दार्चुलामा निर्वाचन सुरक्षाका लागि मतदानस्थलमा संयुक्त सुरक्षा गस्ती

दार्चुला, १२ फागुन ।
निर्वाचन सुरक्षाका लागि तीनवटै सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा संयुक्त सुरक्षा गस्ती थालेका हुन् ।
जिल्लामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र छन् । ती स्थलको अनुगमन तथा त्यस ठाउँका नागरिकलाई सुरक्षाको प्रत्याभूतिका लागि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
उनका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती परिचालन गरिएको छ । उनीहरुले हरेक ठाउँमा नियमित जाँच, इजाजत प्राप्त हतियारको सङ्कलन, अवैध मदिरा नियन्त्रणका लागि बजार पसल अनुगमन, अवैध मदिरा बरामद गरी नष्ट तथा मतदानस्थलको नियमित रुपमा अनुगमन भइरहेको उनले बताए ।
जिल्लाभरि सुरक्षाको अवस्थाको निरन्तर मूल्याङ्कन तथा निरीक्षणको काम चलिरहेको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार निर्वाचनका विषयमा आवश्यक निर्देशन दिन सुदूरपश्चिम प्रदेशका मुख्य सचिव वैकुण्ठप्रसाद अर्यालले दार्चुला पुगेर आवश्यक चुनावी तयारीबारे निर्देशन दिएका छन् । नौगाड गाउँपालिका–१ को नागुका स्थानीयले नो भोट भनेपछि त्यहाँको निर्वाचनका विषयमा बैठकमा छलफल भएको उनले बताए ।
अहिलेसम्म नागुका स्थानीय मतदान गर्न तयार छैनन् । उहाँले भन्नुभयो, “व्यास गाउँपालिका–२ का स्थानीय भने मतदान गर्न तयार भएका छन् ।” दार्चुलामा निर्वाचनका लागि ८५६ जना कर्मचारी खटाइए फागुन २१ गते हुने निर्वाचनका लागि दार्चुलामा ८५६ जना कर्मचारी खटाइएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा निर्वाचनका लागि खटिने कर्मचारीको अन्तिम सूची प्रकाशन गरेको छ ।
सहायक निर्वाचन अधिकृत विष्णु अवस्थीका अनुसार एउटा मतदान केन्द्रमा छ जनासम्म कर्मचारी परिचालन गरिएको छ । दुई वटा अस्थायी मतदान केन्द्रमा तीन तीन जना कर्मचारी खटाइएको छ । निर्वाचनका लागि खटाइएका कर्मचारीलाई यही फागुन १३ र १४ गते तालिम दिएर मतदान केन्द्रमा पठाउने तयारी भएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धाँमीले जानकारी दिनुभयो । धाँमीका अनुसार पहिलो चरणमा अपिहिमाल गाउँपालिकाका १० वटा, व्यास गाउँपालिकाका १३ वटा, मार्मा गाउँपालिकाका १७ वटा, लेकम गाउँपालिकाका १७ वटा र नौगाड गाउँपालिकाका १४ तथा अस्थायी मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिमको आयोजना गरिएको छ ।
त्यस्तै, दोस्रो चरणमा महाकाली नगरपालिकाका २० वटा, शैल्यशिखर नगरपालिकाका २३ वटा, मालिकार्जुन गाउँपालिकाका १८ वटा, दुहुँ गाउँपालिकाका ११ वटा मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम आयोजना गरिएको उनले बताए ।
प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ११२ वटा मतदानस्थल र १४३ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ४५ हजार १९३ महिला र ४७ हजार ७५५ पुरुष गरी कूल ९२ हजार ९४८ मतदाता छन् ।






