कालीकोटमा हुलाक तथा सूचनाको हकसम्बन्धी अभिमुखीकरण सम्पन्न

हस्त चौलागाईं 

कालिकोट ,१२ माघ ।
कालीकोटमा हुलाक तथा सूचनाको हकसम्बन्धी अभिमुखिकरण सम्पन्न भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय कालीकोटको आयोजना,तथा हुलाक निर्देशनालय सुर्खेत र जिल्ला हुलाक कार्यालय कालीकोटको समन्वयमा हुलाक तथा सूचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कालीकोट जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी तथा संघ–संस्थाका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न भएको हो। कार्यक्रमका सभाध्यक्ष प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुँयल रहेका थिए भने प्रमुख प्रशिक्षकका रूपमा हुलाक निर्देशक गोविन्दप्रसाद पाण्डे सहभागी थिए।
अभिमुखीकरण कार्यक्रममा हुलाक निर्देशक पाण्डेले हुलाकले परम्परागत चिठीपत्र सेवासँगै पार्सल तथा पुलिन्दा सेवा समेत सुरु गरिसकेको जानकारी दिए। साथै, संचारकर्मीहरूको प्रेस पास नवीकरण, अनलाइन नवीकरण, रेडियोको इजाजतपत्र तथा लाइसेन्स नवीकरण, लोककल्याणकारी विज्ञापन वितरण लगायत संचारकर्मी तथा संचार गृह व्यवस्थापनसम्बन्धी विभिन्न सेवा पनि हुलाकमार्फत प्रवाह भइरहेको बताए।
उनले आगामी दिनमा हुलाक बैंक, हुलाक बिमा, हुलाक रेमिट्यान्स तथा हुलाक बहुसेवा केन्द्र जस्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको समेत जानकारी दिए।
कार्यक्रममा सहभागीहरूलाई सूचनाको हक प्रजातन्त्रको प्राणवायु भएको उल्लेख गर्दै सूचनाको हकको प्रभावकारी कार्यान्वयन, स्वअनुगमनको व्यवस्थापन, आम नागरिकलाई सरकारी कामकाजसम्बन्धी सूचना सहज रूपमा प्रवाह गर्ने विषयमा अभिमुखीकरण गरिएकाे बताए । साथै सूचनाको हकसम्बन्धी कानुनी तथा संस्थागत व्यवस्थाबारे समेत विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रमको सहजीकरण तथा व्यवस्थापन जिल्ला हुलाक कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख प्रजापति पाण्डेले गरेका थिए।
जिल्ला हुलाक कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख प्रजापति पाण्डेले हुलाक सेवा समयसापेक्ष रूपमा विस्तार हुँदै गएको उल्लेख गर्दै सूचना प्रवाहलाई प्रभावकारी बनाउनु आजको आवश्यकता भएको बताए। उनले सूचनाको हकको सही कार्यान्वयनका लागि कार्यालय प्रमुख र सूचना अधिकारीहरूको भूमिकालाई अझ जिम्मेवार र पारदर्शी बनाउन यस्ता अभिमुखीकरण कार्यक्रम महत्वपूर्ण हुने बताए। साथै, आम नागरिकलाई सरकारी सेवा तथा सूचनामा सहज पहुँच सुनिश्चित गर्न हुलाक कार्यालय निरन्तर प्रतिबद्ध रहेको उनको भनाइ थियो।
कार्यक्रमका सभाध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुँयलले सूचनाको हक लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै नागरिकलाई समयमै सही सूचना उपलब्ध गराउनु राज्यको दायित्व भएको बताए। उनले सरकारी कार्यालयहरूलाई सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्दै पारदर्शी र जवाफदेही सेवा प्रवाहमा जोड दिन आग्रह गरे। सूचनाको हकको प्रभावकारी कार्यान्वयनले नागरिक र राज्यबीचको विश्वास मजबुत हुने भन्दै यस्ता अभिमुखीकरण कार्यक्रमले सरकारी कामकाजलाई अझ व्यवस्थित र उत्तरदायी बनाउने विश्वास व्यक्त गरे।

कालीकोटमा हुलाक तथा सूचनाको हकसम्बन्धी अभिमुखीकरण सम्पन्न

जुम्लामा निर्वाचन प्रहरी बढी, ४ सय ५३

Leave a comment

Your email address will not be published. Required fields are marked *