जुम्लामा नेकपाको चुनावी प्रशिक्षण

गाेल्डेन बुढा
जुम्ला,१७ माघ।
नेपाली कम्युनिस्ट पार्टी जुम्लाले निर्वाचन लक्षित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई निर्वाचन तयारी मात्र नभई गणतन्त्रको रक्षा र राजनीतिक दिशानिर्धारणको मोर्चाका रूपमा व्याख्या गर्दै पार्टी नेतृत्वले संगठनात्मक एकता, वैचारिक स्पष्टता र आक्रामक परिचालनमा जोड दिएको छ।कार्यक्रममा केन्द्रीय सदस्य नवराज न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै देश विशेष राजनीतिक परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरे। लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित गणतन्त्र अहिले प्रत्यक्ष र अप्रत्यक्ष चुनौतीको घेरामा पर्न थालेको उनको भनाइ थियो।

यस्तो अवस्थामा निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई व्यवस्था जोगाउने निर्णायक लडाइँका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै उनले पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर मैदानमा उत्रन आह्वान गरे।केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिकी संयोजक गोमा गौतम कुंवरले पार्टीभित्रको अनुशासन, आत्मीयता र सहकार्य कमजोर भए विजय असम्भव हुने स्पष्ट सन्देश दिइन्। उनले केन्द्रदेखि वडा तहसम्म जिम्मेवारी स्पष्ट गरी कार्यकर्ता परिचालन तीव्र बनाउन निर्देशन दिँदै, कुनै पनि बहानामा संगठनात्मक ढिलासुस्ती स्वीकार्य नहुने चेतावनीसमेत दिइन्।नेपाली कम्युनिस्ट पार्टीबाट समानुपातिक उम्मेदवार तिर्थबहादुर बुढाले प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार नरेश भण्डारीलाई विधिसम्मत रूपमा सिफारिस गरिएको जानकारी गराए। पार्टी जनताको भएको र जनताकै भरोसामा उभिएको शक्ति भएको उल्लेख गर्दै उनले विभाजन र भ्रमको राजनीतिलाई परास्त गर्न एकढिक्का हुन आग्रह गरे।“हाम्रो सिद्धान्त जनताको समाजवाद हो। पार्टी मिलेर नयाँ रूपमा चुनाव लड्दैछ,” उनले भने। अन्य पार्टीहरूलाई ‘हावाको पछि लाग्ने’ टिप्पणी गर्दै उनले आफ्नो नेतृत्वमा जुम्लामा भएका विकास निर्माणका काम र उपलब्धिको निरन्तरतालाई मतदातासामु स्पष्ट रूपमा लैजानुपर्ने बताए। पार्टीका उम्मेदवारलाई विजय गराउनु नै जनताको एजेन्डालाई संस्थागत गर्नु भएको उनको भनाइ थियो।प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार नरेश भण्डारीले राजनीतिक जनआन्दोलनपछि सबै दल निर्वाचनको मैदानमा उत्रिएको स्मरण गराउँदै लोकतान्त्रिक प्रतिस्पर्धालाई निर्णायक मोडमा पुगेको बताए। प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विश्वको ध्यान नेपाली कम्युनिस्ट पार्टीतर्फ केन्द्रित भएको दाबी गरे। अन्य पार्टीहरू आन्तरिक द्वन्द्व, विभाजन र अस्थिरतामा अल्झिँदा आफ्नो पार्टी भने एकताबद्ध शक्ति निर्माणमा केन्द्रित रहेको उनले बताए।“देशका दुई दर्जन शक्तिहरू एकीकृत भएका छन्, जसले पार्टीलाई शक्तिशाली मात्र होइन, निर्णायक बनाउनेछ,” उनले भने।भण्डारीले जुम्लाबाट तिर्थबहादुर बुढा र आफू निर्वाचन मैदानमा रहेको उल्लेख गर्दै खुला बहसका लागि पूर्ण रूपमा तयार रहेको बताए। उनले अन्य दलका उम्मेदवारलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारका ठोस एजेन्डासहित बहसमा आउन खुला चुनौती दिए। जनतालाई विजयी गराएर संघदेखि पालिका र वडासम्म विकासको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीलाई दिनुपर्ने उनको अपिल थियो।आफ्ना कामलाई ओझेलमा पार्न योजनाबद्ध रूपमा अफवाह फैलाइएको आरोप लगाउँदै उनले भने, “म काम गर्ने व्यक्ति हुँ, बोलेर मात्रै बस्ने होइन। झुटा प्रचारले हाम्रो यात्रा रोक्न सक्दैन।” निर्वाचनलाई उनले सत्ता प्राप्तिको मात्र लडाइँ नभई विचार, विश्वसनीयता र जनविश्वासको संघर्षका रूपमा व्याख्या गर्दै सबै असन्तुष्टि थाती राखेर चुनावी अभियानमा होमिन आग्रह गरे।भण्डारीका अनुसार विगतमा जुम्लालाई अशिक्षित र गरिब जिल्लाको रूपमा चित्रण गरिँदै आएको थियो। तर अहिले जुम्ला चिकित्सक उत्पादन गर्ने जिल्लाको रूपमा परिचित हुँदै गएको र मातृमृत्यु दर शून्यमा झरेको दाबी उनले गरे।
आगामी दिनमा सिंजालाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्दै जुम्लालाई भाषा, इतिहास र सभ्यताको “जननी जिल्ला” का रूपमा स्थापित गर्ने दीर्घकालीन योजना रहेको उनले सुनाए।कार्यक्रममा केन्द्रीय सदस्य राजबहादुर खत्रीले फागुन २१ पछि विजय जुलुस निकाल्ने तयारीमा जुट्न सबै तह र तप्काका नेता–कार्यकर्तालाई निर्देशन दिए। साथै, नेपाली कम्युनिस्ट पार्टी जुम्लाको निर्वाचन समितिले भोलि पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ।






