सम्पादकीय : भाषाको पहिचान जोगाऔं !

नेपाली भाषाको उद्गम थलो कर्णाली प्रदेशमा बोलिने खस भाषाको शब्दकोष तयार भएको छ । खस भाषाका जानकार जुम्लाका रमानन्द आचार्यले १३ सय पृष्ठमा ४० हजार शब्द एकिकृत गरेर ‘खसिया आखार’ प्रकाशन गरेका हुन् । खस भाषा बोलिने क्षेत्रहरुमा कथ्य भाषाका रुपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न शब्दकोष नै निर्माण गरिएको हो । यो शब्दकोषले १८४६ साल पूर्वको खस राज्यको पहिचान लोप हुन नदिने र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्त्व जीवन्त राख्ने अपेक्षा छ । अहिले गाउँबस्तीमा विदेशी भाषाको हालीमुहाली छ । युवा पुस्तालाई खसभाषाको अध्ययन, अनुसन्धानमा यो कृति कोसेढुंगा साबित हुने दावी गरिएको छ । शब्दकोषमा खस भाषाका उपज शब्दहरु मात्रै समेटिएका छन् । आयतित शब्दहरु शब्दकोषमा समावेश भएका छैनन् । जसले कर्णालीको खस भाषा बुझ्न र अध्ययन गर्न सहज बन्ने लेखकको दावी छ ।
११ बैशाख २०६५ मा बसेको जुम्ला जिल्ला परिषद्ले खस भाषा संरक्षणको नीति लिएको थियो । सोही बमोजिम तत्कालिन जिल्ला विकास समितिले पहिलो बर्ष दुई लाख रुपैयाँ छुट्याएर खस भाषामा दख्खल राख्ने आचार्यलाई शब्द संकलन र सम्पादनको जिम्मेवारी दिइएको थियो । तत्कालिन समयमा शब्द संकलन तथा लेखनका लागि पाँच सदस्यीय समिति नै गठन गरिएको थियो । तर, पछि न समिति सक्रिय भयो, न त आर्थिक सहयोग नै जुट्यो । उनीहरु सुरुवाती केही समय मात्रै संक्रिय भए । पछि उक्त समितिका सदस्यहरु खटिन छाडेपछि आचार्य दैनिक आधा घण्टा हिँडेर सदरमुकाम खलंगा बजार पुगेर एक्लैले शब्द संकलन तथा लेखनको काम गर्न थाले । अहिले जस्तो सडक सञ्जालमा नजोडिएकोले पैदल हिँडेर जानुको विकल्प थिएन । संकलन गरेका शब्दहरु बिना सेवा सुविधा एक्लै अर्थ्याइरहेका हुन्थे उनी । शब्द संकलन गर्न गाउँ गाउँ जानुपर्ने, त्यसैमा बजेट अभावको समस्या आचार्यको अघि थियो । तर, आचार्यले हार मान्नुको सट्टा एक्लैले शब्द खोज्दै वर्णानुक्रमदेखि अर्थ्याउने लगायतका काम लागेका थिए । त्यस पश्चात आचार्यले निकै दुःख गरेर खस शब्द संकलन गरे ।
उनी कर्णालीका हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लाका ग्रामिण बस्तीसम्म पुगे । हरेक जिल्ला र क्षेत्रमा बोलिने भाषा शैली नै फरक भएकाले शब्दको अर्थ लगाउन निकै कठिन थियो । शब्दकोषलाई चार उपभाषिकामा विभाजन गरिएको छ । पहिलो ८० दराली भाषिकामा ८० दरा, पाँच सय दरा र सिञ्जा दराका शब्दहरु राखिएको छ । दोस्रो त्रिविकोटी भाषिकामा चौधबीस दरा र डोल्पामा बोलिने शब्दहरु, तेस्रो रासकोटी भाषिकामा कालीकोटमा बोलिने शब्द र चौथो मुहु भाषिकामा मुगु र हुम्लामा बोलिने शब्द समावेश गरिएको छ । यो शब्दकोष एक कागजी दस्तावेज मात्र होइन । यो नेपाली भाषाको उद्गम थलोमा स्थानीयकक बोलिचालीमा प्रयोग हुने शब्दहरुको जीवन्त दस्तावेजिकरण हो । भाषाको विकाससँगै कर्णालीमा बोलिने खस भाषाको महत्व र पहिचान लोप हुँदै गएको अवस्थामा प्रकाशित भएको शब्दकोषले भावी पुस्तालाई यसका बारेमा जानकारी गराउन सहज हुनेछ ।
कर्णालीमा खस राज्यका इतिहासहरु अझै पनि रहस्यमै छन् । ति इतिहाँसलाई जोगाइ राख्न अझै पनि राज्यको ध्यान पुग्न सकेको छैन । इतिहाँस भनेका विगतका घटना, व्यक्तित्व र परिवर्तनहरूका लेखाजोखा हुन् । इतिहाँसले हाम्रो पहिचान, संस्कार, गल्ती र उपलब्धिका बारेमा जानकारी गराउँछ । भविष्यका लागि सिकाइ र समाजलाई आफ्नो मूल परम्परा र पहिचानसँग जोडेर राख्ने भएकाले इतिहास जोगाउँनु हामी सबैको साझा दायित्व हो ।
सम्पादकीय : भाषाको पहिचान जोगाऔं !

तरकारीमा विषादीको मात्रा बढ्दो

सम्पादकीय : भाषाको पहिचान जोगाऔं !

कर्णालीका १२ प्रतिशत वयस्कमा  मानसिक स्वास्थ्य समस्या

Leave a comment

Your email address will not be published. Required fields are marked *