तातोपानी–५ मा लक्षित वर्गलाई न्यानो कपडा वितरण

काली बहादुर परियार
जुम्ला ,१६ माघ।
चिसो बढ्दै गएको मौसमलाई मध्यनजर गर्दै तातोपानी गाउँपालिका वडा – ५ ले वडा भित्रका लक्षित वर्गलाई न्यानो कपडा वितरण गरेको छ ।
सामाजिक सुरक्षा र मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राख्दै वडा कार्यालयले जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको हो ।
चालु आर्थिक वर्ष २०८२/०८३ का लागि लक्षित वर्ग कार्यक्रमअन्तर्गत विनियोजित ६ लाख रुपैयाँको बजेटबाट वडा भित्रका २ सय ३० जना लक्षित वर्गलाई न्यानो कपडा वितरण गरिएको तातोपानी–५ का वडा अध्यक्ष छिरिङ्ग महतले जानकारी दिए ।
उनका अनुसार कठ्यांग्रिने जाडोबाट जोखिममा पर्ने वर्गलाई राहत दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए ।
वडाध्यक्ष महतले भने, वार्षिक स्वीकृत कार्यक्रमअनुसार जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिलाई न्यानो कपडा उपलब्ध गराइएको हो ।
जेष्ठ नागरिकको सम्मान र असहाय वर्गको राहतका लागि वडा कार्यालयले हरेक वर्ष लक्षित वर्ग कार्यक्रमअन्तर्गत बजेट विनियोजन गर्दै आएको छ । उनका अनुसार यस कार्यक्रम बाट लक्षित वर्ग प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् भने स्थानीयस्तरमा सकारात्मक सन्देश पनि गएको वडा अध्यक्ष महतकाे भनाइ छ ।
वडा अध्यक्ष महतका अनुसार, वडा कार्यालयको योजना अनुसार १ सय जना पुरुष लक्षित वर्गलाई न्यानो जकेट र १ सय ३० जना महिला लक्षित वर्गलाई न्यानो जकेटसहित पछ्यौरा वितरण गरिएको छ ।
विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका व्यक्तिलाई प्राथमिकतामा राखिएको वडाले जनाएको छ ।
तातोपानी–५ का वडा सचिव विकास आचार्यले शुक्रबार मात्र १ सय २० जना भन्दा बढी लक्षित वर्गलाई न्यानो कपडा वितरण गरिएको जानकारी दिए।
हालसम्म उपस्थित भएका लक्षित वर्गलाई वितरण गरिएको छ,” उनले भने, छुटेका लाभग्राहीहरू वडा कार्यालयमा सम्पर्कमा आए पछि आवश्यक कागजातको आधारमा न्यानो कपडा उपलब्ध गराइनेछ।
स्थानीय जेष्ठ नागरिक तथा एकल महिलाहरूले वडा कार्यालयको यस पहलको खुलेर प्रशंसा गरेका छन् । उनीहरूका अनुसार चिसो मौसममा न्यानो कपडाले स्वास्थ्य जोगिन सहयोग पुग्नुका साथै वडाले आफूहरूलाई सम्झिएको अनुभूति भएको छ ।
तातोपानी गाउँपालिकाको वडा -५ ले यस प्रकारका सामाजिक तथा लक्षित वर्ग केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । स्थानीय तहबाटै गरिने यस्ता मानवीय पहलले समाजमा सहकार्य, सम्मान र सुरक्षा भावनालाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।






