हिउँसँगै फर्कियो भरोसा

गाेल्डेन बुढा

जुम्ला,१० माघ।
शनिबार बिहान जुम्लाका डाँडाकाँडा सेताम्मे हुँदा धेरै किसानका अनुहारमा भने लामो समयपछि मुस्कान फर्किएको थियो। वर्षौंदेखि खडेरी, असिनापानी र अनियमित मौसमसँग जुध्दै आएका किसानका लागि यो हिमपात केवल चिसोको आगमन मात्र थिएन, आशाको संकेत पनि थियो।पछिल्ला केही वर्षयता जुम्लाका लेकाली भूभागमा छिटपुट हिमपात भए पनि तल्लो भेगमा हिउँको सट्टा वर्षा हुँदै आएको थियो। त्यसले हिउँदेबालीको चक्र नै बिगार्दै लगेको किसान बताउँछन्। तर यसपटक भने जिल्लाभर एकसाथ परेको हिमपातले जमिन ढाकेको छ। सदरमुकाम क्षेत्रमा आधा फिट र लेकाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको छ।

चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ। सडकमा सन्नाटा छ, बजार खुल्न ढिला भएको छ। कर्णाली राजमार्ग र ग्रामीण सडकमा सवारीसाधन चल्न सकेका छैनन्। हवाई सेवा पनि अवरुद्ध छ। पशुबस्तु गोठमै थुनिएका छन्, किसानले घाँस–पानी बोकेर गोठ धाइरहेका छन्।तर यही चिसोबीच किसानको मन भने तातिएको छ। जुम्लाको सिंजा गाउँपालिका–२ का गोपाल रोकाया खेततिर हेर्दै भन्छन्, “कहिले खडेरीले रुवायो, कहिले असिनाले। यो पटकको हिउँले चाहिँ बाली सप्रिन्छ भन्ने भरोसा दिलायो।” उनका अनुसार मंसिर–पुसमै हिउँ पर्नुपर्ने भए पनि माघमा परेको हिमपातले जमिनमा आवश्यक चिस्यान दिएको छ।कृषि विज्ञहरू पनि यस हिमपातलाई सकारात्मक रूपमा हेर्छन्। उनीहरूका अनुसार हिउँ पग्लिँदा माटोमा पानी सञ्चित हुन्छ, जौ र गहुँजस्ता हिउँदेबालीको जरा बलियो बन्छ। जुम्लाको पहिचान बनेको स्याउमा लाग्ने कालो तुसारो र ढुसीजन्य रोगको जोखिम समेत कम हुन्छ।हिमपातले तत्काल यातायात र जनजीवनमा समस्या ल्याए पनि दीर्घकालमा कृषि उत्पादनमा यसको महत्व ठूलो हुने विज्ञहरूको बुझाइ छ। समयमै मलखादको व्यवस्थापन र बाली संरक्षण गर्न सकेमा यस वर्ष उत्पादन सुधार हुने सम्भावना रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीकाे भनाइ छ।जिल्ला प्रशासन कार्यालयका अनुसार जुम्लाका आठै स्थानीय तहका सबै ६० वडामा हिमपात भइरहेको छ।

भारी हिमपातका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।जुम्लासँगै कालिकोट, मुगु, हुम्ला र डोल्पाका डाँडाकाँडा पनि सेताम्मे भएका छन्।

लामो समयदेखि खडेरीले थलिएको कर्णालीमा यो हिमपातले केवल जमिन मात्र भिजाएको छैन, किसानको मनमा पनि भरोसाको बीउ रोपेको छ।जिल्लाको कुल २ लाख ५३ हजार १ सय हेक्टर क्षेत्रफलमध्ये ३८ हजार ४ सय ८६ हेक्टर मात्र खेतीयोग्य छ । ३ हजार ६ सय ५० क्षेत्रफल अर्थात १३.८१ प्रतिशत मात्रै सिंचित जमिन हो ।परम्परागत रूपमा जुम्लामा गहुँ, जौ, मकै, कोदो, चिनो, कागुनो, धान र फापर उत्पादन भइरहेको छ ।

हिउँसँगै फर्कियो भरोसा

लुम्बिनी प्रदेशसभाको दोस्रो बैठक माघ १३ मा,

हिउँसँगै फर्कियो भरोसा

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५०

Leave a comment

Your email address will not be published. Required fields are marked *