पार्टीका संगठित सदस्यहरुलाई अध्यक्ष ओलीको पत्र– एमालेलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू

काठमाडौं,११ माघ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यलाई एक पत्र लेख्दै एमालेका उम्मेदवारहरुलाई विजयी गराउन सबैलाई उच्च मनोबलसहित सक्रिय हुने आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले हिजो साँझ पार्टीलाई ६ लाख ६३ हजार सदस्यलाई नै पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन् । पत्रमा अध्यक्ष ओलीले आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धेकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने बीचको हार जितको फैसला गर्ने उल्लेख छ । उनले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यकता रहेको पत्रमा उल्लेख गरेका छन् ।
‘देश निमाणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ’ अध्यक्ष ओलीले पत्रमा भनेका छन्, ‘अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरुको विजय सुनिश्चित गर्न कमरेडहरुको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गरेको छु । ’
पार्टीका प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार सबै पार्टी सदस्यहरुलाई निर्वाचन प्रचारमा सक्रियतापूर्वक लाग्नका लागि उत्साहित बनाउन अध्यक्ष ओलीले पत्र लेखेका हुन् ।
‘ठूलो संख्यामा रहेका पार्टी सदस्यहरुलाई अध्यक्षज्यूले व्यक्तिगत पत्र लेखेर हौसला प्रदान गर्नुभएको छ ’ शाहीले भने, ‘यसबाट पार्टीका संगठित सदस्यहरुले अध्यक्षसँग सिधा सम्पर्कको पनि अनुभूति गर्ने विश्वास गरिएको छ ।’
देशमा विध्वंस र आगजनी गर्नेहरुलाई चुनावी मैदानबाटै विदा गरेर निर्माणको नेतृत्व गरेको एमालेले देशको नेतृत्व गर्नुपर्छ भन्ने सन्देश पार्टी सदस्यमार्फत आम मतदातामा पुर्याउनका लागि पनि पत्राचार गरिएको शाहीको भनाइ छ ।






