जुम्लामा निर्वाचन तयारी तीव्र

गाेल्डेन बुढा

जुम्ला ,१२ फाल्गुन ।

आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालयले मंगलबार जिल्लास्थित सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा जिल्लाको अद्यावधिक मतदाता तथ्याङ्क, मतदानस्थल तथा मतदान केन्द्रको अवस्था र निर्वाचन तयारीको समग्र खाका सार्वजनिक गरिएको छ।जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लो अद्यावधिकमा तीन हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्।२०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने मतदातालाई समेट्दा जुम्ला जिल्लाको कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ पुगेको छ। यसमध्ये पुरुष ३७ हजार ४ सय ५९ र महिला ३४ हजार २ सय ८० जना रहेका छन्।

यसअघि २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला जिल्लामा ६८ हजार ६ सय ३८ मतदाता थिए। हालको तथ्याङ्कसँग तुलना गर्दा ३ हजार १ सय १ जना नयाँ मतदाता थपिएको देखिन्छ। तीमध्ये पुरुष १ हजार ७ सय ५९ र महिला १ हजार ३ सय ४२ जना छन्। निर्वाचन कार्यालयले यो वृद्धिलाई लोकतान्त्रिक प्रक्रियाप्रतिको जनचासो र मतदाता नामावली अद्यावधिकको सकारात्मक प्रभावका रूपमा व्याख्या गरेको छ।भौगोलिक विकटता र बस्तीको फैलावटलाई ध्यानमा राख्दै जिल्लामा ८५ वटा मतदानस्थल र १ सय १० वटा मतदान केन्द्र तोकिएका छन्। आठवटा स्थानीय तहमध्ये सबैभन्दा बढी १८ वटा मतदान केन्द्र चन्दननाथ नगरपालिकामा र सबैभन्दा कम १० वटा मतदान केन्द्र गुठीचौर गाउँपालिकामा निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कंडेलले जानकारी दिए। मतदान व्यवस्थापनका लागि ६ सय ४८ जना कर्मचारी खटाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले पछिल्ला वर्षहरूमा निर्वाचन आयोगले प्रविधिमैत्री निर्वाचन प्रणाली र डिजिटल मतदाता शिक्षामा जोड दिएको बताए। उनका अनुसार अब मतदाता शिक्षाका कार्यक्रम प्रविधिमार्फत प्रभावकारी रूपमा सञ्चालन गरिनेछ र गाउँगाउँमा पुगेर गरिने परम्परागत कार्यक्रम क्रमशः घटाइनेछ।“सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्नु मतदाता शिक्षाको मूल उद्देश्य हो,” उनले भने। नयाँ मतदाता थपिनु लोकतान्त्रिक अभ्यासप्रतिको सकारात्मक संकेत भएको उल्लेख गर्दै उनले सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन प्रक्रियामा सक्रिय सहभागी हुन आग्रह गरे।सुरक्षाको पक्षमा प्रशासन पूर्ण रूपमा तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए। “निर्वाचनलाई सुरक्षित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा, समन्वय र व्यवस्थापनका सबै पक्षमा प्रशासन सजग छ,” उनले भने, “मतदाताले निर्भय वातावरणमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गरिनेछ।”उनका अनुसार निर्वाचन अन्तिम चरणमा प्रवेश गरेसँगै जिल्लाका विभिन्न मतदानस्थलको स्थलगत अनुगमन गरिएको छ। आचारसंहिता उल्लंघन नियन्त्रणका लागि विशेष अधिकृत खटाइएको, सुरक्षा संयन्त्र सक्रिय बनाइएको र संवेदनशील क्षेत्रहरूमा थप निगरानी बढाइएको प्रशासनले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालयले आगामी निर्वाचनलाई व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको जनाएको छ। कार्यालयले पुनः सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गरी लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।यसैबीच, निर्वाचनका लागि जुम्लामा मतपत्र आइपुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र जिल्लामा ल्याइसकिएको छ। मतपत्रहरू चाँडै नै सबै मतदान केन्द्रमा पठाउने तयारी भइरहेको कार्यालयले जनाएको छ।

जुम्लामा निर्वाचन तयारी तीव्र

तोरीको चटारो, चुनावको चासो: सीमावर्ती चौफेरीका मतदाता

जुम्लामा निर्वाचन तयारी तीव्र

निर्वाचनका लागि तीन दिन बिदा दिइने

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds