परिस्थितिले थिचे पनि नढलेकी आमा

गाेल्डेन बुढा
जुम्ला,११ पुस।
जुम्लाको सदरमुकाम खलंगा बजार-५ मा बिहान चिसो हावा चल्न थाल्नासाथ वटुक भैरवनाथ मन्दिरको टहरामा टाँगिएको पर्दा हल्लिन्छ।त्यहीँ पर्दाभित्रै नरमा सार्की दिनहुँ जुत्ताहरू मिलाउँछिन्। हरेक जुत्तासँग उनको जीवनको एउटा अध्याय जोडिएको छ। पसिना, अभाव, प्रेम र नटुटेको आत्मबल। ‘सुभाष सु–सेन्टर’ नामको यो सानो पसल आज उनको जीविकामात्र होइन, दिवंगत श्रीमान् नन्दे सार्कीको सपना बाँचिरहेको स्थान बनेको छ।“उन बितेको दिनदेखि मेरो जीवन दुई भागमा बाँडियो,” नरमा भन्छिन्, स्वर भारी बनाउँदै, “तर म कमजोर भएँ भने उनले सिकाउनुभएको सीप पनि मर्छ,भन्ने डरले म उठिरहेँ।” चार वर्ष पाँच महिना अघि कोरोना संक्रमणका कारण नन्दे सार्कीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचारकै क्रममा निधन भयो।

त्यसपछि नरमाले एक्लै पाँच जनाको परिवार सम्हाल्ने कठोर यात्रा सुरु गरिन्।२०५९ सालदेखि सुरु भएको जुत्ता व्यापार आज २५ वर्ष पूरा गरिसकेको छ। सुरुमा श्रीमान्-श्रीमती सँगै पसल खोल्थे, जुत्ता बनाउँथे, ग्राहक कुरिन्थे। आज त्यो साथ सम्झनामा सीमित छ। तर पसल बन्द भएको छैन। “यो पसल बन्द गर्नु भनेको उनको नाम, उनको श्रम र उहाँको सपना बन्द गर्नु जस्तै हुन्थ्यो,” नरमा भन्छिन्।पसलमा छाला जुत्ता, जेन्स र लेडिज दुवै आइटम छन्। जेन्स जुत्ता २ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म र लेडिज जुत्ता १ हजार ८ सयदेखि २ हजार ८ सय रुपैयाँसम्म पर्छ। फागुनदेखि मंसिरसम्म व्यापार राम्रो चल्छ। पुस र माघमा भने बिक्री ठप्पजस्तै हुन्छ। यति हुँदाहुँदै पनि उनले हार मानेकी छैनन्।सिजनमा मासिक ६० हजारदेखि १ लाख रुपैयाँसम्म आम्दानी हुन्छ। पसल भाडा ७ हजार २ सय ६० रुपैयाँ, बस्ने कोठाको भाडा ५ हजार रुपैयाँ, खाना र अन्य खर्च कटाएर मासिक करिब ८० हजार रुपैयाँ बचत हुन्छ। वार्षिक हिसाबले ९ लाख ६० हजार रुपैयाँ। “यो रकमभन्दा ठूलो कुरा आत्मसम्मान हो,” उनी भन्छिन्।
जुत्ता बनाउने सीप अहिले देवर पूर्ण सार्कीले सम्हालिरहेका छन्। “उनलाई पारिश्रमिक दिन्छु,” नरमा भन्छिन्,अर्डर अनुसार पनि बनाइन्छ।“यो व्यवसाय मुनाफाको मात्र होइन, परम्परा जोगाउने जिम्मेवारी हो।” दैलेखको भगवती गाउँपालिका-४, गाउँकट्टी पुर्ख्यौली घर भए पनि जुम्ला उनको कर्मभूमि बनेको छ।नरमा चार सन्तानकी आमा हुन्।दुई छोरी र दुई छोरा। सबै स्नातक तहमा अध्ययनरत छन् र लोकसेवाको तयारीमा जुटिरहेका छन्। “बाबु नहुँदा पनि पढाइ रोक्न दिइनँ,” उनी दृढताका साथ भन्छिन्, “म थाक्न सक्छु, तर मेरा छोराछोरीको सपना थाक्न दिँदिनँ।”साँझ पर्दा पसल बन्द गर्छिन्। ताला लगाउँदा क्षणभर रोकिन्छिन्। “कहिलेकाहीँ उहाँ यही कतै हुनुहुन्छ, जस्तो लाग्छ,” नरमा मुस्कुराउँदै भन्छिन्, आँखाभरि आँसु लिएर। जुत्ताका टाँकामा श्रीमानकाे स्पर्श देख्छिन्, पसलका भित्तामा उनको हाँसो सुन्छिन्।नरमा सार्कीको जीवन संघर्ष जुम्लाको एउटा साधारण बजारमा सीमित छैन। यो, विपत्तिपछि पनि नझुक्ने महिलाको, सीप र श्रमलाई आत्मसम्मानसँग बाँधेर अघि बढ्ने साहस हो ।खलंगा बजारको त्यो सानो पसल आज पनि मौन रूपमा भनिरहेछ। परिस्थितिले मानिसलाई लडाउँछ, तर इच्छाशक्तिले उठाउँछ।
क्याप्सन: नरमाकाे जुत्ता पसल तस्बिर ÷गाेल्डेन बुढा जुम्ला !






