रैथाने उत्पादन अब बजारसम्म

गोल्डेन बुढा

जुम्ला २३, कार्तिक ।

जुम्लाका खेतबारीमा उब्जिएका रैथाने बालीहरू अब घरका भकारीमा थन्किने होइनन्, बजारमा चम्किन थालेका छन्। चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले सुरु गरेको अर्गानिक मिनिमार्केट ले गाउँ–गाउँका कृषकको पसिनालाई नगदमै रूपान्तरण गर्दै जुम्लामा आत्मनिर्भर कृषिको नयाँ इतिहास लेख्न थालेको छ।२०७४ साल फागुनमा स्थापना भएको मिनिमार्केट अहिले जुम्लाको आर्थिक केन्द्रका रूपमा विकसित हुँदैछ। यहाँ सिमी, ओखर, मार्सी चामल, स्याउका चाना, जिम्बू, टिमुर, चिनो, गहत, जौ, फापर, कोदो, कागुनोदेखि अर्गानिक चियासम्मका स्थानीय उत्पादनहरू एउटै छानामुनि सजिएका छन्। यसले किसानका उत्पादनलाई बजार र उपभोक्तासम्म जोडिदिँदा दुबै पक्ष लाभान्वित भएका छन्।

सहकारीकी अध्यक्ष विष्णु बुढा भन्छिन्, “पहिले उत्पादन भए पनि बजार नहुँदा घरमै कुहिन्थ्यो। अहिले भने सहकारीले बजार सुनिश्चित गरेपछि किसानको मेहनतको उचित मूल्य पाइरहेका छौं। आत्मविश्वास बढेको छ, कृषि अब जीवनधारा बनेको छ।”११ करोड रुपैयाँभन्दा बढी कारोबार गरिसकेको सहकारीको मिनिमार्केटमा दैनिक ६० हजारदेखि १ लाख रुपैयाँसम्मको कारोबार हुन्छ। म्यानेजर राजु बोहराका अनुसार, सहकारीको मुख्य लक्ष्य बाँझो जमिनलाई उत्पादनशील बनाउँदै गाउँमा रोजगार सिर्जना गर्नु हो। “अब गाउँका धेरै परिवार पुनः कृषिमै फर्किँदै छन्,” उनी भन्छन्।पातारासी गाउँपालिका–४ की लग्नुमाया बोहरा विगत सम्झिँदै भन्छिन्, “पहिले बजार घुम्दा पनि बाली बिक्रि हुँदैनथ्यो। अहिले सहकारीमा ल्याए पुग्छ, नगद लिएर फर्किन्छौं।” रामपुराकी कृषक रामपुरा बोहराले थपिन्, “कागुनो, फापर, कोदो र चिनो जस्ता रैथाने बाली अहिले ल्याए जति पनि बिक्री हुन्छ।”२०६४ सालमै जुम्ला “अर्गानिक जिल्ला” घोषणा भए पनि किसानले त्यसको प्रत्यक्ष लाभ पछिल्ला वर्षमै अनुभव गर्न थालेका छन्। सहकारीले उत्पादन, प्याकेजिङ, लेबलिङ र प्रचारप्रसारलाई व्यवस्थित ढंगले अघि बढाएपछि जुम्लाको अर्गानिक पहिचान बजारमा बलियो बनेको छ।

स्थानीय उत्पादन अहिले पर्यटक र शहरवासीका लागि “कोशेली” बनेको छ। यही अवसरलाई उपयोग गर्दै सहकारीले सुर्खेत र काठमाडौंमा शाखा विस्तार गरेको छ, जसले जुम्लाका उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍याएको छ।यता कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम अधिकारी भन्छन्, “कोदो जस्ता पोषिलो र औषधीय बालीको उत्पादन बढाउन सहकारीको पहल देशकै लागि उदाहरणीय हो।” उनका अनुसार जिल्लाका ३८ हजार ४ सय ८६ हेक्टर खेतीयोग्य जमिनमध्ये अझै झण्डै १२ हजार हेक्टर बाँझो छ।कार्यालयका तथ्यांकअनुसार हाल जुम्लामा कोदो २,७४० हेक्टरमा ३,८५० मेट्रिक टन, धान २,८९० हेक्टरमा ५,९८७ मेट्रिक टन, फापर ९५ हेक्टरमा ११० मेट्रिक टन, चिनो २०० हेक्टरमा २४० मेट्रिक टन र कागुनो १३ हेक्टरमा १४.३ मेट्रिक टन उत्पादन भइरहेको छ।

कृषि विज्ञहरूको मूल्याङ्कनमा सहकारीको यो अभियानले रैथाने बालीको संरक्षणसँगै युवालाई कृषितर्फ आकर्षित गरेको छ। महिलाको सहभागिता र आम्दानी दुवै बढेका छन्।जुम्लाको अर्गानिक मिनिमार्केट अहिले केवल पसल होइन, गाउँको आत्मनिर्भरता, पहिचान र सम्भावनाको प्रतीक बनेको छ।जहाँ माटोको गन्ध अब नगदको सुगन्धमा रूपान्तरण हुँदैछ।

रैथाने उत्पादन अब बजारसम्म

एमयूलाई सामाजिक मन्त्रालयको ४ करोड अनुदान

रैथाने उत्पादन अब बजारसम्म

धान उत्पादन बढे पनि कोटा सीमित भएपछि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds