जुम्लामा हुँदैछ गणतन्त्रवादी र  राजावादीबीच रोचक चुनावी प्रतिस्पर्धा

ओम शाही

सुर्खेत, १७ माघ ।

२०७९ सालमा जुम्लाका राजावादी ज्ञानेन्द्र शाही उर्फ ज्ञानबहादुर शाहीको एउटा गज्जबको चुनावी प्रचारशैली थियो । अन्य उम्मेदवारले मतदातासामु ठूलाठूला आश्वासन देखाउँदा शाहीले भन्ने गरेका थिए, ‘जुम्लाको चोतो (स्थानीय भाषामा मुला)लाई ब्रान्डिङ गर्ने हो, विश्वबजारमा पुर्‍याएर समृद्धि ल्याउने हो ।’

उतिबेला उनका अधिकांश चुनावी भाषण स्थानीय भाषामै हुन्थे । भ्रष्टाचारविरुद्ध चर्को सुनिन्थे उनी । जसका कारण पनि उनले मतदाताको मन जित्न सफल भए । भ्रष्टाचारविरोधी अभियन्ताको परिचय बनाएका शाहीले पहिलोपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जुम्लामा ब्युँताएका थिए ।

२०७९ सालमा शाही प्रतिनिधिसभामा पाँचदलीय गठबन्धनलाई दोब्बर मतले पछाडि पार्दै विजयी भए । शाहीले गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादीकी गोमा गौतम (कुँवर) लाई हराए । शाही २२ हजार ८ सय १९ मत प्राप्त गरी विजयी हुँदा गौतमले ११ हजार ९ सय ५९ मत प्राप्त गरिन् ।

सिंजा गाउँपालिका–३, पिगी स्थायी घर भएका शाही राजनीतिमा आउनुपूर्व भ्रष्टाचारविरोधी अभियान ‘हाम्रो नेपाल हामी नेपाली’का संयोजक थिए । उतिबेला शाहीले केही युट्युबरलाई बोकेर सरकारी अड्डाहरूमा हाकिमलाई पाठ सिकाउने कामसमेत गर्थे । तत्कालीन चुनावको केही समयअघि राप्रपामा समाहित भएका उनी आफूलाई सीए (चार्टर्ड एकाउन्टेन्ट) बताउँथे ।

शाही खरो बोलीका कारण नै चर्चामा आइरहने व्यक्ति हुन् । ठूला दलका शीर्ष नेताहरूको समेत चर्को आलोचना गरेर सुर्खेतमा कुटाइ खाएका शाहीले अन्ततः राजावादीहुँदै संघीय संसदको यात्रा तय गरेका थिए । शाही कतिपय मिथक विषयमा पनि चर्चामा आउने गर्छन् । जुम्लामा पार्टी संगठन कमजोर भएको राप्रपाका लागि चुनाव जित्न त्यति सहज थिएन ।

२०७९ सालको चुनावताका राप्रपामा समाहित भएका शाहीले सुरुमा काठमाडौंबाट चुनाव लड्ने वा चितवनबाट लड्ने भन्नेमा दोधारमा थिए । तर, अन्तिम घडीमा आएर शाहीले जुम्लाबाटै चुनाव लड्ने निधो गरे ।

निर्वाचनको मिति तय भएसँगै गृहजिल्ला हानिएका शाहीले बिस्तारै जनाधार बटुल्दै कांग्रेस–माओवादीबीचको गठबन्धनलाई नै हायलकायल पारे । जुम्लाका हरेक ग्रामीण बस्तीमा पुगेका शाहीले त्यस्ता कुनै ठूला सपना देखाएनन् । कृषि र पर्यटनबाटै जुम्लालाई बदल्ने वाचा गर्दै मतदाताको मन जित्न सफल भए ।

स्थानीय तहको परिणाम हेरेर चुनावी रणनीति बनाएको सत्ता गठबन्धनले शाहीलाई चुनौतीविहीन ठाने पनि ज्ञानेन्द्रको पक्षमा माहौल बन्दै गएपछि त्रसित बनेका गठबन्धनका नेताहरूले उनलाई हराउन अनेक प्रपञ्च रच्न पछाडि परेनन् । शाहीको चुनाव जित्ने मुख्य आधार गठबन्धनमै जोडिएको थियो ।

गठबन्धनलाई यतिसम्म सकस पर्‍यो– तत्कालीन गठबन्धन दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गोमा कुँवरलाई जिताएर पठाए मन्त्री बनाउने जुम्ली मतदातालाई आश्वासन दिनसम्म भ्याएका थिए । यसको मुख्य कारण नै शाही थिए ।  जुम्लामा माओवादी र कांग्रेसको गठबन्धन रुचाइएको थिएन ।

शाहीको चुनाव जित्ने पहिलो आधार गठबन्धनबाट भोट क्रस हुनु हो । गठबन्धनभित्रको मुख्य चुनौती भनेकै एकअर्का दलका भोट ट्रान्सर्फर गराउनु थियो । गठबन्धनमा माओवादी र समाजवादीका भोट कांग्रेसमा जाने तर कांग्रेसका भोट माओवादीलाई नआउने डर गठबन्धनलाई थियो । गठबन्धनमा तलमाथि नभए अन्य दलको डेग चल्ने अवस्था थिएन ।

यसो नभएको खण्डमा निर्वाचन परिणाम शाहीको पक्षमा जाने कुरामा गठबन्धन नै ढुक्क थियो । जुन शाहीको जितले सत्य सावित भयो । जुम्लामा ज्ञानेन्द्र उदाउनुको दोस्रो कारण गठबन्धनमा उम्मेदवारी चयन थियो । जुम्लाका कांग्रेस नेताहरू गठबन्धनमा भागवण्डा हुँदा कांग्रेसको भागमा पर्नुपर्ने अडानमा थिए । तर, गठबन्धनमा जुम्ला माओवादीको भागमा पर्‍यो ।

माओवादीको भागमा पर्दा माओवादीभित्रका धेरैको चाहना पूर्वमन्त्री नरेश भण्डारीलाई अगाडि सार्ने थियो, तर टिकट मनऋषि धितालले पाए । तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले धिताललाई टिकट दिएका थिए, तर टिकट लिएर धिताल जुम्ला पुग्न नपाउँदै रातारात माओवादी प्रदेश कमिटीले टिकट खोस्यो । समीकरण मिलाउन भन्दै गोमा गौतम (कुँवर)लाई टिकट दिएपछि माओवादीको एउटा पंक्ति नै असन्तुष्ट बन्यो, जसले गर्दा शाहीको चुनाव जित्ने बलियो आधार बन्न पुगेको मतपरिणामले देखाउँछ ।

धितालको टिकट खोसिनु र भण्डारीले टिकट नपाउँदा असन्तुष्ट माओवादीको भोट शाहीले पाए । यदि धितालले नै टिकट पाएको भए परिणाम फरक आउन सक्ने सम्भावना पनि थियो । शाही र धिताल एउटै गाउँका हुन् । धिताल राजनीतिक रूपमा शाहीभन्दा धेरै सिनियर र जनाधार भएका नेता थिए ।

यस पटक भने शाहीका लागि उनै भण्डारी र धिताल चुनौती बनेर अघि उभिएका छन् । जुम्लामा नेकपा सांगठनिक मतका आधारमा राप्रपाभन्दा अघि छ । भण्डारी र धिताल जुम्लामा रुचाइएका नेताहरूमध्येमा पर्छन् । तर, यी दुवैले यसपटकको चुनाव भने भिन्नभिन्न कित्ताबाट लड्दै छन् । भण्डारी २०६४ सालको संविधानसभा र २०७४ सालमा प्रदेशसभा सदस्यमा विजयी भएका थिए । उनी तत्कालीन समयमा कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए ।

जेन–जी आन्दोलनपछि तत्कालीन माओवादीबाट अलग भएका जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका धिताल र भण्डारीबीच पनि रोचक चुनावी प्रतिस्पर्धा हुनेछ । एमाले र कांग्रेस त अर्को कित्तामा उभिएकै छन् । तत्कालीन शाहीको चुनाव जित्ने तेस्रो आधार नेपाली कांग्रेस हो ।

कांग्रेसभित्र प्रदेशसभाको उम्मेदवारी चयनमा ठूलो विवाद सिर्जना भयो । प्रदेशसभा (क) र (ख) मा गठबन्धनबाट कांग्रेस र समाजवादीका आधिकारिक उम्मेदवारविरुद्ध कांग्रेसकै बागी उम्मेदवार खडा भएपछि दुई पंक्तिमा देखा परेको कांग्रसकै कारण शाहीलाई चुनाव जित्न अझ सहज भएको थियो । उनका पक्षमा कांग्रेस र माओवादीकै कार्यकर्ता खुलेर लागे ।

शाहीको चुनाव जित्ने चौथो आधार युवापुस्ताको भोट हो । गठबन्धनभित्रको अन्तर्संघर्ष र युवापुस्ताको पुराना उम्मेदवारप्रतिको विकर्षण पनि शाहीको चुनाव जित्ने आधार बन्यो । शाहीले चुनाव लड्ने घोषणा गरेसँगै युवाहरूको एक पंक्ति नै उनलाई जिताउन सामाजिक सञ्जालमा प्रचारप्रसारमा जुटिसकेको थियो । हरेक निर्वाचनमा नयाँ अनुहारको खोजी हुने जुम्लामा युवापुस्ताको रोजाइ र बुढापाकाको सद्भाव पाएका ज्ञानेन्द्रले सहज संसदको यात्रा तय गर्न सफल भएका थिए ।

