चुनाव बिथोल्न सक्ने आशंकामा आठ जना पक्राउ

सुर्खेत, १५ फागुन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आगामी २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्न सक्ने आशंकामा आठ जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चुनाव बिरोधी गतिविधी गर्न सक्ने आशंकामा उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार पक्राउ पर्नेहरु चुनाव बहिष्कार गरेका विभिन्न राजनीतिक दलमा आवद्ध व्यक्तिहरु छन् । उनका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१, का क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज नारायण न्यौपाने, कालीकोटको नरहरीनाथ गाउँपालिका–७, का बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका जिल्ला सचिव धिर दर्जी (डेबिट परियार) छन् ।
त्यस्तै, सान्नी त्रिवेणी गाउँपालिका–६, का क्रान्तिकारी कम्युनिष्ट पार्टीका ब्यूरो सदस्य कर्णबहादुर बिसी, कैलालीको धनगढी उपमहानगरपालिका–१२, का वैज्ञानिक समाजवादीका जिल्ला सचिव श्याम कुवँर, सुर्खेतको वीरेन्द्रनगर–११, का बहुमत पार्टीका जिल्ला सचिव राजु भनिने राजकुमार पौडेल, सुर्खेतकै भेरीगंगा नगरपालिका–१२, का नेकपा (क्रान्तिकारी)का जिल्ला सचिव रन्तबहादुर वली छन् ।
प्रहरीका अनुसार भेरीगंगा नगरपालिका ९ नम्बर वटा कमिटी सदस्य पूर्ण तिरुवा र रुकुम पश्चिमको चौरजारी नगरपालिका–८, का मानबहादुर मल्ललाई चुनाव विरोधी गतिविधिमा संलग्न हुनसक्ने आशंकामा पक्राउ गरिएको हो । उनीहरु विरुद्ध शान्ति सुरक्षामा खलल् पुर्याएको कसुरमा मद्दा चलाउने तयारी रहेको प्रवक्ता बुढथापाले जानकारी दिए ।





