प्रेम सम्बन्धको खटपटले निम्त्यायो जघन्य हत्या : डुडुवाको इनारमा फेला परेको शव २१ वर्षीया बसन्ती गोडियाको पुष्टि, प्रेमी पक्राउ

बाँके ,१४ माघ।
बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीमा इनारभित्र फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेसँगै घटनाले जघन्य हत्या भएको रूप लिएको छ। प्रहरी अनुसन्धानले उक्त हत्या प्रेम सम्बन्धमा आएको खटपटका कारण भएको निष्कर्ष निकालेको छ। इनारमा सडेगलेको अवस्थामा भेटिएको शव सोही गाउँकी २१ वर्षीया बसन्ती गोडियाको भएको पुष्टि भएको छ भने उनको हत्या प्रेमी २५ वर्षीय राकेश बर्माले गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार डुडुवा–३ स्थित रामफेरन कुर्मीको घर पछाडिको झाडीभित्र रहेको इनारमा केही दिनअघि दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए। प्रहरी टोली घटनास्थल पुगेपछि इनारभित्र सडेको अवस्थामा महिलाको शव फेला परेको थियो। शवको अवस्था अत्यन्तै बिग्रिएको भएकाले तत्काल पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार शवको पहिचानका लागि गाउँघरमा सोधखोज गर्दा डुडुवा–३ निवासी पाँचु गोडियाकी २१ वर्षीया छोरी बसन्ती गोडिया केही समयदेखि सम्पर्कविहीन रहेको खुलेको थियो। त्यसपछि थप अनुसन्धान र प्रमाणका आधारमा इनारमा भेटिएको शव बसन्तीकै भएको पुष्टि भएको हो।
प्रहरी अनुसन्धानले बसन्ती पुस १ गते मङ्गलबार रातिदेखि घर नफर्किएको र त्यसयता सम्पर्कविहीन रहेको देखाएको छ। यद्यपि, उनको हराएको बारेमा परिवारले प्रहरीमा औपचारिक उजुरी दिएका थिएनन्। गाउँघरमा सोधखोज गर्दा बसन्ती भारतको नानपारा स्थित मामाघर गएको भन्ने हल्ला फैलिएको पाइएको थियो, जसले घटना लामो समयसम्म बाहिर नआएको प्रहरीको भनाइ छ।
पोस्टमार्टम रिपोर्टले घटनालाई अझै स्पष्ट बनाएको छ। रिपोर्टमा मृतकको टाउको र घाँटीको विभिन्न भागमा गम्भीर चोट लागेको देखिएको र त्यसैका कारण उनको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ। शव अत्यधिक सडेगलेको अवस्थामा भेटिएकाले घटना करिब एक महिनाअघि घटेको हुनसक्ने अनुमान गरिएको छ।
अनुसन्धानका क्रममा प्रहरीको ध्यान मृतकको छिमेकमा बस्ने युवक राकेश बर्मातर्फ केन्द्रित भएको थियो। गाउँघरबाट संकलित सूचनाका आधारमा बसन्ती र बर्माबीच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ। सो सम्बन्धमा केही समयदेखि खटपट भएको र त्यसैको कारण बर्माले योजनाबद्ध रूपमा बसन्तीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
प्रहरीका अनुसार सोधपुछका क्रममा बर्माले हत्या गरेको स्वीकार गर्दै शव लुकाउन इनारमा फालेको बयान दिएका छन्। घटनास्थलको अवस्था, पोस्टमार्टम रिपोर्ट र अभियुक्तको साविति बयानले हत्या प्रेम सम्बन्धकै विवादका कारण भएको पुष्टि गरेको प्रहरीको दाबी छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले बर्मालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला अदालत बाँकेबाट म्याद थप गराई थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले घटनासँग सम्बन्धित अन्य पक्षबारे पनि अनुसन्धान भइरहेको र आवश्यक प्रमाण संकलनको काम जारी रहेको जानकारी दिएको छ।
डुडुवामा भएको यो घटनाले गाउँ नै शोक र त्रासमा डुबेको छ। स्थानीयले एक महिनासम्म बेपत्ता रहेकी युवतीको शव यसरी इनारमा भेटिनु गम्भीर सुरक्षा र सामाजिक सवाल बनेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

प्रेम सम्बन्धको खटपटले निम्त्यायो जघन्य हत्या : डुडुवाको इनारमा फेला परेको शव २१ वर्षीया बसन्ती गोडियाको पुष्टि, प्रेमी पक्राउ

हिमपातपछि रुकुम पूर्वमा उच्च सतर्कता अपनाउन जिल्ला

प्रेम सम्बन्धको खटपटले निम्त्यायो जघन्य हत्या : डुडुवाको इनारमा फेला परेको शव २१ वर्षीया बसन्ती गोडियाको पुष्टि, प्रेमी पक्राउ

हिमपातमै एमाले हुम्लाको चुनावी प्रचार अभियान सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *