सानैदेखि फुटबल खेल्न रुचाउँथेँ

ऋषि गिरी/खेलाडी तथा राजनीतिकर्मी
अधिकांश व्यक्तिको पहिलो रुची नै अध्ययनपछि सरकारी सेवामा प्रवेश गर्ने हुन्छ । तर जब अध्ययन सकिन्छ, तब उनीहरुको ज्ञान, भोगाइ र अनुभवका आधारमा रुची पनि परिवर्तन हुन थाल्छन् । यीनै मध्येका एक पात्र हुन्, ऋषि गिरी । । वुवा गगनदेव गिरी र आमा पार्वती गिरीको कोखबाट उनको जन्म भएको हो । उनको पनि सानै हुँदा निजामती सेवामा प्रवेश गर्ने लक्ष्य थियो । तर जब उनले पढाईसँगै खेलकुद र विद्यार्थी राजनीतिका गतिविधि अघि बढाए, तब उनमा निजामती सेवाको रुची हराउँदै गयो । अनि खेलकुद र राजनीतिको माध्ययमबाट समाज सेवाको नसामा डुब्न थाले । प्रस्तत छ, आजको जम्काभेटमा उनको जीवन भोगाइ र संघर्षको अनुभव शारासंमा :–
बाल्यकाल माछा मार्न जान्थेँ
मेरो जन्म वीरेन्द्रनगर नगरपालिका–३ मा भएको हो । अहिले हामी वीरेन्द्रनगर–९ लाटिकोइली बस्छौं । म जन्मेको पाँच वर्षपछि हाम्रो परिवार लाटिकोइलीमा सरेको हो । मेरो जन्म मध्यम वर्गिय परिवारमा भएकाले बाल्यकालमा त्यस्तो उतारचडाप भएन । बाल्यकालमा मैले दुख भोग्नु परेको खासै अनुभव छैन । तर जीवन संघर्षका क्रममा अलिकति उतारचडाव त भईहाल्छ नै । सुर्खेत उपत्यकामै म जन्मिए । र यही हुर्किए पनि ।
यहाँको हावा, पानी, माटो । यहाँको वातावरण सबै मलाइ प्यारो लाग्छ । सानैदेखि मेरो खेल क्षेत्रमा, विशेषगरी फुटबलमा निकै रुची थियो । सानोमा गाउँका साथीभाईसँग खुबै बल खेलिन्थ्यो । साथीभाईहरुसँग खोलामा माछा मार्न गएकोदेखि काँक्रेविहार जंगलमा रुख चढेका पलहरु अहिले पनि खुबै सम्झना आउँछ ।
शिक्षा र लक्ष्य
मैले कक्षा १ देखि ७ सम्म गाउँकै शिवमावि लाटिकोइलीमा पढेँ । कक्षा ८ देखि जन उच्च माविमा भर्ना भएँ । र त्यही स्कुलबाट एसएलसी पास भएँ । वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट आइएड र शिक्षा क्याम्पस सुर्खेतबाट वीएड उतिर्ण गर्न सफल भएँ । पछि राजनीति शास्त्रमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजबाट प्राइभेटमा स्नातकोत्तर उतिर्ण गरेको छु । अध्ययनको सिलशिलामा पहिले मलाइ सरकारी निजामती सेवामा प्रवेश गर्नुपर्छ भन्ने सोचाइ थियो ।
गाउँ, छिमेकमा सबैले पढाई सकेपछि सरकारी जागिरका लागि प्रयास गथ्र्ये र जागिर खान्थ्ये पनि । त्यसैले पनि मलाइ सरकारी जागिर खानुपर्छ भन्ने थियो । तर सानैदेखिको खेल क्षेत्रको रुची र विद्यार्थी राजनीतिसँगै विस्तारै मलाइ समाज सेवामा प्रेरणा मिल्यो । अहिले मलाइ यही क्षेत्रमै खुसी र सन्तुष्टि मिलेको छ । म जे छु, त्यसैमा गौरव गर्छु । सरकारी जागिर खाने लक्ष्य त्यागे पनि समाज सेवाको नसाबाट टाढा हुन सकेको छैन । र अब सक्दिन पनि । म सानैमा पढेको शिव मावि लाटिकोइलीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत भएर आफ्नो जिम्मेवारी कुसलतापुर्वक निर्वाह गरँे । म अध्यक्ष हुदाँ विद्यालयलाई प्लस टु बनाउनेदेखि कृषि विज्ञान कक्षा सञ्चालन र भौतिक संरचना निर्माण तथा जनशक्ति व्यवस्थापनको काम गर्न सफल भएँ ।
राजनीतिक यात्रा
२०१३ सालमा तत्कालिन सुर्खेत जिल्ला सदरमुकाम गोठीकाँडामा गठन भएको नेपाल कम्यूनिष्ट पार्टीको सदस्यमा मेरो बुवा चयन हुनुभयो । त्योबेला बुवाका मित्र स्वर्गिय मदनदेव भट्ट मेरो घरमा आइ रहनुहुनथ्यो । कम्युनिष्ट पार्टीको सदस्य भएकै कारण त्योबेला तत्कालिन प्रशासनले बुवा र उहाँका ममित्रहरुलाई दुख दिन्थ्यो । प्रशासनको धम्किबिच पनि बुवा र उहाँहरुको भेटघाट र कुराकानी म सुनिरहन्थ्ये ।
