मुगुमा निर्वाचन सुरक्षा : सेनाको घोडा गस्ती

गाेल्डेन बुढा
फागुन १४, फाल्गुन ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय रूपमा सम्पन्न गराउने लक्ष्यसहित नेपाली सेनाले मुगुका दुर्गम हिमाली बस्तीहरूमा घोडाबाट गस्ती सुरु गरेको छ। भौगोलिक कठिनाइ, सडक सञ्जालको अभाव र लामो पैदलमार्ग मात्रै उपलब्ध रहेका क्षेत्रहरूमा सुरक्षाको प्रभावकारी पहुँच सुनिश्चित गर्न सेनाले परम्परागत साधनको विकल्पस्वरूप घोडा प्रयोग गरेको हो।रारा राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ हनुमानध्वज गुल्मले निर्वाचन मिति नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मुगुम कार्मारोङ गाउँपालिका अन्तर्गतका मुगुम, डोल्फुलगायतका विकट हिमाली बस्तीहरूमा नियमित तथा विशेष गस्ती सञ्चालन थालेको जनाएको छ। ती क्षेत्रहरूमा पैदल हिँडेर पुग्न समेत दिनौँ लाग्ने भएकाले घोडाबाट गस्ती सञ्चालन गर्नु नै व्यावहारिक र प्रभावकारी उपाय रहेको सेनाको ठहर छ।

श्री हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार जिल्लाभित्र रहेका सबै मतदान स्थलहरूको सुरक्षा अवस्था निरीक्षण भइसकेको छ। “दुर्गम र संवेदनशील क्षेत्रहरूमा समेत सुरक्षाको अनुभूति गराउने उद्देश्यले गस्तीलाई प्राथमिकतामा राखेका छौँ,” उनले भने, “कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन पूर्वतयारी स्वरूप सुरक्षा सतर्कता बढाइएको छ।” निर्वाचन अवधिभर हिमाली तथा विकट बस्तीहरूमा निगरानीलाई निरन्तरता दिइने पनि उनले स्पष्ट पारे।स्थानीय बासिन्दाले समेत सेनाको सक्रियताले आफूहरू सुरक्षित महसुस गरेको प्रतिक्रिया दिएका छन्। विगतमा सूचना आदानप्रदानमा कठिनाइ हुने गरेका क्षेत्रहरूमा गस्ती बढेसँगै निर्वाचनप्रति विश्वास बढेको स्थानीयको भनाइ छ। सेनाको उपस्थितिले शान्तिपूर्ण वातावरण निर्माणमा सकारात्मक सन्देश गएको उनीहरू बताउँछन्।यसैबीच जिल्ला निर्वाचन कार्यालय मुगुका अनुसार यस वर्ष जिल्लाको कुल मतदाता संख्या ३६ हजार ३१ पुगेको छ। तीमध्ये महिला मतदाता १७ हजार ४ सय ३३ र पुरुष मतदाता १८ हजार ५ सय ९८ जना रहेका छन्। २०७९ सालको निर्वाचनमा ३५ हजार ४ सय ८५ मतदाता रहेकामा यसपटक ५ सय ४६ जनाले वृद्धि भएको कार्यालयले जनाएको छ।मतदान व्यवस्थापनका लागि ४ सय १७ जना कर्मचारी खटाइसकिएको जिल्ला निर्वाचन कार्यालय मुगुका कार्यालय प्रमुख कमलप्रसाद उपाध्यायले जानकारी दिए। उनका अनुसार हवाई मार्गमार्फत मतपत्रसहित आवश्यक निर्वाचन सामग्री जिल्लामा ल्याइसकिएको छ।

सेनाको हेलिकोप्टर प्रयोग गरी प्रत्यक्षतर्फ ३९ हजार र समानुपातिकतर्फ ४० हजार मतपत्रसहित ११ प्रकारका निर्वाचन सामग्री मुगु आइपुगेका छन्।जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगुमा ६८ वटा मतदान स्थल र ७० वटा मतदान केन्द्र तोकिएका छन्। दुर्गमता, मौसम र भौगोलिक जोखिमका बाबजुद निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षा, प्रशासन र निर्वाचन संयन्त्रबीच समन्वय तीव्र बनाइएको छ। निर्वाचन नजिकिँदै जाँदा सेनाको घोडा गस्तीले हिमाली जिल्लामा सुरक्षाको बलियो उपस्थितिसँगै लोकतान्त्रिक अभ्यासलाई सुरक्षित बनाउने प्रयास स्पष्ट देखिएको छ।

मुगुमा निर्वाचन सुरक्षा : सेनाको घोडा गस्ती

कर्णालीको विकास गर्न संविधान र कानून बदल्नुपर्छ

मुगुमा निर्वाचन सुरक्षा : सेनाको घोडा गस्ती

धम्बोझी–खजुरा रोडमा कमरुद्दिन राईको चुनावी घरदैलो ः

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds