पहिलो पटक गठवन्धन बिनै चुनावी प्रतिस्पर्धामा दलहरु: यस्तो थियो कर्णालीमा २०७९को चुनावी अंक गणीत

ओम शाही
सुर्खेत, १० माघ ।
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब ४१ दिन बाँकी छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्याधीस सुशीला कार्की नेतृत्वको सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचको मिति घोषणा गरेर आवश्यक तयारी तीव्र पारिरहेको छ । निर्वाचन कार्यतालिका अनुसार निर्वाचन आयोगले प्रनितिनिधिसभा निर्वाचनमा भाग लिन चाहने दल तथा स्वतन्त्र उम्मेदवारहरुको मनोनयनसमेत गरिसकेको छ ।
योसँगै दल तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव लक्षित राजनीतिक गतिविधि बढाएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले आगामी निर्वाचनमा भाग लिदै छन् । जेन–जी आन्दोलपछि विकसित राजनीतिक परिघटनाले नियमित समयभन्दा दुई वर्ष अघि हुन लागेको निर्वाचनको नतिजा कस्तो आउँछ भन्नेमा सर्वत्र चासो बढेको छ । कर्णालीमा विशेष गरी कांग्रेस, एमाले र नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने निर्वाचनमा यस पटक रास्वपाले पनि पुराना दललाई चुनौती दिन सक्ने आँकलन छ ।
२०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र नेपाली कांग्रेस मिलेर बनेको गठवन्धन र नेकपा एमाले बीच मुख्य प्रतिस्पर्धा भएको थियो । गठवन्धनका कारण एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फका सबै सिट गुमाएको थियो । २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादीबीच बनेको गठवन्धनका कारण कांग्रेसले सबै सिट गुमाएको थियो । तर, यस पटक भने यीनै दलबीच त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
कर्णालीमा दुई चुनावमा फरक–फरक दलबीच गठवन्धन भई कुनै एक दल सून्य हुने अवस्था यस पटक अन्त्य हुनेछ । अर्थात, २०७४ र २०७९ मा गठवन्धन गरेका कांग्रेस, एमाले र नेकपाको स्पष्ट हैसियत यस पटकको चुनाले तय गर्नेछ । यस पटकको निर्वाचनमा कुनै पनि दलले गठवन्धन नगरी एक्लाएक्लै निर्वाचनमा होमिएकाले दलहरुको शक्ति मापन हुने आँकलन कर्णालीमा छ ।
गएका दुवै निर्वाचनमा एमाले र कांग्रेससँग छुट्टाछट्टै गगठवन्धन गरेर आफ्नो विरासत जोगाउँदै आएको तत्कालिन माओवादी हालको नेकपाको हैसियत कर्णालीमा पहिलो पटक मापन हुँदैछ । नेकपाले कर्णालीलाई आफ्नो जनाधार बलियो भएको ठान्दछ । त्यस्तै, गएको निर्वाचनमा प्रतिनिधिसभातर्फ एक सिट जितेको राप्रपा र समानुपातिकतर्फ एक सिट जितेको रास्वापा पनि चुनावी मैदानमा उत्रिएको छ । विशेष गरी जेन–जी आन्दोलनपछि नयाँ दलमा देखिएको आकर्षण पुराना दलका सामु चुनौती बन्न सक्ने आँकलन छ ।
२०७९ लाई फर्केर हेर्दा
२०७९ मा कांग्रेस–माओवादी र समाजवादीबीचको गठवन्धनका तर्फबाट उम्मेदवार बनेका प्रकाश ज्वाला सल्यानबाट विजयी भएका थिए । तत्कालिन समाजवादीका उनले ३५ हजार सात सय सात मत प्राप्त गरेका थिए । उति बेला पुतली चिन्हबाट स्वतन्त्र चुनाव लडेका राजेन्द्रबहादुर शाहले १९ हजार सात सय ९२ मत प्राप्त गर्दा नेकपा एमालेका राजेन्द्रवीर रायले १३ हजार ३९ मत पाएका थिए ।
त्यस्तै, डोल्पामा कांग्रेस–माओवादीको गठवन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनबहादुर बुढाले ११ हजार दुई सय ९२ मत प्राप्त गरी विजयी हुँदा एमालेका गणेशबहादुर शाहीले पाँच हजार पाँच सय पाँच मत ल्याएर पराजित भएका थिए । मुगुबाट कांग्रेसका ऐनबहादुर शाहीले १४ हजार सात सय ६ मत प्राप्त गर्दा एमालेका राजबहादुर कार्कीले दश हजार सात १० मत प्राप्त गरी पराजित भएका थिए ।
गठवन्धनमा माओवादीको भागमा परेको हुम्लाबाट छिरिङ डम्डुल लामाले १४ हजार तीन सय ७१ मत प्राप्त गरी विजय भएका थिए । उनका प्रतिद्वन्द्वि एमालेका दल रावलले नौ हजार पाँच सय १६ मत प्राप्त गरेका थिए । २०७९को चुनावमा गठवन्धनलाई चुनौति दिदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही दोब्बर मतान्तरले विजयी भएका थिए ।
उनले गठवन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादीकी गोमा गौतम कँुवरलाई हराएका थिए । कँुवरले ११ हजार नौ सय ५९ मत प्राप्त गर्दा एमालेका रतननाथ योगीले ६ हजार पाँच सय २८ मत प्राप्त गरेका थिए । शाही यस पटकको निर्वाचनमा पनि राप्रपाका तर्फबाट उम्मेदवार छन् । कालीकोटबाट २३ हजार सात सय २७ मत ल्याएर गठवन्धनकातर्फबाट माओवादीका मेहन्द्रबहादुर शाही विजयी हुँदा एमालेका नगीन्द्र शाहीले १६ हजार सात सय १८ मत प्राप्त गरेका थिए । यी दुवै जना पुनः २१ फागुनमा प्रतिस्पर्धा गर्दैछन् ।
दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ बाट कांग्रेसका दिक्पालकुमार शाही २० हजार एक सय ८३ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वि एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार १६ मत प्राप्त गरेका थिए । यस पटक पनि शाही र पोखरेल चुनावी मैदानमा छन् । यस्तै, दैलेख–२ बाट समाजवादीका अम्मरबहादुर थापा १८ हजार दुई सय ९७ मतले विजयी हुँदा एमालेका रविन्द्रराज शर्माले १७ हजार चार सय ४५ मत प्राप्त गरी पराजित भएका थिए । थापा र शर्मा पनि आगामी निर्वाचनमा उम्मेदवार छन् ।
जाजरकोटमा गठवन्धनकातर्फबाट उम्मेदवार बनेका माओवादीका शक्तिबहादुर बस्नेतले ३४ हजार एक सय ५१ मत ल्याएर विजयी हुँदा एमालेका निरजप्रसाद आचार्यले २५ हजार एक सय २० मत प्राप्त गरेका थिए । बस्नेत पुनः उम्मेदवार बनेका छन् । रुकुम पश्चिमबाट तत्कालिन माओवादीबाट जनार्दन शर्मा निर्वाचित भएका थिए । शर्माले ३९ हजार पाँच सय ४९ मत प्राप्त गरी विजयी हुँदा एमालेका नन्दराम देवकोटाले १२ हजार नौ सय ६१ मत प्राप्त गरेका थिए ।
त्यस्तै, दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत–१ बाट गठवन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका पूर्णबहादुर खड्का विजयी भएका थिए । उनले ४२ हजार ६ सय सात मत प्राप्त गर्दा एमालेका ध्रुवकुुमार शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गरी पराजित बनेका थिए । शाही यस पटक पनि आगामी निर्वाचनमा उम्मेदवार बनेका छन् ।