त्यसैबेलादेखि नै मलाइ राजनीतिल तान्यो । म पनि कम्युनिष्ट राजनीति गर्छु भन्ने मनमा आटँ आयो । परिस्थीतिबस आफुलाई पनि राजनीतिमा व्यस्त बनाउन थालेँ । २०४७ मा लाटिकोइली माविको प्रा.क. सदस्य भएर अनेर ास्ववीयुबाट विद्यार्थी राजनीति गर्न सुरु गरेको हँु । अनेरास्ववीयु इलाका कमिटि सदस्य हुँदै २०५३ मा जिल्ला कमिटि सदस्य भएँ । २०५८ मा जिल्ला कमिटि अध्यक्ष भएर अनेरास्ववीयु विद्यार्थी संगठनको जिम्मेवारी पुरा गरेँ ।
विद्यार्थी राजनीतिपछि २०६० सालमा तत्कालिन नेकपा एमाले जिल्ला कार्य समितिको पाटी सदस्य भएर मेरो राजनीति यात्रा अघि बढ्दै गयो । यसबिचमा मैले पार्टीको महत्वपूर्ण विभाग तथा फाँटमा कुसलतापुर्वक प्रमुख जिम्मेवारी पुरा गरेको छु । जनवर्गिय संगठन अन्तर्गत तत्कालिन युवाहरुको संगठन पीपुल भोलेन्टियरर्सको जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्य तथा भेरी अञ्चल ईन्चार्जको रुपमा काम गरेँ । यस्तै तत्कालिन एमालेको राष्ट्रिय खेलकुद महासंघको केन्द्रिय सचिवालय सदस्य तथा मध्यपश्चिमाञ्चल ईन्चार्जको जिम्मेवारी पनि कुसलतापुर्वक निर्वाह गरेँ ।
खेलकुदमा रुची
मेरो सानैदेखिको रुची खेलकुद क्षेत्रमा भएकाले पनि मैले स्थानीय तथा राष्ट्रिय गरी दर्जनौ फुटबल प्रतियोगिताका खेल खेलेको छु । सुरुमा जिल्लामा हुने विभिन्न क्लव स्तरीय फुटबल खेलहरुमा मैले शिवविहार पुस्तकालय क्लवबाट खेल्ने मौका पाएँ । त्यसपछि जिल्ला हुँदै छनोट भएर क्षेत्रीय तथा राष्ट्रिय फुटबल खेलका प्रतियोगितामा अग्रपंतीमा खेल खेल्ने अवसर जुट्यो । र दर्शक तथा खेलाडीको अथाह माया र हौसलापछि मैले खेलेका धेरै खेल जित्न सफल भएका थियौ ।
२०५४ मा पहिलो पटक सुर्खेतमा भएको क्षेत्रीय स्तरको खेलकुद प्रतियोगितामा मैले खेलेको सुर्खेतको टीम फुटबलमा प्रथम स्थान भएको थियो । म सँधै अग्रपंतीमा रहेर कुसलतापुर्वक खेल खेल्ने गरे पनि त्यो बेला मलाइ सबैभन्दा खुसी लागेको क्षण हो । त्यसपछि मैले विविध कारणले फुटबल प्रतियोगिताका खेल खेल्न छोडे पनि खेल क्षेत्रप्रतिको माया र लगाव अहिले पनि कायम छ ।
चर्चा र अबको बाटो
केन्द्रमा राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव नियुक्ति भएसँगै कर्णालीमा पनि कर्णाली खेलकुद परिषद्को सदस्यसचिव को हुने भनेर चर्चा चल्न थालेको छ । जसमा मेरो नाम पनि चर्चामा आएको छ । मैले जिल्ला खेलकुद विकास समितिको दुई कार्यकाल अध्यक्ष भएर कुसलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गरेको छु । अब पनि भावी सन्ततीका लागि खेल क्षेत्रमा केही योगदान पुर्र्याउन चाहान्छु । जसका लागि मलाई काम गर्ने अवसरको खाँचो छ । त्यो अवसर दिएमा कर्णालीलाई खेल क्षेत्रमा माथि पुर्र्याउन भुमिका खेल्ने छु ।
अहिले अथाह सम्भावनाकाबिच पनि कर्णाली खेल क्षेत्रमा पछाडि छ । कर्णालीमा खेलकुद संरचना छैनन् । राज्यको उदानशिताले पनि खेल क्षेत्रमा रुची भएकाहरु अघि बढ्न सकेका छैनन् । कर्णालीमा हाइअल्ट्रिच्यूटका खेलहरुको ठुलो सम्भावना छ । खेल पर्यटन विकास गर्न सकिने बलियो आधार छन् । तर लगानीको खाँचो छ । खेल क्षेत्रमै लागेर जीविकोपार्जन गर्न सकिन्छ भन्ने आधार बनाउनु छ । यसका लागि मलाई कर्णाली खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गरेमा मैले काम गरी देखाउने छु । (२०७७ साउन १६ गते शुक्रबार साताको जम्काभेट स्तम्भमा प्रकाशित)







