सिमीले तिर्खु गाउँ समृद्धितर्फ

गोल्डेन बुढा
जुम्ला,२ मंसिर ।
जुम्लाको पातारासी गाउँपालिका–४, तिर्खुका किसान सुनकली बोहोरा वर्षौंदेखि सिमी उत्पादन गरेर घर खर्च धानाउँदै आएकी छन्। कुनै बेला घरमै उत्पादन गरेको सिमी बोकेर सदरमुकाम खलंगासम्म पुर्याउन उनलाई झन्डै दुई घण्टा लाग्थ्यो। यात्रामात्रैमा पाँच सय रुपैयाँ खर्चिनुपर्ने बाध्यता थियो। तर, यस वर्ष गाउँमै व्यापारी पुगेर सिमी खरिद गर्न थालेपछि स्थानीय किसानको मुहारमा खुसी छाउन थालेको छ।“यो वर्ष गाउँमै सिमी बेच्न पायौँ, हामीले भनेको मूल्य पनि पायौँ,” सुनकली भन्छिन्। मंगलबार मात्रै उनले २० हजार ८ सय रुपैयाँ नगद पाएकी छन्। प्रति किलो २ सय रुपैयाँका दरले बिक्री गरेकी उनी वर्षेनी करिब ७ क्विन्टल सिमी उत्पादन गर्छिन्। गत वर्ष ३ क्विन्टल मात्रै बेच्न सकेकी सुनकली घरमै बसेर करिब ६० हजार रुपैयाँ कमाउन सकेको बताउँछिन्। उनका अनुसार उनी हरेक वर्ष करिब ३० हजार रुपैयाँभन्दा बढी आम्दानी सिमीबाट नै गर्छिन्। यस्तै तिर्खुका अन्य किसान पनि यतिबेला सिमी बिक्रीबाट उत्साहित छन्।
नुनकली बोहोराले यस वर्ष २ क्विन्टल ३० किलो सिमी बेचेर ४६ हजार रुपैयाँ आर्जन गरिन्। गत वर्ष उनले ७५ हजार रुपैयाँ र अघिल्लो वर्ष ८५ हजार रुपैयाँ कमाएकी थिइन्। त्यस्तै जुनपुरा बोहोराले ६३ किलो सिमी बिक्री गरी १५ हजार ४ सय रुपैयाँ हात पारिन्। गत वर्ष उनले करिब ३५ हजार रुपैयाँको सिमी बेचेकी थिइन्। उनी करिब ४ क्विन्टल सिमी उत्पादन गर्छिन्।किसानका अनुसार घरायसी दाल–चामल, तेल, नुन, लुगाफाटो, बालबालिकाको कापीकलम, विद्यालय पोसाक, ट्युसनदेखि बजारमा पढ्ने छोराछोरीको कोठा भाडासम्मको खर्च यही सिमी बिक्रीबाट नै धानिन्छ। पहिले उत्पादन गरे पनि जथाभावी बिक्री हुने गरेको बताउने उनीहरू पछिल्लो समय गुणस्तर र बजार व्यवस्थापनमा सीप विकास भएपछि सिमी खेती ‘उद्यम पात्रो’ बन्दै गएको बताउँछन्।
“गुणस्तरिय सिमी उत्पादन गर्न सके बजार खोज्न टाढा जानु पर्दोरहेनछ,” सुनकली बताउँछिन्। अहिले गाउँमै प्रतिकिलो २ सय रुपैयाँमा सिमी किनबेच हुन्छ। केही वर्षअघि किसानहरू चामलसँग सिमी साटेर खान बाध्य थिए। तर अहिले भने गाउँमै एकै स्थानमा संकलन गरेर बिक्री गर्न मिल्ने भएकाले व्यापारीलाई पनि सहज भएको किसानको अनुभव छ।स्थानीयका अनुसार पछिल्ला वर्षमा सिमी खेतीले तिर्खु तथा आसपासका गाउँहरूको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएको छ। सिमी अहिले यहाँको मुख्य आम्दानी स्रोत बनेको छ।
किसानहरू भन्छन्, “पहिले सिमी लगाउँथ्यौँ, अहिले सिमी व्यवसाय गर्न सिक्यौँ।”कृषि विकास कार्यालय, जुम्लाका रामभक्त अधिकारी अनुसार आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा २ हजार २ सय हेक्टर क्षेत्रमा सिमी खेती गरिएको थियो। सो वर्ष ३ हजार ९ सय ६० मेट्रिक टन उत्पादन भएको छ। उत्पादकत्व १.८ मेट्रिक टन प्रतिहेक्टर रहेको छ।आर्थिक वर्ष २०८१/०८२ मा खेती क्षेत्र २ हजार २ सय ५० हेक्टर पुगेको छ। यस वर्ष ४ हजार २ सय ६० मेट्रिक टन सिमी उत्पादन भएको छ। उत्पादकत्व १.८९ मेट्रिक टन प्रतिहेक्टर पुगेको कृषि कार्यालय जुम्लाले जनाएको छ।सिमी खेती प्रभावकारी रूपमा विस्तार हुँदै जाँदा जुम्लाका किसान आर्थिक रूपमा सुदृढ बन्दै गएका छन्। अहिले तिर्खु आसपासका गाउँमा सिमी खेती न केवल परम्परागत अभ्यास, बरु जीवनस्तर सुधार गर्ने प्रमुख आधारका रुपमा स्थापित हुँदै गएको छ।





