हिमपातपछि रुकुम पूर्वमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

रुकुम पूर्व,१४ मााघ।
जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण जनजीवन प्रभावित भएको जनाउँदै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
प्रशासनका अनुसार मंगलबार रातिदेखि परेको हिमपातका कारण मध्यपहाडी लोकमार्गसहित विभिन्न स्थानमा अवरोध सिर्जना भएको छ भने सवारी आवागमनसमेत प्रभावित भएको छ । हिमपातको जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा काम विशेषले यात्रा गर्नुपर्ने अवस्थामा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

हिमपातका कारण सडक अवरुद्ध भई यातायात सञ्चालनमा समस्या देखिएकाले जिल्लास्थित यातायात व्यवसायीलाई मौसमको पूर्वानुमानको आधारमा मात्र सवारी साधन सञ्चालन गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
त्यस्तै, हिउँ खेल्न आउने, हिमाल आरोहण तथा पदयात्रामा निस्कने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमद्वारा हस्ताक्षरित सूचनामा सम्भावित जोखिम न्यूनीकरणका लागि सबै सरोकारवालालाई जिम्मेवार र सचेत रहन आग्रह गरिएको छ ।।






