सम्पादकीय : सडक सुरक्षामा खेलाँची नगर !
७ कार्तिक अर्थात तिहारको भोलिपल्ट रुकुम पश्चिममा एक अप्रिय घटना घट्यो । तिहारकोे रौनककै बिच जिल्लाको बाँफिकोट गाउँपालिका–७, झारमारे नजिक बुराउसेनी भन्ने स्थानमा जीप दुर्घटनामा पर्यो । जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको उक्त जीप दुर्घटनामा परेपछि आठ जनाले मृत्युवरण गरे । चाडपर्वको रौनक चलेका बेला भएको उक्त दुर्घटनामा परी १० जना सामान्यदेखि गम्भीर घाइते हुन बाध्य बने । क्षमताभन्दा तेब्बर यात्रु बोकेर हिँडेको उक्त जीप भारवहन गर्न नसकेर सडकभन्दा झण्डै सात सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । दुर्घटनामा परी सात जनाले घटनास्थलमै र एक जनाले उपचारका क्रममा ज्यान गुमाएपछि सिङ्गो जिल्ला नै सोकमा डुबेको थियो । यो प्रतिनिधिमुलक घटना हो । जो चाडपर्वको रौनक छाएका बेला घट्ने सडक दुर्घटनाबाट परिवार र आफन्तमा सदाका लागि आहात दिएर जान्छन् । यस वर्षको दसैँ र तिहारको समयमा पनि ठुलो धनजनको क्षति भएको छ ।
कर्णाली प्रदेश प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार दसैँ र तिहारको समयमा प्रदेशभर ९१ वटा सवारी दुर्घटनामा परी १९ जनाले ज्यान गुमाएका छन् । एक सय आठ जना गम्भीर घाइते हुँदा एक सय १५ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांकले देखाउँछ । यो तथ्यांक आफैमा भयावहको अवस्था हो । कर्णालीमा बाहै्र महिना सडक दुर्घटनाको जोखिम रहन्छ । मापदण्ड नपुगेका साँघुरा सडक दुर्घटनाका प्रमुख कारण हुन् । यसमा सडक मात्रै जोडिएका छैनन् । मानविय त्रुटिसँगै पुराना सवारी साधनले पनि दिनानुदिन दुर्घटनाको ग्राफ उकालो लाग्दै गएको छ । प्रहरीका तथ्यांकहरु केलाउने हो भने कर्णालीमा सडकको अवस्था, चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका कारण वर्षेनी चाडपर्व मात्रै होइन अन्य समयमा पनि अप्रिय घटनामा बृद्धि हुँदै गएका छन् । सडक सुरक्षाको जिम्मा पाएको ट्राफिक प्रहरी, सामाजिक उत्तरदायित्व बिर्सेर कमाउ धन्दामा लागेका यातायात व्यवसायी र स्वयम यात्रुको लापरवाहीले ठुलो मानवीय क्षति हुने गरेको छ । सडकमा खटिएको ट्राफिक प्रहरी सुरक्षाभन्दा पनि कमिसनको चक्करमा राजश्व संकलनमा लागेको छ ।
अन्य समयभन्दा चाडपर्वका समयमा प्रहरीले विशेष सुरक्षा योजना बनाएर लागुु गर्छ । यस वर्ष पनि कर्णालीमा प्रहरीले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ लागु गरेको थियो । उक्त सुरक्षा योजनामा सडक दुर्घटनाको विषय प्राथमिकतामा राखिएको थियो । तर, नाम मात्रको सुरक्षा योजना, यातायात व्यवसायीका सामु निरिह बन्ने प्रहरी र प्रशासनका कारण नागरिक अनाहकमा ज्यान गुमाउन बाध्य भएका छन् । सडक दुर्घटना न्यूनिकरण गर्न राज्यले थुप्रै नीतिगत व्यवस्था गरको छ । तर, कार्यान्वयनको पाटो कमजोर हुँदा सुरक्षाको सवाल किनारा लागेको अवस्था छ । सडक दुर्घटना रोक्न राज्यको एकल प्रयासले मात्र सम्भव हुँदैन । यसमा स्वयम यात्रु पनि सजग रहनु पर्दछ । सडक दुर्घटना न्यूनिकरणमा राज्यले मापदण्डका पूर्वाधार निर्माणसँगै नियमन गर्ने निकायलाई सक्रिय नबनाएसम्म सम्भव छैन । अर्कोतर्फ सेवालाई व्यवसायमा जोडेर अस्वस्थ प्रतिस्पर्धा गर्ने यातायात व्यवसायी, चालक तथा कर्मचारी जिम्मेवार बन्ने हो भने कर्णालीका सडकलाई सुरक्षित बनाउन सकिन्छ । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।