बलियो सांगठनिक मत भएका दलहरूलाई शाहीले पछार्नुको पछाडि एमाले पनि जोडिएको छ । २०७९ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका रतननाथ योगीले प्रत्यक्षतर्फ ६ हजार ५ सय २८ मत मात्रै प्राप्त गरे । जबकि सो चुनावमा जुम्लाबाट एमालेले तत्कालीन माओवादी–कांग्रेसलाई उछिन्दै १० हजार समानुपातिक भोट पाएको थियो । यसैले एमालेका मतदाताले प्रत्यक्षमा शाहीलाई भोट हाले र समानुपातिकमा सूर्य चिह्नमा भोट खन्याएका थिए ।

यस्तो थियो २०७९ सालको अंक गणित

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाबाट एक सिटका लागि १० जना चुनावी मैदानमा छन् । यसपटक एमालेले जुम्लाबाट शान्तिलाल महत र कांग्रेसले दीपबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

२०७९ सालको मतपरिणामलाई विश्लेषण गर्ने हो भने जुम्लामा सांगठनिक भोटमा एमाले अघि छ । एमालेको १० हजार ५ सय ४८ सांगठनिक भोट रहँदा १० हजार ४ सय ७६ मतका साथ कांग्रेस दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको नेकपा (तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी)को ८ हजार ९ सय ६० मत रहँदा शाहीको पार्टी राप्रपाको ५ हजार ७ सय ९६ सांगठनिक भोट छ ।

गएको निर्वाचनमा कांग्रेस–माओवादीको गठबन्धनका कारण बाजी मारेका शाहीलाई अहिलेको चुनाव यही पाँच हजारको बेसबाट माथि उठ्नुपर्नेछ । यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समेत चुनौती दिँदै छ । २०७९ सालको निर्वाचनबाट अस्तित्वमा आएको रास्वपाको सांगठनिक भोट जुम्लामा ८ सय ९९ छ । उतिबेला समानुपातिक निर्वाचन प्रणालीबाट संघीय सांसद बनेकी विनिता कठायत यसपटक प्रत्यक्षतर्फको उम्मेदवार बेनेकी छन् । पछिल्लो समय रास्वपामा जनलहर चलेको चर्चाका बीच उनले पनि शाहीलाई चुनौती दिने पक्का छ ।

पहिलो पटक चुनावी गठबन्धन संस्कृतिबाट बाहिर निस्किएका प्रमुख दलहरूले नयाँको सामना गर्नुपर्नेछ । जुम्लाको चुनावी मतपरिणाम कांग्रेसको विशेष महाधिवेशन र नेकपामा पूर्वसहकर्मी धिताल र भण्डारीबीचको प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ । कांग्रेसको विशेष महाधिवेशनपछि कर्णालीमा शेरबहादुर देउवापक्ष सभापति गगन थापा समूहसँग रुष्ट छ ।

यसको असर प्रतिनिधिसभा सदस्यको टिकटमा परिसकेको छ । कर्णालीबाट थापाले तत्कालिन संस्थापनपक्षका केही नेतालाई मात्र टिकट दिएका छन् । अन्य समय सामान्य विवादलाई पनि इगोको रूपमा लिने कांग्रेसीहरूको आफ्नैलाई हराउने नीति अघि बढे एमाले वा राप्रपाका शाहीलाई चुनाव जित्न सहज हुने विश्लेषण गरिएको छ ।

सांसद नदोहोर्‍याउने जुम्ला

प्रतिनिधिसभातर्फ एक मात्रै निर्वाचन क्षेत्र रहेको जुम्ला यस्तो ठाउँ हो, जहाँका मतदाताले कसैलाई पनि एकपटकभन्दा बढी सांसदमा निर्वाचित गरेका छैनन् । यसको कारण भने अर्कै छ । गणतन्त्रअघि होस् वा गणतन्त्रपछि जुम्लाबाट एकपटक सांसद लडेपछि कुनै पनि उम्मेदवार दोस्रोपटक पार्टीबाट अवसर पाउँदैनन् । २०६४ सालको संविधानसभा सदस्य बनेका नरेश भण्डारी र २०७९ सालमा प्रतिनिधिसभा सदस्य बनेका ज्ञानेन्द्र शाही यो चुनावमा पुनः अवसर पाएर दोस्रोपटक संसदीय अभ्यासमा प्रवेश गर्ने दाउमा छन् ।

जुम्लामा हुँदैछ गणतन्त्रवादी र   राजावादीबीच रोचक चुनावी प्रतिस्पर्धा

निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds