पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा भेटियो

कञ्चनपुर, १५ फागुन । 

जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखा परेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाबले महत्वपूर्ण मानिएको छ ।

यस चरालाई पहिलोपटक निकुञ्जमा नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन)का वरिष्ठ चरा विज्ञ हिरुलाल डगौरा, दिलीपचन्द ठकुरी, सुमन चौधरी, डा विकल्प पाण्डेलगायत सहभागी टोलीले बुधबार निकुञ्ज भ्रमणमा क्रममा देखेर अभिलेख गरेका हुन् । ‘मदना चाँचर’को वैज्ञानिक नाम ‘टर्डस बुबुल’ रहेको वरिष्ठ चरा विज्ञ डगौराले जानकारी दिनुभयो । उहाँका अनुसार यो ‘थ्रस’ (चाँचर) प्राजातिमा पर्ने पर्ने चरा हो ।

अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आयुसिएन)ले यसलाई विश्वस्तरमा ‘कम चिन्ताजनक’ अर्थात् सामान्य श्रेणीमा राखे पनि शुक्लाफाँटाका लागि भने यो नितान्त नयाँ र दुलर्भ प्रजातीका रूपमा रहेको चरा विज्ञ डगौराले बताए ।  “यो चक हजार ८०० देखि दुई ७०० मिटर उचाइमा पाइने यो प्रजाति जाडोयाममा केही तल झर्न सक्छ । तर तराईको समथर भू–भागमा देखिनुलाई असामान्य मान्न सकिन्छ”, चरा विज्ञ डगौराले भने ।

विश्वस्तरमा सामान्य भए पनि शुक्लाफाँटामा देखिनु दुर्लभ घटना मानिएको उनको भनाइ छ । उनले भने, “यसले वातावरणीय अवस्था वा बसाइँसराइको ढाँचामा आएको परिवर्तनलाई देखाउँछ ।” मदना चाँचर करिब २८–२९ सेन्टिमिटर लामो हुने जनाउँदै उहाँले भाले चरा कालो रङगको र पखेटामा खैरो दाग भएको जस्तो देखिने उल्लेख गरे । पोथी चरा खैरो रङगको हुने जनाउँदै भालेको चुच्चो पहेँलो र पोथीको हल्का पहेँलो वा खैरो हुने उनले बताए ।

“नेपालदेखि उत्तरी भियतनामसम्मका पहाडी क्षेत्रमा सीमित मानिने यो प्रजातिको चरा तराईमा देखिनुले जलवायु परिवर्तनको असर वा पारिस्थितिक प्रणालीमा भइरहेको फेरबदलको सङ्केत हो” चरा विज्ञ डगौराले भने, “पहाडी क्षेत्रमा सीमित मानिने यो चरा तराईमा भेटिनुले शुक्लाफाँटाको जैविक विविधताको दायरा अझ फराकिलो बन्दै गएको मानिन्छ ।”

शुक्लाफाँटामा यो नयाँ पाहुनाको आगमनसँगै निकुञ्जमा पाइने चराको सङ्ख्यामा थप वृद्धि भएको छ । पहाडी क्षेत्रको यो चरा शुक्लाफाँटामा अभिलेख भएसँगै यस निकुञ्जलाई चरा अवलोकन र वैज्ञानिक अनुसन्धानको दृष्टिले अझ महत्वपूर्ण गन्तव्यको रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा भेटियो

ट्राफिक प्रहरीद्वारा फुटबल खेलाडी भण्डारीलाई आर्थिक सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds