सल्यानमा अनुभवी र नयाँ पुस्ताबीच कडा प्रतिस्पर्धा: प्रतिनिधिसभा चुनाव रोचक बन्दै

सल्यान ,१० माघ।

सल्यानमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना राजनीतिक दलका अनुभवी नेता र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । लामो राजनीतिक अनुभव बोकेका नेताहरू र पहिलो पटक संसदीय चुनाव लड्न मैदानमा उत्रिएका नयाँ अनुहारबीचको भिडन्तले यसपटकको चुनावलाई निकै चासोपूर्ण बनाएको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा साविक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँगको गठबन्धनका कारण नेपाली कांग्रेसले सल्यानमा आधिकारिक उम्मेदवार उठाउन पाएको थिएन । गठबन्धनको निर्णयविपरीत कांग्रेसका प्रभावशाली नेता राजेन्द्रबहादुर शाहले स्वतन्त्र (बागी) उम्मेदवारी दर्ता गराएका थिए । उनले गठबन्धनका आधिकारिक उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै १९ हजार ७९२ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका थिए ।

यसपटक भने कांग्रेसले जिल्ला सभापति केशबहादुर विष्टलाई उम्मेदवार बनाएको छ । यसअघि जिल्ला समन्वय समिति सल्यानका प्रमुखसमेत रहिसकेका विष्ट २०७९ को स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा पराजित भए पनि यसपटक प्रतिनिधिसभा प्रवेशको लक्ष्यसहित चुनावी मैदानमा छन् ।
अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ जिल्लाको पहिलो दल बनेको नेकपा एमाले प्रत्यक्षतर्फ कमजोर नतिजामा सीमित भएको थियो । यसपटक एमालेले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई उम्मेदवार बनाएको छ । विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका शाह प्रदेशसभा सदस्य हुँदै हाल पार्टीको प्रदेश अध्यक्षको जिम्मेवारीमा छन् । संघीय संसद् प्रवेशको यो उनको पहिलो ठोस प्रयास हो ।
२०७९ को निर्वाचनमा कांग्रेस, साविक माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेका प्रकाश ज्वाला ३५ हजार ७०७ मतसहित निर्वाचित भएका थिए । त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका ज्वालाले अस्थिर सरकारका कारण अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । यसपटक माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भई बनेको नेपाली कम्युनिस्ट पार्टीले पुस्तान्तरण र नयाँ नेतृत्वको मागलाई प्राथमिकता दिँदै रमेशकुमार मल्ललाई उम्मेदवार बनाएको छ । तीन दशकभन्दा लामो राजनीतिक अनुभव बोकेका मल्ल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिवसमेत रहिसकेका छन् । प्रतिनिधिसभा निर्वाचनमा भने उनी पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् ।
साविक नेपाल कम्युनिस्ट पार्टी (हाल नेकपा माओवादी) यसपटक संघीय निर्वाचनमा पहिलो पटक सहभागी हुँदैछ । पार्टीले भूमिगत संघर्ष र जनयुद्धका अनुभवी नेता चन्द्रबहादुर खड्का (असल क्षेत्री)लाई उम्मेदवार बनाएको छ । संसदीय राजनीतिमा भने उनी नयाँ अनुहार हुन् ।
छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोस्रो पटक संघीय निर्वाचनमा सहभागी हुँदैछ । अघिल्लो निर्वाचनमा सल्यानबाट ३ हजार ६९५ मत प्राप्त गरेको रास्वपाले यसपटक ललितकुमार चन्दलाई उम्मेदवार बनाएको छ । विकास क्षेत्रमा १८ वर्षको अनुभव बोकेका चन्द हाल रास्वपा कर्णाली प्रदेशका महामन्त्री हुन् ।
२०७९ को निर्वाचनताका विभाजनको अवस्थामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यसपटक एकीकृत रूपमा मैदानमा उत्रिएको छ । राप्रपाले दलित समुदायबाट महिला नेतृ अनिषा नेपालीलाई उम्मेदवार बनाएको छ । यसअघि समानुपातिक सांसद भइसकेकी नेपाली प्रत्यक्ष निर्वाचनमार्फत संसद् प्रवेशको प्रयासमा छन् ।
दलीय उम्मेदवारसँगै सल्यानमा स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण पनि बढ्दो छ । स्वतन्त्र उम्मेदवार ध्रुवराज वली बलिया दाबेदारका रूपमा देखिएका छन् । ‘समृद्ध सल्यान निर्माण अभियान’मार्फत युवालाई संगठित गर्दै आएका वलीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई मुख्य एजेन्डा बनाएर मतदातामाझ पुगेका छन् ।
यसपटकको सल्यान चुनाव अनुभव र नयाँ अपेक्षाबीचको द्वन्द्व जस्तै बनेको छ । पुराना अनुहार संगठनात्मक बलसहित मैदानमा छन् भने नयाँ उम्मेदवार परिवर्तन र नयाँ अभ्यासको एजेन्डा लिएर मतदातासामु उभिएका छन् । त्यसैले सल्यानको प्रतिनिधिसभा निर्वाचनलाई कर्णालीकै सबैभन्दा चासोपूर्ण प्रतिस्पर्धामध्ये एकका रूपमा हेरिएको छ ।

सल्यानमा अनुभवी र नयाँ पुस्ताबीच कडा प्रतिस्पर्धा: प्रतिनिधिसभा चुनाव रोचक बन्दै

अर्धवार्षिक लक्ष्य चुक्यो : आन्तरिक राजश्व कार्यालय

Leave a comment

Your email address will not be published. Required fields are marked *