भुवा मेलामा भएको झगडाले लियो ज्यान : कर्तव्य ज्यान अभियोगमा एक जना पक्राउ

सुर्खेत,१२ कार्तिक ।
सुर्खेतको चौकुने गाउँपालिका–१० घाटगाउँमा लाग्ने भुवा मेलामा झगडापछि एक युवाको मृत्यु भएको र सो घटनामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बाबियाचौरका अनुसार चौकुने गाउँपालिका–७ गुटुका २१ वर्षीय भुवन धमला गत माघ ३ गते (२०८२।०७।०३) भुवा मेलामा गएका थिए । तर सोही दिनदेखि उनी बेपत्ता भएका थिए । परिवारले खोजतलास गरे पनि नपाएपछि प्रहरीमा निवेदन दिएका थिए ।
प्रहरी र आफन्तहरूले गरेको खोजीका क्रममा माघ ७ गते (२०८२।०७।०७) दिउँसो करिब ११:५७ बजे चौकुने गाउँपालिका–१० तामाधारा खोलाको ताताथाई भन्ने स्थानमा भुवन धमला मृत अवस्थामा फेला परेका थिए । उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय बाबियाचौरको संयुक्त टोली पुगेर प्राविधिक र स्थलगत अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा भुवन धमलासँगै मेलामा गएका २० वर्षीय हेमन्त धमला (हिरा प्रसाद धमला) सँग बाटोमा विवाद र झगडा भएको तथ्य खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले भन्यो, “वारदातलगत्तै हेमन्त धमलाको ज्याकेटमा रगत लागेको अवस्थामा फेला परेको थियो । उनले घटनाको जानकारी कसैलाई नदिई लुकाउने प्रयास गरेका थिए।”
अनुसन्धानबाट हेमन्त धमलाले भुवन धमलामाथि कुटपिट गरी ज्यान लिएको पुष्टि भएपछि उनलाई कर्तव्य ज्यान अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृतकका आफन्तहरूले समेत हेमन्तविरुद्ध किटानी जाहेरी दिएका छन् ।
हाल अभियुक्तलाई म्याद थप गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।






