राउटेलाई नागरिकता दिँदै गुराँस गाउँपालिका स्थायी बसोबासका लागि विशेष वडा घोषणा गरिने

दिनेश बुढा
सुर्खेत, २ माघ ।
दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई नागरिकता प्रदान गर्ने तयारी गरेको छ । पुस २९ गते सम्पन्न भएको १७ औँ गाउँ सभाको अधिवेशनमा गुराँस गाउँपालिका–८ का वडाध्यक्ष तथा सुशासन समिति संयोजक दीपेन्द्र ओलीले राउटे समुदायको हक, अधिकार र अस्तित्व सुनिश्चित गर्ने उद्देश्यसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका छन् । उक्त प्रस्ताव गाउँसभाबाट बहुमतले पारित भएको छ ।
प्रस्तावमा नेपालको संविधानको धारा ५६ को उपधारा (५) मा व्यवस्था गरिएको विशेष वा स्वायत्त क्षेत्रको अवधारणालाई आधार मानेर गुराँस गाउँपालिकाभित्र बसोबास गर्ने फिरन्ते राउटे समुदायलाई लक्षित गरी गैरभौगोलिक विशेष वडा गठन गर्ने व्यवस्था अघि सारिएको छ । जसमा विशेष वडा गुराँस गाउँपालिका–९ नम्बर वडाको रूपमा घोषणा गरिनेछ ।
त्यस्तै, राउटे समुदायलाई पहिलो पटक औपचारिक रूपमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने र मताधिकारसमेत प्रदान गर्ने स्पष्ट उल्लेख गरिएको छ । यसले राउटे समुदायलाई राज्यको मूल प्रवाहमा जोड्ने ऐतिहासिक कदमको रूपमा हेरिएको छ । त्यस्तै, राउटे समुदायको परम्परागत संस्कार, संस्कृति र जीवनशैली मासिन नदिने कुरामा विशेष जोड दिँदै फिरन्ते जीवनशैलीलाई सुरक्षित र सम्मानजनक ढंगले निरन्तरता दिनुपर्ने, साथै समुदायभित्रको आन्तरिक नेतृत्व संरचना पनि उनीहरूको परम्पराअनुसार नै रहने व्यवस्था प्रस्तावमा उल्लेख गरिएको छ ।
एकजनालाई वडाध्यक्ष (महामुखिया)को रूपमा चयन गरिने
प्रस्तावअनुसार राउटे समुदायका कलेल, राष्कोटी र स्ववंशी सन्तानबाट एक–एक जना गरी तीन जना सदस्य (उनीहरूको भाषामा मुखिया) निर्वाचित गरिनेछ । ती तीन जनामध्ये एक जनालाई वडा अध्यक्ष (महामुखिया)को रूपमा चयन गरिनेछ भने एक जना महिलालाई महिला सदस्य को रूपमा प्रतिनिधित्व गरिने व्यवस्था गरिएको छ ।
राउटे समुदायलाई राज्यको कार्यपालिका र व्यवस्थापिकामा पुर्याउने, निर्णायक सहभागिता र आत्मनिर्णयको अधिकार सुरक्षित गर्ने, राउटेको नाममा हुने गलत गतिविधि नियन्त्रण गर्ने तथा उनीहरूको संस्कार, संस्कृति, जीवनशैली र अस्तित्व जोगाउने लक्ष्य यसमा समेटिएको छ । साथै, राज्यबाट उपलब्ध गराइने शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका सेवासुविधामा उनीहरूको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्य पनि प्रस्तावमा उल्लेख गरिएको छ ।
गुराँस गाउँ सभाबाट पारित भएको उक्त प्रस्ताव प्रदेश सभा र प्रदेश सरकारमा सिफारिस गरिनेछ । त्यसपछि प्रदेश तहबाट संघीय सरकार र संघीय व्यवस्थापिकामा सिफारिस भई अन्तिम स्वीकृति लिइने व्यवस्था गरिएकोछ । संघीय तहबाट स्वीकृति प्राप्त भएपछि राउटे समुदायका नागरिकलाई नागरिकता प्रदान गरी मतदाता सूचीमा समावेश गरिनेछ ।
राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ : अध्यक्ष बिसी
गाउँपालिकका अध्यक्ष टोपबहादुर बिसीले राउटेहरुलाई पालिकाले विगतेदेखिनै सेवा–सुविधा दिँदै आएकोमा त्यसलाई थप विस्तार गरेर राज्यको मूलप्रवाहमा ल्याउनका लागि नागरिकता दिन लागिएको बताए । उनले भने, ‘राउटे समुदाय गुराँस गाउँपालिकाको स्थानीय नागरिक हुन भनेर दाबी र सेवा–सुविधा त्यहीँ अनुसारको प्रदान गरिरहँदा उनिहरु नेपाली नागरिक भएको आधिकारी कागजातहरु केही पनि छैन् । कहिलेकाँही यहाँदेखि जंगलको बाटो हिँड्दा–हिँड्दै भारत पुगेपछि त्यहाँ फर्काएर ल्यउँदा हाम्रो नागरिकहरु हुन भनेर भन्ने प्रमाण पनि छैन् । त्यसैका लागि पालिकाले यो कदम चाल्नु परेको हो ।’
साथै अध्यक्ष बिसीले राउटेका नाममा विगतदेखिनै सरकार तथा विभिन्न नामका संघ–संस्थाहरुले काम गरेपनि राउटेहरुलाई कसैले नागरिकता दिन नसकेको बताए । नागरिकता दिने प्रक्रिया अगाडी बढेको अध्यक्ष बिसीले दाबी गरे । उनले भने, ‘हामी आफुले नागकिरकता दिने सक्ने निकाय नभएकाले संघीय सरकारको सहयोग लिनुपर्ने भएकाले पुस २९ गते भएको गाउँसभाले राउटेको नागरिकता सम्बन्धित प्रस्ताव पारित गरेको छ ।’
त्यस्तै, अध्यक्ष बिसीले राउटेहरुलाई नेपाली नागरिक बनाउन र नेपाल सरकारले राउटेहरुलाई आफ्नो नागरिकहरु हुन भनेर स्वीकार गर्न तथा राउटेलाई पनि यो देशका नागरिक हौँ भन्ने बोध गराउँन यो प्रक्रिया अगाडी बढाइएको बताए ।
‘राउटेलाई यो देशले प्रदान गरेका सेवा–सुविधाहरु पाउन, नागरिकको हक अधिकारहरु र आधारभूत आवश्यकता पुरा गर्नका लागि विधिगत रुपमा नागरिकता प्रदान गर्दैछौँ ।’ अध्यक्ष बिसीले भने, ‘नेपालको लोपउन्मुख समुदाय तथा अल्पसंख्याक भएकोले राउटेका मुखियालाई जनप्रतिनिधि बनाउने कुरा प्रस्तावमा छ ।’
त्यस्तै, ८ वटा वडा रहेको गुराँस गाउँपालिकामा राउटेहरु स्थायी रुपमा बसेपछि भौगोलिक वडा थप गरी ९ बनाउने र उनिहरु नबसेको खण्डमा राजीतिक र प्रशासनिक केन्द्रको रुपमा गैरभौगोलिक विषेश वडा बनाउने अध्यक्ष बिसीको भनाई छ ।
यसअघि राउटेहरुलाई गाउँपालिकाले २०७६/०७८ मा पहिलो पटक र २०८० मा गरी दुइ पटक परिचय–पत्र प्रदान गरेको थियो । तर, अस्थायी परिचय पत्रले गणना गर्ने, जन्मदर्ताको व्यवस्थापन, चिन्ने काम मात्रै भएको तर, त्यो परिचय पत्रका आधारमा बैंक खाता पनि नखुल्ने, भत्ता वितरण लगायत अन्य सेवा सुविधा प्रदान गर्नमा समस्या भएको उनले बताए ।
आम नागरिकहरुले गर्ने हरेक कामहरुमा राउटेलाई जोडेर लैजाने र अन्य नागरिकहरु सरह राउटेलाई पनि स्वीकार गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय दैलेखलाई गाउँपालिकाले चिठी लेखेर पठाएको र थप प्रक्रियामा अगाडी बढ्ने गुराँस गाउँपालिकाले जनाएको छ । २०८४ मा हुने स्थानीय तहको निर्वाचनसम्म नागरिकता प्रदान गर्नका लागि पालिकाले पहल गरिरहेको बताए ।
नागरिकता लिन्छौँ राउटे मुखिया
राउटे समुदायका मुखिया शेरबहादुर शाहीले सेवा–सुविधा पाउँनेभएपछि राउटेले नागरिकता बोक्ने बताए । उनले भने, ‘पहिला–पहिला राउटेले केही पनि बोक्दैनँ थियो । मोबाइल पनि बोक्दैनँ, नागरिकता पनि बोक्दैन्, लेखापढी पनि गर्दैन् । सरकारले रोउटेलाइ सेवा–सुविध दिन्छ भने नागरिकता बोक्छौँ ।’
मुखिया शाहीले पछिल्लो समय विस्तारै–विस्तारै राउटेकोहरुको जीवनशैलीमा पनि परिवर्तन आउन थालेको बताए । उनले भने, ‘पहिला राउटेको चोला (राउटेको जीवनशैली) असामान्य थियो । लुगा नलगाउँदा पनि चिसो हुँदैनथियो । काठका भाडाकुँडा बनाएर खान्थ्यौँ । आजभोली त्यस्तो गर्नुपदैन् । अहिले चामल किन्नुपदैन्, भत्ता पनि आउँछ । धेरै सुविधा भएको छ ।’ हाल १३७ जनसंख्या रहेको राउटे समुदाय सुर्खेतको लेकबेशी नगरपालिकाको गंगगटेमा अस्थायी रुपमा बसोबास गरिरहेको छ ।






