जुम्ला कृषिको : बगैँचाबाटै स्याउ सुधार अभियान

गाेल्डेन बुढा
जुम्ला,२५ पुस।
जुम्लाको भूगोलमा स्याउ खेती केवल फल उत्पादनको विषय होइन, यो जुम्लीको जीवनयापन, रोजगारी र स्थानीय अर्थतन्त्रको मेरुदण्ड हो। तर विगतका वर्षहरूमा उत्पादन घट्नु, रोगको समस्या र गुणस्तर कमजोर हुनु जस्ता चुनौतीले जुम्लाको स्याउ बजारमा अपेक्षित प्रभाव पार्न सकेको थिएन। कृषि विकास कार्यालय जुम्लाले किसानको बगैँचामै पुगेर स्याउ बगैँचा व्यवस्थापन र काँटछाँटको व्यावहारिक अभ्यास सुरु गरेको छ। जसलाई कृषि क्षेत्रमा ‘गेम चेञ्जर’का रूपमा हेरिएको छ।यसअघि अधिकांश तालिम सदरमुकाम वा बाहिरी जिल्लामा सीमित हुँदा किसानले सैद्धान्तिक ज्ञान त पाउँथे, तर व्यवहारमा उतार्न सक्दैनथे। अहिले भने स्याउ फलिरहेको बगैँचामै पुगेर सिकाइ भइरहेको छ।
“बगैँचामै अभ्यास गराउँदा किसानले आफ्नो समस्या आफैं देख्छन्, समाधान पनि त्यहीँ सिक्छन्,” कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारी भन्छन्, “यसले ज्ञानलाई सीधै उत्पादनसँग जोडेको छ।”प्राविधिकहरूका अनुसार जुम्लामा उत्पादन घट्नुको मुख्य कारण स्याउका विरुवाको अव्यवस्थित वृद्धि, समयमै काँटछाँट नहुनु र रोग व्यवस्थापनमा कमजोरी हो। गलत काँटछाँटले विरुवाको शक्ति अनावश्यक हाँगामा खर्च हुने र फल लाग्ने भाग कमजोर बन्ने गर्छ। अहिलेको अभ्यासमा फल लाग्ने हाँगाको संरक्षण, हावापानी र घाम प्रवेश हुने संरचना, रोग लागेको भागको पहिचान र व्यवस्थापन सिकाइन्छ।प्रशिक्षक शिव रावत भन्छन्, “एउटा विरुवाले कसरी वर्षौंसम्म गुणस्तरीय फल दिन्छ भन्ने बुझाइ किसानमा विकास गरिँदैछ। राम्रो व्यवस्थापन भयो,भने बजार खोज्न किसानलाई हैन, व्यापारी आफैं बगैँचामा पुग्छ।”यता चन्दननाथ नगरपालिका–९, बयालकाटियाबाट सुरु भएको यो अभियान अब जिल्लाका ८ वटै स्थानीय तहमा विस्तार हुँदैछ। कृषि विकास कार्यालयले ६० वडामध्ये ३० वडामा सम्बन्धित गाउँपालिका कृषि शाखा संग समन्वय गरिपुगेर प्रत्यक्ष सीप हस्तान्तरण गर्ने योजना बनाएको छ। यसअघि स्याउ काँटछाँटसम्बन्धी तालिम सुर्खेतमा हुने भनिए पनि यसपटक जुम्लामै सञ्चालन गरिएको थियो। तालिममा १३ जना कृषि प्राविधिक सहभागी भएका थिए।यो अभ्यासले किसान र प्राविधिकबीचको दूरी घटाएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्।नगरपालिका–९ का कार्यबाहक वडा अध्यक्ष विर्ख गिरीका अनुसार, “यसअघि किसानलाई कार्यालयसम्म पुग्नुपर्थ्यो, अब सरकार नै किसानको बगैँचामा पुगेको छ। यसले किसानको आत्मविश्वास र स्याउ खेतीप्रतिको आकर्षण बढाएको छ।”स्याउमा लाग्ने रोग नियन्त्रणका लागि कृषि विकास कार्यालयले निलो तुथो र चुनाको वैज्ञानिक प्रयोगमा जोड दिएको छ। एक लिटर निलो तुथो र एक लिटर चुनामा छुट्टाछुट्टै सय–सय माना पानी मिसाएर प्रयोग गर्नुपर्ने प्राविधिक सुझाउँछन्। काँटछाँटपछि बोडोपेस्ट र बोडो मिक्सचर प्रयोग गर्न समेत किसानलाई सिकाइएको छ, जसले घाउबाट रोग प्रवेश हुन नदिने विश्वास गरिएको छ।स्थानीय किसान सम्झना गिरी भन्छिन्, “पहिला स्याउ त फल्थ्यो, तर किन सानो भयो, किन कुहियो भन्ने थाहा थिएन। अहिले २ सय भन्दा बढी विरुवाको काँटछाँट र व्यवस्थापन आफैं गर्न सक्ने भएकी छु।” उनका अनुसार सधैं प्राविधिक उपस्थित हुन नसक्ने भएकाले किसान आफैं दक्ष बन्नु नै दीर्घकालीन समाधान हो।कृषि कार्यालयका अनुसार चालु आर्थिक वर्ष जुम्लामा १७ हजार ५ सय ५८.७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियोे। यसमध्ये ५ हजार ५ सय ९१ मेट्रिक टन जिल्ला बाहिर निर्यात भई ४१ करोड २९ लाख ८९ हजार २ सय ७० रुपैयाँ आम्दानी तथ्यांकले देखाएको छ।गत आर्थिक वर्ष २०८१/०८२ मा १९ हजार ८ सय ४० मेट्रिक टन स्याउ उत्पादन भई ९ हजार ३ सय ३१ मेट्रिक टन निर्यात भएको थियो, जसबाट ६१ करोड २ लाख ४७ हजार ४ सय रुपैयाँ भित्रिएको थियो।
यस वर्ष स्याउ खेती क्षेत्रफल ४ हजार ३ सय २५ हेक्टरबाट बढेर ४ हजार ४ सय ४५ हेक्टर पुगेको छ। फल दिने क्षेत्र २ हजार हेक्टरबाट २ हजार १ सय २५ हेक्टरमा विस्तार भएको छ। स्याउ खेतीमा संलग्न घरधुरी संख्या १९ हजार १ सय २५ बाट बढेर १९ हजार १ सय ५० पुगेको छ, भने बिक्री–वितरण र व्यापारमा संलग्न किसानको संख्या पनि बढ्दै गएको कृषि कार्यालयले जनाएको छ।कृषि विकास कार्यालयका प्रमुख अधिकारी भन्छन्, “जुम्लाको आर्थिक समृद्धिको मेरुदण्ड स्याउ नै हो। तर अब मात्रा होइन, गुणस्तरमा जानुपर्छ।” बगैँचामै पुगेर सीप दिने अभ्यासले उत्पादन लागत घटाउने, गुणस्तर सुधार्ने र बजारमा जुम्ले स्याउको पहिचान बलियो बनाउने अपेक्षा गरिएको छ।जुम्लामा सुरु भएको यो अभ्यास केवल एउटा तालिम कार्यक्रम होइन, कृषि विस्तारको सोचमा आएको संरचनात्मक परिवर्तन हो। यदि यसलाई निरन्तरता दिइयो भने, जुम्लाको स्याउ खेती आत्मनिर्भर मात्र होइन, प्रतिस्पर्धी र निर्यातमुखी बन्ने सम्भावना प्रबल देखिन्छ।






