खेल पूर्वाधार र खेलाडी प्रोत्साहनमा विशेष योजना: बाँके–३ लाई ‘खेलकुद हब’ बनाउने अमर सिंह पुनको प्रतिबद्धता

बाँके,१५ फाल्गुन ।

नेपाली कांग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन ले खेलाडी र खेल क्षेत्रको मनोबल उच्च बनाउने स्पष्ट योजनासहित आफू चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको प्रतिबद्धतामा पुनले बाँके–३ लाई लुम्बिनी प्रदेशकै नमुना खेल क्षेत्रका रूपमा विकास गर्ने घोषणा गर्नुभएको हो। उहाँले भन्नुभयो, “यो क्षेत्रका खेलाडीले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म उत्कृष्ट प्रदर्शन गरिसकेका छन्। अब राज्यले उनीहरूलाई आवश्यक पूर्वाधार र प्रोत्साहन दिनु जरुरी छ।”
पूर्वाधार स्तरोन्नतिमा जोड
पुनद्वारा सार्वजनिक प्रतिज्ञापत्रमा खजुरा गाउँपालिकास्थित शुक्र रंगशाला, शुक्र भलिबल रंगशाला, डि–गाउँको मिनी रंगशाला, सैनिकस्थित मैटहवा माविको खेलमैदान तथा खजुरा ब्याड्मिन्टन हलको स्तरोन्नति गर्ने उल्लेख गरिएको छ। जीर्ण अवस्थामा रहेका खेल मैदानलाई आधुनिक संरचनामा रूपान्तरण गर्दै नियमित प्रतियोगिता सञ्चालन गर्न सक्ने वातावरण बनाइने उहाँको भनाइ छ।
त्यसैगरी “एक टोल–एक खेल मैदान” अवधारणालाई अघि सार्दै प्रत्येक बस्तीमा खेल मैदान र पार्क निर्माणमा पहल गरिने पुनले बताउनुभयो। क्षेत्रको उपयुक्त स्थानमा राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशाला निर्माणका लागि संघीय सरकारसँग समन्वय गरिने योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ।
स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म प्रोत्साहन
पुनका अनुसार स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम ल्याइनेछ। नवप्रतिभा पहिचान, सीप विकास, खेल विज्ञान र प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै खेल क्षेत्रलाई पेशागत र व्यवस्थित बनाइने उहाँले बताउनुभयो।
बाँके–३ ले खेल क्षेत्रमा उल्लेखनीय योगदान दिएको स्मरण गराउँदै पुनले नेपाली महिला फुटबल टोली तथा नेपाल पुलिस क्लबकी कप्तान निरु थापा र राष्ट्रिय पुरुष फुटबल टोलीबाट खेलिसकेका बिक्रम सिंह ठकुरी जस्ता खेलाडी यसै क्षेत्रको गौरव भएको उल्लेख गर्नुभयो। मार्सल आर्ट्सका विभिन्न विधाबाट समेत यहाँका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै क्षेत्रको पहिचान स्थापित गरेका छन्।
खेलकर्मीका लागि सम्मानित वातावरण
“खेलकुद केवल मनोरञ्जन होइन, यो अनुशासन, स्वास्थ्य र राष्ट्रको पहिचानसँग जोडिएको विषय हो,” पुनले भन्नुभयो, “खेलाडी र खेलकर्मीलाई सम्मानित र सुरक्षित वातावरण दिन राज्यले स्पष्ट नीति लिनुपर्छ।”
खेल क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन, नियमित तालिम, प्रशिक्षक उत्पादन र छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै उहाँले बाँके–३ लाई खेलकुदमार्फत चिनाउने दीर्घकालीन रणनीति अघि सार्नुभएको छ।
चुनावी माहोल तातिरहँदा खेल क्षेत्रलाई विकासको आधार स्तम्भ बनाउने पुनको योजना मतदातामाझ चासोको विषय बनेको छ।

खेल पूर्वाधार र खेलाडी प्रोत्साहनमा विशेष योजना: बाँके–३ लाई ‘खेलकुद हब’ बनाउने अमर सिंह पुनको प्रतिबद्धता

लागुऔषध मुद्दाका फरार प्रतिवादी प्रेम बुढा पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds