केवल यस वर्षको उत्पादनसम्म सीमित छैन । उत्पादन घट्ने डर, पानीको अभाव र जमिनको उर्वराशक्ति घट्ने दीर्घकालीन भयले उनीहरूलाई सताइरहेको छ । जुम्लाको कुल क्षेत्रफलको ३१.३१ प्रतिशत अर्थात् १२ हजार ५१ हेक्टर भूभाग हिउँले ढाकिने वा बाँझो रहने क्षेत्र हो । यही हिउँ पग्लिएर बर्खामा मूल फुट्छ, खोलानालामा पानी बढ्छ र खेती टिकिरहन्छ ।कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष हालसम्म जिल्लामा हिमपात भएको छैन ।

‘हिउँ पानी पुनर्भरणको सबैभन्दा प्राकृतिक माध्यम हो,’ उनी भन्छन् । हिउँ पर्दा पानीका स्रोतमा रिचार्ज हुने, बर्खामा मूल फुट्ने र हिउँदे बालीमा सिँचाइ पुग्ने प्रक्रिया यही हो । ‘हिउँले वायुमण्डलबाट नाइट्रोजन तत्त्वसमेत ल्याउने भएकाले माटोका लागि मलजस्तै काम गर्छ,’ उनी भन्छन् । तर पछिल्ला केही वर्षयता हिमपातको नियमित चक्र बिग्रँदै गएको उनको विश्लेषण छ ।जुम्लाको कृषि संरचना आफैंमा हिउँमा निर्भर छ । जिल्लाको कुल २ लाख ५३ हजार १ सय हेक्टर क्षेत्रफलमध्ये ३८ हजार ४ सय ८६ हेक्टर मात्र खेतीयोग्य छ । ३ हजार ६ सय ५० क्षेत्रफल अर्थात १३.८१ प्रतिशत मात्रै सिंचित जमिन हो । बाँकी अधिकांश खेती असिंचित पाखोमा निर्भर छ, जहाँ हिउँ नै प्रमुख सहारा हो । हिउँ नपर्दा यी पाखाहरू सबैभन्दा पहिले असरमा पर्छन् ।परम्परागत रूपमा जुम्लामा गहुँ, जौ, मकै, कोदो, चिनो, कागुनो, धान र फापर उत्पादन हुँदै आएको छ । स्याउ र ओखरले यहाँको पहिचान बनाएका छन् । तर सिंजा गाउँपालिका–५ का किसान रतिमान बुढा भन्छन्, ‘हिउँ नपर्दा बाली मात्र होइन, फलफूलका बोट पनि जोखिममा पर्छन् ।’ उनका अनुसार स्याउ र ओखरका बोट अहिले सुषुप्त अवस्थामा छन् । ‘हिउँले डेढ–दुई महिना ढाक्दा मात्रै राम्रोसँग फल लाग्छ,’ उनी भन्छन् ।चालु आर्थिक वर्ष २०८०/०८१ मा जुम्लामा १४ हजार ५ सय ३३ हेक्टर क्षेत्रफलमा खाद्यान्न बाली खेती भएको छ । यसबाट २४ हजार २ सय ३१ मेट्रिकटन उत्पादन भएको छ ।चालु आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकअनुसार जुम्लामा १४ हजार ५ सय ३३ हेक्टर क्षेत्रफलमा खाद्यान्न बाली खेती भइरहेको छ, जसबाट २४ हजार २ सय ३१ मेट्रिकटन उत्पादन भएको छ । धान २ हजार ८ सय ९० हेक्टरमा खेती भई ५ हजार ९ सय ८७ मेट्रिकटन उत्पादन भएको छ । गहुँ २ हजार २ सय हेक्टर, मकै ४ हजार ४ सय ५० हेक्टर (१० हजार ५ सय मेट्रिकटन), कोदो २ हजार ७ सय ४० हेक्टर (३ हजार ८ सय ५० मेट्रिकटन), जौ १ हजार ९ सय ३५ हेक्टर (३ हजार ५ सय १५ मेट्रिकटन) क्षेत्रफलमा खेती हुँदै आएको छ । यस्तै चिनाे २ सय हेक्टर क्षेत्रफलमा खेतीपाती भइरहेको छ।भने,२ सय ४० मेट्रिकटन उत्पादन भएको देखिन्छ। कागुनाे १४.३ मेट्रिकटन उत्पादन भएको छ।भने,१३ हेक्टर क्षेत्रफल हेक्टर जमिनमा खेती भइरहेको छ। तर हिउँ ढिलाइ हुँदै जाँदा आगामी वर्षहरूमा उत्पादन घट्दै जाने जोखिम बढेको कृषिविद्हरूको आकलन छ । ‘हिउँ ढिला हुँदा तत्काल उत्पादन घट्छ,’ अधिकारी भन्छन्, ‘दीर्घकालमा पानीका स्रोत सुक्ने खतरा झन् ठूलो हुन्छ ।’हिमपात ढिलाइ हुनु केवल मौसमको घटना होइन ।

यसले जुम्लाको खेती, पानी, पशुपालन र जनजीवनको समग्र चक्रलाई असर गरिरहेको छ । आकाशतर्फ हेर्दै बसेका किसानहरू हिउँसँगै आफ्नो भविष्य खोजिरहेका छन् । हिउँ परे जमिन सास फेर्नेछ, मूलहरू जोगिनेछन् र खेती फेरि बाँच्नेछ । नपरे भने जुम्लाको हिउँद केवल चिसो होइन, असुरक्षित र अनिश्चित हुने किसानहरूको डर छ ।

हिउँ हराउँदा बदलिँदो जुम्ला

रास्वपाको जुम्ला उम्मेदवार विनिता कठायत

Leave a comment

Your email address will not be published. Required fields are marked *