हुम्लामा अघि बढ्यो दुई ठुला जलविद्युत आयोजना निर्माणको प्रक्रिया
सुर्खेत, ९ कात्तिक ।
हिमाली जिल्ला हुम्लामा ठुला प्रकृतिका दुई जलविद्युत आयोजना निर्माण गर्न प्रक्रिया थालिएको छ । केही सयमअघि मात्रै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हुम्लामा वन तथा वातावरण मन्त्रालयले एकै पटक हुम्ला कर्णाली–१ जलविद्युत आयोजना (२३५ मेगावाट) र हुम्ला कर्णाली–२ जलविद्युत आयोजना (३३५ मेगावाट) कार्यान्वयनपूर्वको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृतिको प्रक्रिया अघि बढाएको हो ।
उर्जा तथा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन मन्त्रालयले ईआईए उपर मन्त्रालयले आवश्यक अध्ययन गरिरहेको छ । मन्त्रालयले यसअघि यी आयोजना कार्यान्वयन पूर्व पर्नसक्ने नकारात्मक असरका बारेमा प्रभावित क्षेत्रका नागरिक र सरोकारवालासँग राय तथा सुझाव दिन आग्रह गरिसकेको छ ।
हुम्लालाई सडक सञ्जालसँग जोडेको निर्माणाधिन कर्णाली कोरिडोर मुख्य पहुँच मार्ग रहने यी दुवै आयोजना निर्माणको प्रस्तावक रू रू जलविद्युत परियोजना लिमिटेड हो । हुम्ला कर्णाली–१ हुम्ला जिल्लाको सर्केगाड र चंखेली गाउँपालिका साथै मुगु जिल्लाको सोरु गाउँपालिकामा अवस्थित छ । ईआईए प्रतिवेदन अनुसार यस आयोजनाको बाँध लगायतका शीर्ष संरचना, जलमार्ग, विद्युत गृह र पानी निकास मार्ग हुम्ला कर्णाली नदीको दाँया किनारमा प्रस्ताव गरिएको छ ।
जुन सर्केगाड गाउँपालिका–१ र ४ मा पर्नेछन् । यस्तै, नदीको बाँया किनारतर्फ सर्केगाड गउँपालिका–५, चंखेली गाउँपालिका–६, मुगु जिल्लाको सोरु गाउँपालिका–४ र ५ प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ । यस आयोजनाले २२ मिटर अग्लो पानी फर्काउने बाँध, चार वटा बालुवा थिर्ग्याउने पोखरी, ८.८६ किलोमिटर हेडरेस सुरुङ, एक भूमिगत विद्युत गृह, एक सर्जसाफ्ट र दुई सय ७५ मिटर जल निकास मार्ग निर्माण गर्नेछ ।
आयोजनाले नदीको अधिकतम एक सय ३० घनमिटरप्रति सेकण्ड पानी प्रयोग गरेर वार्षिक भण्डै १५ सय ३१ गिगावाट आवर विद्युतिय उर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा पुर्याउन मुगु कर्णाली सबस्टेसनसम्म १० किलोमिटर प्रसारण लाइन आवश्यक पर्नेछ ।
प्रस्तावित यस आयोजनाका लागि ३७.८५ हेक्टर जग्गा (प्रशारण लाइन बाहेक) आवश्यक पर्नेछ भने, यसको कुल लागत ५७ अर्ब २७ करोड ७० लाख छ । त्यस्तै, मन्त्रालयले हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा सर्केगाड गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ६ मा निर्माण हुने प्रस्तावित हुम्ला कर्णाली–२ जलविद्युत आयोजना (३३५ मे.वा.) को ईआईए प्रतिवेदन उपर पनि आवश्यक अध्ययन गरिरहेको छ ।
प्रतिवेदन अनुसार यस आयोजनाको प्रस्तावित हेडवर्क्स र सोसँग सम्बन्धित संरचनाहरू खार्पूनाथ गाउँपालिका वडा नम्बर १ र ३ तथा विद्युत गृहका संरचनाहरु सर्केगाड गाउँपालिकाको वडा नम्बर ४ र ६ मा प्रस्ताव गरिएको छ । यस आयोजनाले पाँच सय ४५ मिटर र पाँच सय ४२ मिटर लम्बाइका दुईवटा नदीको डाइभर्सन सुरुङ, ६२.५० मिटर उचाइको हेडवर्क्स बाँध, १.३२ किलोमिटर लम्बाइको सेटलिङ बेसिन, चारवटा इन्टेक, १२.७० किलोमिटर लम्बाइको हेडरेस सुरुङ, एक सतही विद्युतगृह लगायतका संरचना निर्माण गर्नेछ ।
