“सुईयाेले सिउँदै,जिन्दगी”

गोल्डेन बुढा
जुम्ला,२६ कार्तिक ।
जनयुद्धको आगो ओइलिँदै गर्दा एउटा गोलीले मोतिलाल रोकायाको दायाँ खुट्टा छेड्यो। शरीर थला पर्यो, हिम्मत छैन भनेर धेरैले भने। तर उनले आफूलाई हारेका ठानेनन्।“गोलीले शरीरमा घाउ पार्यो, तर मनमा होइन,” उनी अहिले पनि मुस्कुराउँदै भन्छन्, “त्यो घाउले नै मलाई आत्मनिर्भर बन्न सिकायो।”जुम्लाको दुर्गममा तिला गाउँपालिका–७ घोडेपाख्री गाउँका रोकाया युद्धपछि घर फर्किए, तर पहिलेझैँ खेत–बारीमा काम गर्न सक्ने शक्ति थिएन। दायाँ खुट्टाको घुँडामुनि रहेको घाउ अझै पुरै निको छैन। भारी वोक्न सक्दैनन्, खेत जोत्न सक्दैनन्।“परिवार छ, सन्तान छन्, जिम्मेवारी पनि त्यत्तिकै,” उनी भन्छन्, “कसरी बाँच्ने भन्ने प्रश्नले निद्रा हरायो।”तर, यही कठिनाइमा उनले आफ्नो अर्को बाटो खोजे शिपको।१४ वर्षअघि अपांग पुनस्र्थापन तथा विकास केन्द्र (PRDC) ले गठन गरेको अपांगता भएका व्यक्तिहरूको समूहमा उनी सहभागी भए। समूहका छलफलमा उनले आफ्ना पीडा र चाहना व्यक्त गरे— “म काम गर्न चाहन्छु, म शिप सिक्न चाहन्छु।”त्यसपछि केन्द्रले आईएनएफ जुम्ला र एबिलिज फाउन्डेसन सँग सहकार्य गर्दै उनलाई सिलाई–कटाई तालिम दिलायो। तालिमपछि ८० प्रतिशत सहयोगमा एउटा मेशिन पनि पाउने अवसर मिल्यो।अब, बिहानैदेखि उनको घरभित्र मेशिनको आवाज सुनिन्छ।सुइ–धागो चल्छ, कपडा सिउँछ र साथमा चल्छ आत्मविश्वासको ताल।
विद्यालयका पोशाकदेखि चोलो, पेटिकोट, सर्ट–पाइन्टसम्म सबै उनले गाउँमै सिउँछन्।“विद्यालय खुल्ने बेला र पर्व–जात्रामा त कामको चाप धेरै हुन्छ,” उनी भन्छन्, “कहिलेकाहीँ भ्याउँदैनथें।”त्यो सानो मेशिनकै कमाइबाट अहिले उनको परिवार चलेको छ। छ जना सन्तानको पढाइ–लेखाइ, घरखर्च, सबै यही सुइ–धागोको भरमा।“मशिनमै मेरो भविष्य छ,” उनी भन्छन्, “यहीले मेरो छोरीहरूलाई पढ्न सहयोग गरेको छ।”तर त्यो मेशिन अहिले पुरानो भइसकेको छ।१२ वर्षअघि पाएको मेशिनले कहिलेकाहीँ समस्या दिन थालिसकेको छ।“गाउँमा अब बिजुली पुगेको छ, बिजुलीबाट चल्ने नयाँ मेशिन भए काम अझ सजिलो हुन्थ्यो,” उनी भन्छन्, “तर आम्दानी परिवारकै खर्चमा पुग्ने भएकाले नयाँ किन्ने साहस छैन।”स्थानीय सरकार वा सहयोगी संस्थाले नयाँ मेशिनका लागि साथ देओस् भन्ने आशा उनी राख्छन्।अपांग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपाने भन्छन्, “मोतिलालजस्ता व्यक्ति समाजका लागि प्रेरणा हुन्। अपांगता कमजोरी होइन, क्षमताको अर्को रूप हो।”यता तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले पनि गर्व व्यक्त गरे।“जनयुद्धमा गोली खाएर अपांगता भएका व्यक्ति अहिले शिपको भरमा आत्मनिर्भर जीवन बाँचिरहेका छन्।
उहाँजस्ता उदाहरणले गाउँका अरूलाई पनि हिम्मत दिन्छ।”मोतिलाल अब केवल आफूका लागि मात्र होइन, अरूका लागि पनि प्रेरणा बन्न चाहन्छन्।“शिप सिक्न सकियो भने जीवन बदलिन्छ,” उनी भन्छन्, “म अहिले शान्ति कालमा पनि आफ्नै युद्ध जित्दैछु।”गोलीले उनको शरीरमा घाउ पार्यो, तर सुइ–धागोले उनको जीवन सिउन सिकायो।मोतिलाल रोकायाको कथा केवल संघर्षको होइन—आत्मनिर्भरताको विजय गाथा पनि हो।





