आज राष्ट्रियसभा सदस्य निर्वाचन, कर्णालीमा ५ हजार १२२ मतभार

ओम शाही

सुर्खेत, ११ माघ ।

कर्णालीबाट रिक्त हुने राष्ट्रियसभा सदस्यका लागि आज (आइतबार) निर्वाचन हुँदैछ । कर्णालीबाट रिक्त हुने दुई पदका लागि तीन दलले २३ पुसमा उम्मदेवारी दर्ता गराएका थिए । नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर अघि बढ्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले एकल उम्मेदवारी दिएर चुनावी मैदानमा छ ।

आगामी फागुनमा एक राष्ट्रपतिबाट मनोनीतसहित १९ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ । तीमध्ये १८ सिटका लागि निर्वाचन हुन लागेको हो । बाँकी एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । फागुनमा पदावधि सकिनेमा कर्णालीका दुई जना छन् । जसमा महिलातर्फ सुर्खेतकी सुमित्रा बीसी र अन्यतर्फ जाजरकोटका मायाप्रसाद शर्मा छन् । यी दुई सिटमा कांग्रेस–एमाले र नेकपाबीच प्रतिस्पर्धा हुनेछ ।

बिसी एमाले र शर्मा तत्कालिन माओवादी केन्द्रको कोटाबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । कर्णालीमा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस–एमालेको गठबन्धनबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिंह रखाल उम्मदेवार रहदा नेकपाको तर्फबाट रुकुम पश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अञ्जु महतारा शाही उम्मदेवार छन् ।

शाही जुम्ला र रखाल दैलखकी हुन् । अन्तिम समयमा तीन दलबीच भागवण्डा नमिलेपछि नेकपाले कर्णालीबाट रिक्त दुई पदमा उम्मदेवारी दर्ता गराएको थियो । शाही नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति हुन् । उनी २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित भएका थिए ।

त्यस्तै, उनी २०७९ मा सम्पन्न कर्णाली प्रदेशसभा सदस्यमा कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र चुनाव लडेका देवेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए । त्यस्तै, रखाल २०७४ मा समानुपातिकतर्फ एमालेबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी गएको मंसिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । नेकपाबाट राष्ट्रियसभा उम्मेदवार बनेका शर्मा र महतारा नयाँ अनुहार हुन् । यसपटकको राष्ट्रियसभा निर्वाचनमा कर्णालीबाट नेकपाले भएको एक सिट गुमाउने निश्चित छ ।

एमालेले आफ्नो यसअघिको एक सिट जोगाउँदा कांग्रेसले भने कर्णालीबाट एक सिट थप्ने छ । कर्णालीमा प्रदेशसभा सदस्य र पालिका प्रतिनिधिको मतभारमा कांग्रेस–एमालेको बहुमत छ । यी दुई दलको कुल मतभार तीन हजार ५८ छ । कर्णालीमा कार्यकाल सकिन लागेका राष्ट्रियसभा सदस्य कांग्रेसका एक जना पनि छैनन् । तर, कर्णालीमा कांग्रेस मतभारमा सबैभन्दा अगाडि छ ।

मतभारका हिसाबले दोस्रोमा नेकपा र तेस्रोमा एमाले छ । राष्ट्रिसभा सदस्य निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ । जसअनुसार नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र प्रदेशसभा सदस्यको कुल मतभार पाँच हजार एक सय २२ छ ।

कर्णालीमा कांग्रेससँग प्रदेशसभातर्फ १४ सांसद र ५९ पालिका प्रतिनिधि गरी कुल एक हजार आठ सय ६३ मतभार  छ । यस्तै, तत्कालीन माओवादी केन्द्रका १३ प्रदेशसभा सदस्य र ४८ पालिका प्रतिनिधि गरी कुल एक हजार ६ सय एक मतभार छ । तत्कालीन एकीकृत समाजवादीको एक प्रदेशसभा सदस्यको ५३ मतभार र १० पालिका प्रतिनिधि गरेर दुई सय ४३ छ । यसो हुँदा नेकपासँग कुल एक हजार आठ सय ४४ मतभार हुन्छ । त्यस्तै, एमालेसँग १० प्रदेशसभा सदस्य र ३५ पालिका प्रतिनिधि गरी एक हजार एक सय ९५ मतभार छ । राप्रपाको १ प्रदेश सांसदको ५३ र स्वतन्त्रको १ प्रदेश सांसद तथा ६ पालिका गरेर एक सय ६७ मतभार छ ।

यी हुन कार्यकाल सकिन लागेका राष्ट्रियसभा सदस्य

आगामी फागनुदेखि एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसदको पदावधि सकिन लागेको हो । रिक्त हुन लागेकामध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् ।

उनको ठाउँमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले सांसद मनोनित गर्नेछन् । कार्यकाल सकिएर बिदा हुन लागेका अन्य सांसदमा नेकपाका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल छन् ।

भुसाल तत्कालीन एकीकृत समाजवादीबाट राष्ट्रियसभाको सांसद भएका नेता हुन् भने बाँकी सात जना तत्कालीन माओवादी केन्द्रका सांसद हुन् । त्यसैगरी एमालेबाट सांसद बनेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको कार्यकाल पनि सकिँदैछ । जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको पनि कार्यकाल सकिन लागेको छ ।

गठवन्धनलाई जिताउन एमालेको आग्रह

नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारलाई विजयी बनाउन अपिल गरेको छ । शनिबार कर्णाली प्रदेशसभा भवनमा बसेको नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले शनिबार हुने राष्ट्रियसभा निर्वाचनमा महिलातर्फ मीनासिंह रखाल र अन्यतर्फ ललितजंग शाहीलाई मतदान गरी विजयी बनाउन सबै अपिल गर्ने निर्णय गरेको हो ।

दलका नेता एवं कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा सम्पन्न बैठकले नेकपा (एमाले)को एघारौँ महाधिवेशनबाट मुख्यमन्त्री कँडेल केन्द्रीय सचिव पदमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

त्यस्तै, बैठकले १८ माघदेखि सुरु हुने कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनमा संसदीय दलका सबै सदस्यहरू सक्रिय रूपमा सहभागी भई प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको छ । यता नेपाली कांग्रेसले पनि गठवन्धनका उम्मेदवारलाई विजयी गराउँन सर्कुलर गरिसकेको छ । कांग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमनबहादुर शाहीले गठवन्धनका उम्म्देवारलाई विजयी गराउन कांग्रेस–एमाले प्रतिवद्ध भएर लागेको बताए । उनका अनुसार मतदानमा सहभागी हुन पालिका प्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्षहरु वीरेन्द्रनगर आइसकेका छन् । निर्वाचन विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

आज राष्ट्रियसभा सदस्य निर्वाचन, कर्णालीमा ५ हजार १२२ मतभार

सम्पादकीय : दलहरुको शक्ति मापन हुने चुनाव

Leave a comment

Your email address will not be published. Required fields are marked *