पोखरामा एनसेल सेन्टर पुनःसञ्चालन, ग्राहकलाई विश्वस्तरीय सेवा दिने प्रतिबद्धता

पोखरा ,१६ फाल्गुन ।
एनसेलले पोखरास्थित आफ्नो एनसेल सेन्टर पुनःसञ्चालनमा ल्याएको छ। सिर्जना चोक, पोखरामा रहेको उक्त सेन्टर जेन–जी आन्दोलनका क्रममा भएको तोडफोडपछि क्षतिग्रस्त भई बन्द रहेको थियो। मर्मतसंभार सम्पन्न भएपछि बिहीबार आयोजित एक कार्यक्रमबीच सेन्टर पुनःसञ्चालन गरिएको हो।
पुनःसञ्चालित सेन्टरको उद्घाटन एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यमप्रसाद गौतमले संयुक्त रूपमा गर्नुभयो। सेन्टर बन्द अवधिमा कम्पनीले अस्थायी रूपमा एक तल्लामाथि रहेको कार्यालयबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो।

उद्घाटन समारोहमा बोल्दै ग्राहक सेवा प्रबन्धक दाहालले सेन्टर बन्द हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना व्यक्त गर्नुभयो। “ग्राहकलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरूप पोखरामा पुनःसञ्चालन गर्न पाउँदा हामी खुसी छौं,” उहाँले भन्नुभयो।
कम्पनीका अनुसार ग्राहकलाई एकै स्थानबाट विविध सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सेन्टर पुनःसञ्चालन गरिएको हो। यस सेन्टरबाट ग्राहकहरूले सेवा तथा सुविधाबारे सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङसम्बन्धी जानकारी तथा विभिन्न कर्पोरेट सेवा प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, सिमलाई फोरजी वा ई–सिममा अपग्रेड गर्ने, मोबाइल नम्बर परिवर्तन गर्ने, सीयूजी नम्बर व्यवस्थापन, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल भुक्तानी गर्ने, ब्यालेन्स रिचार्ज तथा ट्रान्सफर गर्ने लगायतका सेवा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
पोखरा एनसेल सेन्टरको पुनःसञ्चालनसँगै स्थानीय ग्राहकलाई सहज, छरितो र विश्वस्तरीय सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता पुनः पुष्टि भएको छ। हाल एनसेलले देशभर ३१ वटा एनसेल सेन्टर सञ्चालन गर्दै ग्राहक सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै आएको छ।






