वाम राजनीतिमा नयाँ युगको प्रारम्भ : नेता नरेश भण्डारी

गाेल्डेन बुढा
जुम्ला,१५ कार्तिक ।
नेपाली वामपन्थी राजनीतिमा फेरि एकपटक ऐतिहासिक एकताको संकेत देखिन थालेको छ। नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री नरेश भण्डारी लेख्छन् नेपाली वाम आन्दोलन “नयाँ चरण” मा प्रवेश गर्न लागेको छ।भण्डारीका अनुसार, लामो समयदेखि विभाजन र अस्थिरताबाट ग्रस्त वाम धार अहिले पुनः एकताको बाटोमा उभिएको छ। उनले भने,“समयले नेपाली कम्युनिष्टहरूबाट अब एकताबद्ध र रूपान्तरित भूमिकाको खोजी गरिरहेको छ। यो वाम पुनर्जागरणको प्रारम्भ हो।”उनले हाल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र समाजवादी पार्टीबीच भइरहेको एकता पहललाई ऐतिहासिक अवसरको रूपमा व्याख्या गर्दै,“प्रचण्डको नेतृत्वमा सुरु गरिएको वाम ध्रुवीकरण देशको राजनीतिक दिशालाई स्थायित्व र आशाको नयाँ आधार दिनेछ,”भनेका छन्।भण्डारीले आगामी दस दिनलाई नेपाली वामपन्थी राजनीतिका लागि निर्णायक समय ठहर गर्दै भने,“अबका केही दिन वाम आन्दोलनका लागि विशेष महत्वका हुनेछन्।
आधा दर्जनभन्दा बढी वाम समूहहरूबीचको ध्रुवीकरण ऐतिहासिक कोसेढुंगा सावित हुनेछ।”एकीकृत समाजवादीको केन्द्रीय समितिले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरिसकेको छ। त्यस्तै, समाजवादी पार्टीका नेता महेन्द्र राय यादव समेत यस प्रक्रियामा सहभागी हुने भएका छन्। यद्यपि नेता झलनाथ खनाल नेतृत्वको समूह भने नयाँ पार्टी गठनतर्फ उन्मुख भएको छ।कर्णाली प्रदेश वाम एकताको केन्द्र बन्न सक्ने संकेत भण्डारीले गरेका छन्।
उनका अनुसार,सल्यानका उपाध्यक्ष तथा पूर्वमन्त्री प्रकाश ज्वाला, डोल्पाका सांसद धनबहादुर बुढा, र कालिकोटका वरिष्ठ नेता प्रेमबहादुर सिंह एकताको पक्षमा उभिएका छन्।जुम्लामा समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पदमबहादुर रोकायाले समेत स्पष्ट रूपमा भने,“हामी सबै एकताको पक्षमा छौं। यो वाम धारलाई बलियो बनाउने मात्र होइन, कर्णालीको राजनीतिक सन्तुलन परिवर्तन गर्ने कदम हो।”उनका साथमा जिल्लाध्यक्ष राजबहादुर खत्री, पूर्व जिविस सभापति तिर्थ वुढा, केन्द्रीय सदस्यहरू कमल खत्री, शान्ति मल्ल भण्डारी र हिमालय खत्री समेत एकता अभियानमा सक्रिय रहेका छन्।वाम राजनीतिसँगै भण्डारी विकासका पक्षधर भिजनरी नेताका रूपमा पनि चिनिन्छन्।नेकपा माओवादी केन्द्र बुद्धिजीवी संगठनका पूर्वअध्यक्ष रहेका उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रारम्भिक परिकल्पनाकार र पहल समितिका संयोजक हुन्। भण्डारीले भने,“वाम एकता केवल राजनीतिक सहकार्य होइन, यो जनताको भरोसा पुनःस्थापना गर्ने राष्ट्रिय आवश्यकता हो। अबको वाम आन्दोलन देश निर्माणको नयाँ अध्याय हुनेछ।”





