चोत्रागाउँको माथिल्लो भागमा लुकेको एक अनाैठाे सौन्दर्य दुधकुण्ड

कालिबहादुर परियार
जुम्ला ,२ मंसिर।
चोत्रागाउँको माथिल्लो भागमा लुकेको एक अनाैठाे सौन्दर्य दुधकुण्ड हालका वर्षहरूमा जुम्लाको पहाडी पर्यटनको नयाँ परिचय बन्दै गएको छ । समुद्री सतहदेखि करिब ४४ सय मिटर उचाइमा अवस्थित यो ताल पहुँच कठिन भए पनि त्यहाँ पुग्ने जो कोहीलाई अनुपम दृश्यले स्वागत गर्छ। एउटा क्षणका लागि मनैमा लाग्छ । यत्तिकैमा स्वर्ग यही कतै हो कि ?
दुधकुण्डको प्राकृतिक बनावट आफैमा अनौठो छ । वरपेटिका पहाडहरू निकै नजिक र उकालो परेको क्षेत्र । तर उकालो चढ्दै जाँदा अचानक देखिने तालको आकारले यात्रा झन् रोचक बनाइदिन्छ ।
स्थानीयले गरुड पंक्षीले प्वाँख फैलाएको आकृति भन्नु कुनै अतिशयोक्ति होइन । माथिबाट हेर्दा तालको फैलावट र वरपरका हिउँ–ढुंगाका आकृतिले साँच्चै उड्न आतुर गरुडको स्मरण गराउँछ । यही विशेषताले दुधकुण्ड जलस्रोत मात्रै होइन, सांस्कृतिक प्रतीकका रूपमा पनि चिनिन थालेको छ ।
दुधकुण्ड ताल लाई अर्काे नाम गरूडनानी नामले पनि चनिन्नछ । देबिदेवता तानाबाना लाई सबै पालि मिलेर अर्थात भारा नुहाउने भनी जाने गरिन्छ । गरूडले सिनाे खाई सके पछि तालमा आएर नुहाउनेे गरेकाले याेे ताललाई गरूड तालले चिन्न सकिने स्थानिय बुढापाखाले जनाएका छन् ।
अर्काे धार्मिक बिश्वास अनुसार आमा नभएका छाेराले आमाकाे सम्झनामा याे ताल सम्म पुजा गर्न आउने भएकाले याे ताल लाई दुधकुुण्डली ताल पनि भन्ने गरिएको छ । सबै भन्दा बढी श्रमण पुर्णिामाकाे दिनमा सबै भक्तजनको बाक्लो उपस्थित रहने गरेकाे छ ।
साउन पूर्णिमाको गाथा : परम्पराले बाँधेको आस्था :
चोत्रागाउँ बाट दुधकुण्ड पुग्न पाँच घण्टा भन्दा बढी पैदल लाग्छ। बीच बीचमा चट्टानी बाटो, खाल्सी, उकालो, जति कठोर त्यति नै मोहक । गाउँलेहरूका लागि यो मार्ग आस्था र परम्परा सँग गाँसिएको छ ।
विशेष गरी साउन पूर्णिमामा दुधकुण्ड पुगेका तीर्थालुहरू स्नान गरी गाथ चोख्याउने गर्छन् । उनीहरूका विश्वासमा यहाँको शीतल पानीले मन, तन र पाप सबैलाई पखालिदिन्छ । त्यही दिन दुधकुण्ड आसपास भीडभाड र रौनक नै छुट्टै देखिन्छ।
स्थानीय बृद्ध रामबहादुर रोकाय भन्छन्, हामी साना हुँदा नै बुबा आमा सँग दुधकुण्ड चढ्थ्यौ । गाथ चोख्याउने बिहानको क्षण कहिल्यै भुलिन्नद। ताल छेउ पुग्दा शरीर थाकेको भए पनि मनमा अद्भुत शक्ति आउँथ्यो ।
दुधकुण्डलाई घेरा जस्तै गर्ने कडा चट्टान, राजनीति छुने हिम शृंखला र निलो आकासको संयोजनले धार्मिक यात्रालाई सौन्दर्ययात्रामा रूपान्तरण गरेकाे छ ।
दुधकुण्ड पुग्ने बाटो आंशिक रूपमा मात्रै सुधारिएको छ। कतै ढुंगामय खतरा, कतै साँघुरो पैदलमार्ग । तर तिनै चुनौती पार गर्दै माथि निस्कँदा भेटिने दृश्यले थकानको उपहार जस्तै लाग्छ । हिउँले छोपिएका ठूला ठूला ढुंगा माथि सूर्य किरण परेर चम्किएको दृश्य मनैमा बस्छ । पर्यटकहरू पनि यस्तै कारणले यो गन्तव्य कठिन भए पनि अविस्मरणीय रहेको बताउने गरेका छन् ।
जुम्ला चन्दननाथ–७ का आन्तरिक पर्यटक नृपेन्द्र महत भन्छन्, दुधकुण्ड पुगेर वरपर हेर्दा लाग्थ्यो, स्वर्ग छिचोलेर यहाँ आएछु । उनले भने, थकान एकै क्षणमा हरायो । तर पदमार्ग राम्रो भएको भए यात्रा झन् सहज र रमाइलो हुने थियो ।
पहिला दुधकुण्डकाेे यात्रा तय गर्न जति रमाइलो लागेकाे थियाे । त्यति ताल सम्म पुग्न पनि कठिन लाग्याे । ३/५ घण्टाकाे कठिन यात्रा पछि दुधकुण्ड ताल पुग्दा चाँदी जस्तै टल्कने सेता हिउँले ढाकिएका हिमाल, आकाश जस्तो निलाे रङ्गको ताल देख्दा त स्वर्ग खाेज्न कतै जान पर्दैन जस्ताे लाग्याे ।
यस्तै अर्का आन्तरिक पर्यटक सृजना महतका अनुसार, जति रमाइलो छ त्यति नै यात्रा कठिन छ । उनले भनिन् स्थानीय सरकारले गरेकाे प्रयास निकै सराहनीय छ । तर अझ याे ताल सम्म पुग्न चाहने यात्रुका लागि राेड म्याप बनाइ दिने हाे भने यात्रा गर्न सहज हुने उनकाे भनाइ छ ।
आकासे ताल : दुधकुण्ड कै छेउमा अर्को रत्न :
दुधकुण्ड बाट पश्चिमतर्फ करिब एक घण्टा हिँड्दा अर्को आकर्षक मनारम दृश्य आकासे ताल पुगिन्छ । नाम जस्तै वर बाट हेर्दा आकाशै टिपेर राखे जस्तो देखिने यो ताल पर्यटकलाई अर्को मोहित बनाउने थलो बनेको छ । दुवै ताल एकै दिनमा घुम्न सकिने भएकाले यो क्षेत्र संयुक्त पर्यटन गन्तव्य बन्न सक्ने क्षमता बोकेको छ ।
तर समस्या के छ भने दुधकुण्ड र आकासे ताल बीचको बाटो स्पष्ट छैन । गुठिचाैर -१ का वडाध्यक्ष अर्जुनकुमार महतारा भन्छन्, बर्षै देखि धेरै पर्यटक बाटो भट्किन्छन् । पदमार्ग विस्तार र सुरक्षा संकेत नहुँदा यात्रा जोखिमपूर्ण बन्दै आएको छ । बजेट अभावले काम अघि बढ्न नसकेको हाे ।
वडा अध्यक्ष महताराले भने, हामी हाम्रो सान र मान लाई उचाे बनाउनका लागि स्थानीय सरकार देखि संघ र प्रदेश सरकार सँग समन्वय र सहकार्य गरि छाै । याे तालकाे बिकास गर्न र आन्तरिक तथा बाह्य पर्यटककाे संख्या बढाउन दिन रात नभनी काम गरि रहेकाे बताए ।
वडा अध्यक्ष महताराका अनुसार, आकासे ताल बिकासका लागि आकासेलताल महाेत्सव लगाउने तयारी रहेकाे बताए । उनले भने, याे महाेत्सवले स्थानीय उत्पादन देखि कृषि, जडिबुटी आफ्नो रहनसहन र परम्परा लाई चिनाउने माैका मिल्ने बताए ।
होमस्टे र पर्यटन योजना : अब विकासको पर्खाइ
चोत्रा गाउँमा होमस्टे सञ्चालनको पनि राम्रो व्यवस्था छ । स्थानीय सरकारले पर्यटकलाई सुरक्षित आवास, खाना, सांस्कृतिक अनुभव र गाइड सेवा उपलब्ध गराउने लक्ष्यका साथ हाेमस्टे संचालनमा ल्याएको छ । होमस्टे सञ्चालन भए देखि दुधकुण्ड आकासे ताल क्षेत्रमा पर्यटन गतिविधि बढ्दाे रहककाे छ ।
गुठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढा भन्छिन्, कात्तिक २७ गते सम्भाव्यता अवलोकन पूरा गरेका छौँ । पदमार्ग सुधार, सूचना क्याबिन, विश्राम स्थल र फोटो भ्युएर प्लेटफर्म जस्ता संरचनाहरू विस्तार भएमा यहाँको पर्यटन एकदमै फस्टाउने छ । दुधकुण्ड र आकासे ताल दुवैलाई उच्च पहाडी यात्राको ब्रान्डमा जोड्न सकिने बुढाकाे भनाइ छ ।
उनका अनुसार अहिले आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ। सामाजिक सञ्जालमा दुधकुण्ड र आकासे तालका तस्बिरहरू भाइरल भइरहेका छन् । अर्को वर्षसम्म सबै संरचना तयार भयो भने पर्यटक आवागमनमा ठूलो वृद्धि हुने प्रमुख प्रशासकीय अधिकृत बुढाकाे भनाइ छ ।
पछिल्लो समयमा रारा भन्दा पनि जुम्लाका पर्यटकले आकासे ताल र दुधकुण्ड ताल लाई राेजाइमा पारेका छन् । यस्ता संरचना लाई बिकास गर्न स्थानीय सरकारकाे सँधै साथ रहने उनकाे भनाइ छ ।
चार महिनाको सुन्दरता : यात्राको उत्तम मौसम
भदौको अन्त्य देखि कात्तिक १५ सम्म दुधकुण्ड र आकासे ताल घुम्न सबैभन्दा उपयुक्त समय मानिन्छ । यो समयमा हिमपात हुँदैन, आकाश सफा रहन्छ, र तालको पानी पारदर्शी देखिन्छ ।
वरपरका चीर सल्ला जंगल, चाैरी गाई, घाेडा खच्चड चरिरहेका हरिया ढिस्काहरू र टाढा बाट देखिने हिमशृंखलाले यात्रालाई प्राकृतिक चलचित्र जस्तै बनाइदिन्छ । यही मौसममा गाउँलेहरू पर्यटन सेवा सञ्चालन, होमस्टे व्यवस्थापन र गाइड तालिममा पनि सक्रिय देखिन्छन् ।
दुधकुण्ड : अनमोल सम्भावना बोकेको पहाडी स्वर्ग
यात्रा कठिन छ। बाटो अप्ठ्यारो छ। संरचना अझै अधूरै छ। तर दुधकुण्डको आकर्षण यी सबैभन्दा बलियो छ । अद्वितीय प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जुम्लाली पहाडको मौलिकता ।
एकपटक माथिल्लो किनारको ढुंगामा बसेर दुधकुण्डको निलो सतह हेर्ने जो भने कोहीलाई अनुभव हुन्छ कि यात्रा कठिन भए पनि गन्तव्यले सब थोक अर्थ राख्छ ।
दुधकुण्ड र आकासे ताल क्षेत्र अहिले विकासको पर्खाइमा छ । स्थानीय सरकार, समुदाय र पर्यटन व्यवसायी बीच सहकार्य भए यस क्षेत्र कर्णाली प्रदेशकै सबैभन्दा मनमोहक हिल ट्रेकिङ पदमार्ग बन्न सक्ने सम्भावना निकै ठूलो रहेकाे छ।
सयौं वर्षदेखि मौन बसेको दुधकुण्ड अहिले बोल्न थाले पछि स्थानीय मात्र नभएर जुम्लाका हरेक नागरिक हास्न थालेका छन् ।