आयोजनाले नदीको अधिकतम ११८.७० घनमटिरप्रति सेकण्ड र न्यूनतम ३०.८६ घनमिटरप्रति सेकेण्ड पानी प्रयोग गरेर सुक्खा याममा ६०९.८९ गिगावाट आवर र वर्षा याममा ११८४.८३ गिगावाट आवर गरी वार्षिक झण्डै १७९४.७२ गिगावाट आवर विद्युत उर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । यस आयोजनाका लागि कूल ६१ हेक्टर जग्गा आवश्यक पर्ने ईआईए प्रतिवेदनमा उल्लेख छ । हुम्ला कर्णाली–२ को कुल लागत ७२ अर्ब ९० करोड ८० लाग्ने अनुमान प्रतिवेदनमा गरिएकोछ ।
नलगाड–मैनतडा–४०० केभीलाई निर्माण अनुमति
संघीय सरकारले चालु आर्थिक वर्षको हालसम्म तीनवटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्त्वपूर्ण मानिएको जाजरकोटको नलगाड र सुर्खेतको मैनतडासम्म विस्तार हुने ४०० केभी प्रसारण लाइनलाई निर्माण अनुमति दिएको छ ।
विभागका अनुसार ७५ किलोमिटर लम्बाई रहेको उक्त प्रसारण लाइनले दुई हजार चार सय मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्नेछ भने, यसको निर्माण राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले गर्दैछ । यस्तै, विभागले ३३ केभी क्षमताको खोरुङगा खोला प्रसारण लाइन निर्माणका लागि पनि अनुमति दिएको छ । सो प्रसारण लाइन चार दशमलव ३८ किलोमिटर छ । सो प्रसारण लाइनले चार दशमलव आठ मेगावाट बिजुली प्रवाह गर्छ । जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली प्रणालीमा जोडनका लागि सो प्रसारण लाइन निर्माण हुन लागेको हो ।
यस्तै, सुपर सर्दी खोला हाइड्रोपावरले पनि उत्पादित बिजुली प्रणालीमा जोडनका लागि ३३ केभी क्षमताको तीन दशमलव ६८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्दैछ । सो प्रसारण लाइनमा दुई दशमलव नौ मेगावाट बिजुली प्रवाह हुनेछ । विभागले हालसम्म कूल दुई सय ७४ वटा साना ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरिसकेको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको हालसम्म कुल आठ वटा प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिइएको छ । ती आयोजनामा १३२ केभी क्षमताको मध्य चमेलिया छ । बेल्डिया सोलार पावर परियोजना, फालेखु खोला १३२ केभी प्रसारण लाइन परियोजना, जानकी सोलार पावर प्रसारण लाइन, दुधकोशी पाँचौँ २२० केभी प्रसारण लाइन परियोजना, समुन्द्रटार लप्सेफेदी २३२ केभी प्रसारण लाइन निर्माणका लागि अनुमति दिइएको छ ।
त्यस्तै, डाडाँखेती बुर्तीबाङ १३२ केभी प्रसारण लाइन र सानी भेरी १३२ केभी प्रसारण लाइन परियोजना छन् । विभागले हालसम्म कुल १४४ प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिएको छ । त्यसैगरी विभागमा हालसम्म कुल सर्वेक्षण अनुमतिपत्रका लागि कुल २१ वटा प्रसारण लाइनको आर्थिक प्रतिवेदन परेका छन् । त्यसमध्ये चालु आर्थिक वर्षको हालसम्म मात्रै ११ परियोजनाले अनुमतिका लागि आर्थिक प्रतिवेदन दिएका छन् ।





