प्रतिनिधिसमा निर्वाचन आउन एक साता बाँकी: नतिजा आफ्‌नो पक्षमा पार्न  रणनैतिक मुभमा राजनीतिक दल

ओम शाही

सुर्खेत, १४ फागुन । 

२०७२ मा संविधान जारी भएयता देशमा दुई पटक प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएका छन् । २०७४ र २०७९ मा सम्पन्न निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रले पालैपालो गठवन्धन बनाएर चुनावी मैदानमा उत्रिए । गठवन्धन प्रवृत्तिका कारण कर्णालीमा कहिले कांग्रेस त कहिले एमाले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ बढारिए ।

१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा गठवन्धनका कारण २०७४ मा नेपाली कांग्रेस र २०७९ मा नेकपा एमालेको पक्षमा नतिजा सून्य बन्यो । कर्णालीका १० जिल्लामध्ये सुर्खेत र दैलेखमा २/२ र बाँकी ८ जिल्लामा १/१ निर्वाचन क्षेत्र छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बनाएको गठवन्धनले २०७४ मा १२ मध्ये ११ सिटमा जित निकालेको थियो । सो चुनावमा नेपाली कांग्रेसले कुनै पनि सिटमा जित हासिल गर्न सकेन ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुँदा एमाले सून्य बन्ने अवस्थामा पुगेको थियो । २०७४ को चुनावमा कर्णालीमा कांग्रेसको जित शून्य हुँदा नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले समेत हार बेहोर्नुपरेको थियो । त्यस निर्वाचनमा एमालेका ६ र माओवादी केन्द्रका पाँच र एक स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । तर माओवादीसँगको एकता भंग भएपछि २०७९ को निर्वाचनमा कर्णालीमा एमालेको जित शून्य बन्यो ।

उक्त चुनावमा माओवादी केन्द्र, एकीकृत समाजवादी गठबन्धनसँग तालमेल गरेर अघिल्लो चुनावमा पत्तासाफ भएको कांग्रेसले पुनरागमन गरेको थियो । गत प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १२ सिटमध्ये गठबन्धनले ११ सिट आफ्नो पोल्टामा पारेको थियो । जसमा माओवादीले पाँच, कांग्रेसले चार र एकीकृत समाजवादीका तीन उम्मेदवारले चुनाव जितेका थिए । जुम्लामा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार गोम कुँवर गौतम मात्र हारिन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले हराएका थिए ।

यस्ता छन् दलिय दावी

आसन्न २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन विशेष परिस्थितीका बीच हुँदैछ । यस पटकको निर्वाचन पपुलर राजनीनिक शक्ति र पुराना दलहरुबीच प्रतिस्पर्धा हुने देखिन्छ । २३–२४ भदौको जेनजी आन्दोलनले नियमित समयभन्दा झण्डै दुई वर्षअगावै प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

यस पटकको निर्वाचन कर्णालीमा रोचक हुने देखिएको छ । किनभने यसपटक विगतमा जस्तो कुनै पनि दलले गठनबन्धन गरेका छैनन् । अर्थात् कर्णालीमा गठवन्धन गरेर चुनाव लड्ने दलहरुको वास्तविक जनमत मापन पनि आगामी चुनावले गर्दैछ । दलहरुले चुनावी नतिजा आफ्‌नो पक्षमा पार्न निकै मेहनत गरिरहेका छन् ।

कर्णालीमा १२ सिटका लागि एक सय ३४ उम्मेदवार मैदानमा छन् । आगामी निर्वाचनमा दलहरु एक्ला–एक्लै मैदानमा हुँदा कसले बाजी मार्छ यसै भन्ने सकिने अवस्था छैन् । तर गत निर्वाचनमा कर्णालीका १२ निर्वाचन मध्ये केही ठाउँमा मात्रै उम्मेदवार उठाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसपटक सबै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ । जसले गर्दा एमाले, कांग्रेस र नेकपाको विगतको समिकरणको हिसाव बिग्रने चर्चा छ ।

रास्वपाले आफ्‌नो चुनावी प्रचारलाई आक्रामक बनाउँदा पुराना दलहरुलाई आफ्‌ना मत जोगाउँन रक्षात्मक बन्नुपर्ने अवस्था आएको छ । त्यसैमा एमाले, कांग्रेस र नेकपा लगायतका दलमा लामो समय काम गरेका नेताहरुले दल परिर्वतन गरेर चुनावमा होमिदा त्यसको प्रभाव पनि पुरानै दललाई पर्ने देखिन्छ । तर नेपाली कांग्रेस र नेकपा एमाले भने १२ वटै निर्वाचन क्षेत्र जित्ने दाबी गर्छन् ।

नेपाली कांग्रेसका कर्णाली प्रदेश कार्यसमितिका प्रवक्ता दमनबहादुर शाहीले सबै निर्वाचन क्षेत्रमा कांग्रेसले जित निकाल्ने दावी गर्छन । कांग्रेसप्रतिको जनातको आकर्षण र जनआधार बलियो भएको उनकोे दावी छ ।

‘नेपाली कांग्रेस पुरानो, विश्वासिलो र भरिलो पार्टी हो’, प्रवक्ता शाही भन्छन्, ‘कर्णालीका जनताले हामीलाई अन्यको तुलनामा बढी मत दिन्छन् । नेपाली कांग्रेस कर्णालीमा सबै भन्दा बढी सिट ल्याएर पहिलो दल बन्छ ।’ कांग्रेस स्रोतका अनुसार कर्णालीमा कम्तीमा ६ र बढीमा १० सिट जित्न सकिने आकंलन कांग्रेसको छ । कांग्रेसले सुर्खेत–१, २, दैलेख–२, डोल्पा, मुगु र हुम्ला सहज रुपमा जित्न सकिने क्षेत्रमा राखेको छ भने जाजरकोट, सल्यान, दैलेख–१ र जुम्लालाई प्रतिस्पर्धीका रुपमा राखेको छ ।

एमाले अध्यक्ष शाहले कर्णालीमा एमालेको संगठन बलियो भएको र त्यसैमा दलहरु एक्ला–एक्लै चुनावमा होमिएकाले जित निकाल्न सहज रहेको दावी गर्छन । तर, एमाले स्रोतका अनुसार कममा चार र बढीमा आठ सिट मात्रै जित्न सक्ने आकलन गरिएको छ ।

जसमा सुर्खेत र दैलेखका दुबै निर्वाचन क्षेत्र र कालीकोट तथा सल्यान छन् । साथै जाजरकोट, जुम्ला, मुगु र हुम्ला प्रतिस्पर्धाका रुपमा हेरिएको छ । रुकुमपश्चिमा भने एमालेले प्रगतिशील लोकतान्त्रि पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाएको छ ।

एमाले कर्णाली प्रदेश कमिटि प्रचार विभाग प्रमुख रमेशकुमार शाहीले कर्णाली एमालेको जनआधार बलियो भएकाले अधिकांश निर्वाचन क्षेत्रमा एमालेले जित निकाल्ने दाबी गरे । ‘हाम्रो प्रतिस्पर्धा कांग्रेस र नेकपासँग हो’, शाहीले भने ‘१० जिल्ला मध्ये १/२ बाहेक अन्यमा समानुपातिक मतमा हामी पहिलो नम्बरमा छौं ।’

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका नेता तथा माओवादी केन्द्रका पूर्व कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले १२ वटै निर्वाचन क्षेत्रमा जित निकाल्ने दावी गरे । ‘पूर्वमाओवादीका सहकर्मी नेताहरुले कुनै असर पर्दैन् । मतदाताको मनोविज्ञान हेर्ने हो भने सबैमा जित निस्कने अवस्था छ’, मल्लले भने, ‘अन्यमा संघर्ष गरिरहेका छौँ ।’

नेकपा स्रोतका अनुसार रुकुमपश्चिम, सल्यान, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, दैलेख–१ र २ चुनाव जित्ने आकंलन नेकपाको छ । पछिल्लो समय कर्णालीमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको आकर्षण बढ्दै गएकाले नतिजा आफ्‌नै पक्षमा आउने दावी गर्छन रास्वपा कर्णाली प्रदेश सभापति मदन खड्का ।

‘१२ वटै निर्वाचन क्षेत्रमा हाम्रो माहोल राम्रो छ । पछिल्लो समय युवामा आएको जागरणले रास्वापाप्रतिको आकर्षण निकै बढेकाले हामी उत्साहित छौं,’ उनले भने । यद्यपी, आगामी निर्वाचनमा रास्वपाप्रति देखिएको लहर मतपेटिकासम्म पुर्‍याउन भने निकै चुनौती देखिन्छ । रास्वपा स्रोतका अनुसार कर्णालीबाट आठ निर्वाचन क्षेत्रमा चुनाव जितिने आन्तरिक आँकलन छ ।

रास्वपाले सुर्खेत र दैलेखका २ वटै निर्वाचन क्षेत्रलाई चुनाव जितिने क्षेत्रमा राखेको छ । हुम्ला र सल्यानलाई पनि रास्वपाले जित निकाल्न सकिने क्षेत्र मानेको छ । तर कर्णालीमा सांगठनिक हिसावले कमजोर रास्वपालाई यो नतिजा निकाल्न भने सहज छैन । त्यस्तै, यस पटक जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही  पुनः चुनावी मैदानमा छन् । २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीबीचको गठबन्धनलाई हायलकायल बनाएर शाही सांसद बनेका थिए ।

यस पटक पनि चुनाव जित्नेमा ढुक्क रहेको शाही निकट स्रोत बताउँछ । यस्तै, रुकुमपश्चिमा प्रगतिशील लोकतान्त्रिबाट उम्मेदवार बनेका जनार्दन शर्माले विगतदेखिको जितलाई कायम राख्ने दाउमा छन् । शर्मालाई नेकपा एमालेले उनलाई सहयोग गरेको छ । यता कालीकोटमा यसपटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चुनावी मैदानमा छन् । विप्लव नेतृत्वको माओवादीको प्रभाव अन्य क्षेत्रमा खासै नभएपनि कालीकोटमा भने पूर्वसहकर्मी नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीलाई टक्कर दिइरकेका छन् ।

प्रतिनिधिसमा निर्वाचन आउन एक साता बाँकी:  नतिजा आफ्‌नो पक्षमा पार्न   रणनैतिक मुभमा राजनीतिक दल

सम्पादकीय : सरकारी जग्गा तत्काल खाली गर

प्रतिनिधिसमा निर्वाचन आउन एक साता बाँकी:  नतिजा आफ्‌नो पक्षमा पार्न   रणनैतिक मुभमा राजनीतिक दल

निर्वाचनका लागि भारतसँग जोडिएका सबै सीमा नाका

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds