हात्तीपाइले रोगको उच्च जोखिममा बाँके

बाँके ,१० माघ।

बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । एक अध्ययन अनुसार बाँकेमा औसत रूपमा प्रत्येक १०० जनामध्ये ६.५ जनाको शरीरमा हात्तीपाइले रोगका वयस्क परजीवी रहेका छन् ।

विशेषज्ञका अनुसार यो सङ्क्रमण दर १ प्रतिशतभन्दा तल नझरेसम्म जोखिम कायमै रहन्छ। एक पटक मानिस सङ्क्रमित भएपछि उपचार नपाएको खण्डमा ४ देखि ६ वर्षसम्म अरूलाई रोग सार्न सक्ने खतरा रहने भएकाले औषधि सेवन अत्यन्त आवश्यक मानिएको छ ।

नेपालमा राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान १५ औँ पटक सम्पन्न भइसकेको छ । तर बाँके जिल्लामा अझै पनि १५.३६ प्रतिशत नागरिकले एक पटक पनि औषधि सेवन नगरेको तथ्याङ्कले देखाएको छ। औषधि नखानेको प्रतिशत १० भन्दा माथि हुँदा रोग नियन्त्रण चुनौतीपूर्ण हुने विज्ञहरूले बताएका छन् ।

यही अवस्थालाई ध्यानमा राख्दै नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १६ औँ पटक हात्तीपाइले रोग विरुद्ध औषधि सेवन अभियान सञ्चालन भइरहेको छ । गत वर्ष जिल्लाभर ६२ प्रतिशत नागरिकले औषधि सेवन गरेका थिए भने नेपालगन्ज उपमहानगरपालिकामा मात्र ५६ प्रतिशत कभरेज पुगेको थियो ।

विशेष गरी नेपालगन्जको वडा नम्बर १६ मा औषधि सेवन दर १४ प्रतिशत मात्र रहेको छ । स्वास्थ्य विज्ञका अनुसार एकै पटक कम्तीमा ८० प्रतिशत नागरिकले औषधि सेवन नगरेसम्म हात्तीपाइले रोग निवारण सम्भव हुँदैन ।

अभियानलाई प्रभावकारी र नतिजामुखी बनाउन नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानको अभिमुखीकरण, योजना तथा तर्जुमा गोष्ठी” शीर्षकमा आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले रोगको जोखिम, औषधि सेवनको महत्व र अभियान पुनः सञ्चालन गर्नुपर्ने कारणबारे प्रस्तुतीकरण गरे ।

त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अभियानको योजना र नगरको वर्तमान अवस्थाबारे जानकारी गराए । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले अभियान सफल बनाउन सबै पक्ष दृढ संकल्पसहित लाग्नुपर्नेमा जोड दिए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यसपटक लक्ष्य हासिल गर्न थप मेहनत र प्रतिबद्धता आवश्यक रहेको बताउँदै औषधि सेवनबारे फैलिएका भ्रम चिर्नु जरुरी रहेको उल्लेख गरे ।

स्वास्थ्य कार्यालय बाँकेका मलेरिया इन्स्पेक्टर रत्नलाल शर्माको सहजीकरणमा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख सुनिता पौडेलले अभियानको उद्देश्य र महत्वबारे प्रकाश पारे । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, वडा नम्बर ६ का अध्यक्ष समीर प्रताप सिंह लगायतले अभियानलाई सफल बनाउन सबै तहबाट सक्रिय रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

हात्तीपाइले रोगको उच्च जोखिममा बाँके

टीकापुर महोत्सवमा टिकट बिक्रीबाट रु ५० लाख

हात्तीपाइले रोगको उच्च जोखिममा बाँके

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, फसेका गाडी र

Leave a comment

Your email address will not be published. Required fields are marked *