अन्तिम चरणमा जानकीको १५ शैयाको अस्पताल भवनसँगै जनशक्ति सुनिश्चित गर्न स्थानीयको जोड

बाँके ,१० माघ।
बाँकेको जानकी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल अन्तिम चरणमा पुगेको छ । वर्षौंदेखि सामान्य उपचारका लागि पनि नेपालगञ्ज, कोहलपुर वा सीमापारि भारत जानुपर्ने बाध्यतामा रहेका स्थानीयवासीका लागि यो अस्पताल आशाको केन्द्र बनेको छ । अस्पतालको संरचना लगभग तयार भइसकेपछि गाउँमै स्वास्थ्य सेवा पाउने विश्वास बलियो हुँदै गएको छ ।
७ हजार २ सय ६३ घरधुरी र ४६ हजार ५ सय ३६ जनसंख्या रहेको जानकी गाउँपालिकामा यसअघि स्वास्थ्य सेवाको पहुँच निकै कमजोर थियो । सानो चोटपटक, ज्वरो, गर्भावस्था जाँचदेखि आकस्मिक अवस्थासम्मका लागि टाढा जानुपर्ने बाध्यता थियो ।
समयमै उपचार नपाएर ज्यान गुमाएका दर्दनाक घटनाहरू स्थानीयको स्मृतिमा अझै ताजा छन् । यही पीडाले अस्पताल निर्माणको मागलाई अझ बलियो बनाएको थियो । अहिले भने अस्पतालको भवन उभिएसँगै स्थानीयमा भरोसा पलाएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै अस्पताल भवनसँगै जनशक्ति अनिवार्य रहेकोमा जोड दिए । “भवन मात्र बनाएर अस्पताल चल्दैन, यहाँ डाक्टर, नर्स, ल्याब टेक्निसियन, फार्मेसी कर्मचारीलगायत आवश्यक जनशक्ति तत्काल व्यवस्थापन हुनुपर्छ,” उनले भने । उनले संघीय तथा प्रदेश सरकारसँग समन्वय गरी अस्पताल सञ्चालनका लागि आवश्यक दरबन्दी स्वीकृत गराउन पहल भइरहेको जानकारी दिए ।
जानकी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता दिनानाथ यादवका अनुसार अस्पतालको करिब ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । “अब दुई महिनाभित्र भवन हस्तान्तरण हुने तयारीमा छौं,” उनले भने । उनका अनुसार अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा गाउँमै उपलब्ध हुनेछ, जसले समय, खर्च र जोखिम तीनै कम गर्नेछ ।
प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले अस्पताल सञ्चालनपछि सेवा प्रवाहमा गुणात्मक सुधार आउने विश्वास व्यक्त गरे । “अहिले प्राथमिक उपचारका लागि समेत अन्यत्र जानुपर्ने अवस्था छ । अस्पताल सञ्चालनमा आएपछि आपतकालीन सेवा, प्रसूति सेवा, प्रयोगशाला जाँच लगायतका आधारभूत सेवा सहज हुनेछन्,” उनले बताए । उनका अनुसार अस्पतालले ग्रामीण भेगमा स्वास्थ्य सचेतना बढाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।
वरिष्ठ लेखा अधिकृत मतिन अन्सारीका अनुसार अस्पताल निर्माणका लागि कुल १७ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । सोही अनुसार करसहित ११ करोड ४४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो । निर्धारित समयभित्रै निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनका अनुसार अब आवश्यक उपकरण जडान र आन्तरिक व्यवस्थापनको काम बाँकी छ ।
स्थानीयवासीहरूले अस्पताल भवन बनेकोमा खुसी व्यक्त गरेका छन् । तर, उनीहरूमा एउटा साझा चिन्ता पनि छ—भवन तयार भए पनि यदि स्वास्थ्यकर्मी नआए भने अस्पताल नाममै सीमित हुने हो कि भन्ने डर । “हामीले अस्पतालको सपना देखेका हौं, खाली भवन होइन,” स्थानीय समाजसेवी रामप्रसाद यादवले भने । उनका अनुसार राज्यले भवनसँगै जनशक्ति र उपकरण सुनिश्चित नगरे स्थानीयको अपेक्षा अधुरै रहनेछ ।
जानकी गाउँपालिकाका लागि यो अस्पताल एउटा संरचना मात्र होइन, राज्यको प्रतिबद्धताको परीक्षा पनि हो । ४६ हजारभन्दा बढी नागरिकको जीवनसँग जोडिएको यो अस्पताल जनशक्ति र व्यवस्थापन सुनिश्चित भएमा मात्र व्यवहारिक र प्रभावकारी बन्नेछ । स्थानीयवासीहरू अब अस्पताल सञ्चालनको दिन कुरिरहेका छन् जहाँ उपचारका लागि टाढा जानुपर्ने बाध्यता इतिहाँस बन्नेछ भन्ने आशासहित ।




